एनआईसी एशियाका ग्राहकलाई समितिभेज हस्पिटल थाइल्याण्डमा ५ प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच बैंकका भीषा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रालिको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
‘निःशुल्क बीमा’मा कठोर बन्दै बीमा समिति, सबै सम्झौताको प्रतिलिपी मगाइँदै
काठमाडौं । बीमाको क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाविरुद्ध बीमा समिति थप कठोर हुने भएको छ । बीमा कम्पनीहरुसँग सम्झौता गरी बैंक तथा वित्तीय संस्था लगायत अन्य कम्पनीहरु समेतले बीमाबारे भ्रामक प्रचार गर्न थालेपछि समिति थप कठोर हुन लागेको हो । खासगरी बैंक तथा वित्तीय संस्थाहरुले ‘निःशुल्क बीमा’, ‘औषधोपचार बीमा’, ‘स्वास्थ्य बीमा’ जस्ता शब्दहरुको प्रयोग गरेर आफ्नो प्रोडक्टहरुको प्रचार गरिरहेको अवस्थामा त्यसले बीमा बजारलाई नकारात्मक प्रभाव पार्न थालेको महशुस गर्दै बीमा समितिले यस्तो कदम चाल्न लागेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निःशुल्क बीमा भन्ने शब्द प्रयोग गर्दा बिमितहरुले ‘बैंकले सित्तैमा बीमा गर्छ, किन पैसा तिर्ने ?’ भन्न थालेको, सीमित घातक रोगहरुको लागि बीमा गर्ने सम्झौता गर्ने तर स्वास्थ्य बीमाको रुपमा प्रचार गर्ने गरेको र यसले स्वास्थ्य बीमा, औषधोपचार बीमामा बीमितहरुको आकर्षण कम देखिएको भन्दै बीमा कम्पनीहरुले कस्तो शर्तमा त्यस्तो सम्झौता गरेका हुन् भनेर अध्ययन गर्न लागेको जानकारी दिए । बैंकहरु वा अन्य संस्थाहरुले आफ्ना ग्राहक वा सम्वद्ध पक्षको सामूहिक रुपमा बीमा गराउने विषय स्वागतयोग्य भएको भन्दै तर त्यस्तो बीमामार्फत् बीमा बजार नै प्रभावित हुनेगरी प्रचार हुन नहुने कार्यकारी निर्देशक पौडेलको भनाई थियो । समितिले केही समय अघिमात्रै ‘निःशुल्क बीमा’ जस्ता भ्रमपूर्ण शब्दहरुको प्रयोग नगर्न सर्कुलर नै जारी गरेको थियो । बीमा कहिले पनि निःशुल्क नहुने भन्दै बीमा समितिले आवश्यक बीमाशुल्क सम्बन्धित कम्पनीले तिरिदिने व्यवस्था मात्रै रहेको भन्दै त्यस्ता भ्रामक शब्दहरु हटाउन भनेको हो । समितिको सर्कुलरपछि केही बैंक तथा वित्तीय संस्थाहरुले त्यस्तो शब्दको प्रयोग गर्न छाडे पनि केहीले भने अटेरी गर्दै आएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाका अतिरिक्त कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता कोषहरुले समेत आफ्ना सञ्चयकर्ताहरुको दुर्घटना बीमा, औषधोपचार बीमा र घातक रोगको उपचारको बीमाको शुल्क आफैंले व्यहोरिदिँदै आएका छन् । कर्णाली प्रदेश सरकारले समेत अहिले आफ्ना प्रदेशका नागरिकहरुको १ लाख रुपैंयाको दुर्घटना बीमा गराउँदै सो बीमाको शुल्क सरकारले नै व्यहोरिदिने भएको छ । समितिले बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाका साथै अन्य पक्षहरुसँग गरेको सम्झौताको विवरण मगाएर आवश्यक अध्ययन गर्ने सम्झौताको अन्तरवस्तुमै समस्या भए त्यसलाई सच्याउन निर्देशन दिनेछ ।
एलआईसीले साढे ७ कराेडमा नागरिक लगानी कोषकाे सेयर लिलामीमा राख्याे, बिक्ने सम्भावना कम
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपालले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । इन्स्योरेन्सले उक्त सेयर प्रतिकित्ता न्युनतम १५०५ रुपैयाँ ताेकेर बढाबढ मूल्यमा बिक्री गर्न लागेको हो । कम्तिमा ७ कराेड ५२ लाख ५० हजार रूपैयाँ मूल्य पर्ने उक्त सेयर अहिलेकाे मन्दीमा बिक्री हुने सम्भावना कम रहेकाे जानकारहरू बताउँछन् । सामाजिक सुरक्षा काेष सञ्चालन सँगै नागरिक लगानी काेषकाे सेयर मूल्यमा लगातार गिरावट देखिएकाे र लिलामीमा राखिएको उक्त सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र किन्न पाउने भएकाेले याे सेयर बिक्री हुन कठिन हुने बताइएकाे छ । लगानी कोषको वार्षिक चार्ट नागरिक लगानी काेषकाे सेयर गत माघ २ गते प्रतिकित्ता २८७४ रुपैयाँमा काराेबार भएकाे थियाे । त्यसपछि निरन्तर घटेर गत साेमबार प्रतिकित्ता १७७१ रुपैयाँमा आइपुगेकाे छ । सामाजिक सुरक्षा कोष सञ्चालनमा आए लगत्तै त्यस्तै प्रकृतिको सेवा सञ्चालन गर्दै आएको नागरिक लगानी कोषको सेयर मूल्य निरन्तर घट्दै गएको छ । गत २०७५ मंसिर २७ गते नेप्से ११४८ अंकमा हुँदा लगानी कोषको सेयर मूल्य घटेर प्रतिकित्ता १५७७ रुपैयाँमा आएको थियो । प्राविधिक विश्लेषणका औजारहरूले नेप्से परिसूचक ८०० अंकसम्म झर्न सक्ने देखाएकाे छ । प्राविधिक विश्लेषणलाइ आधार मान्ने हो भने लगानी कोषको सेयर मूल्य प्रतिकित्ता १३४१रूपैयाँसम्म झर्न सक्छ । याे सेयर बैंक तथा बीमा कम्पनीहरुले मात्र किन्न पाउने भएकाेले उनीहरूले यस्ता प्राविधिक विश्लेषणलाइ पनि आधार मानेर निर्णय लिन्छन् । संस्थागत लगानीकर्ताले सर्वसाधारण लगानीकर्ताहरु जस्तो अनुमानको भरमा लगानी गर्दैनन् । अर्काे महत्वपूर्ण तथ्य के हाे भने, एलआइसीले बेच्न लिलामीमा राखेकाे सेयर संस्थापक सेयर हाे । नागरिक लगानी काेषकाे बजारमा काराेबार भइरहेकाे सेयर साधारण सेयर हाे । सामान्यतय साधारण सेयरकाे मूल्य भन्दा संस्थापक सेयरकाे मूल्य कम हुन्छ, ३० देखि ५० प्रतिशतसम्म ।उदाहरणको लागि अहिले सिटिजन्स बैंकको साधारण सेयर मूल्य १९४ देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । केही दिनअघि मात्र बैंकको संस्थापक सेयरको मूल्य १०३ रुपैयाँमा कारोबार भएको थियो । यसमा साधारण सेयरभन्दा संस्थापक सेयरको मूल्य करिब ४८ प्रतिशत कम छ ।