एनएलजी इन्स्योरेन्सको तेह्रौं साधारण सभा सम्पन्न, ‘पोर्टफोलियो निरन्तर बृद्धिमा’
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, पानीपोखरी, काठमाडौँको तेह्रौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७५ साल असार मसान्तको वासलात, २०७४ साउन १ देखि २०७५ असार ३२ सम्मको नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयहरु छलफल भई पारित गर्ने निर्णय गर्यो । कम्पनीका अध्यक्ष बिमलप्रसाद वाग्लेले बिगतका वर्षहरुमा कम्पनीले नियमित लाभांश प्रदान गर्दै आएकोमा यसपटक बीमा समितिको निर्देशनअनुसार एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा बिभिन्न किसिमको व्यवस्था तथा जगेडामा रकमान्तर गर्नु पर्दा लक्ष्य अनुसार लाभांश वितरण गर्न नसकिएको जानकारी गराए । बीमा समितिको निर्देशनअनुसार रु. एक अर्ब चुक्ता पूँजी पुर्याउनको लागि २०७६ जेठ १४ गते सम्पन्न विशेष साधारण सभाको निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्ष वाग्लेले जानकारी गराएका हुन् । कम्पनीले आव २०७४/०७५ मा कुल बीमा शुल्क आम्दानी रु. १५० करोड ४८लाख, खुद बीमा शुल्क आम्दानी रु. ६९ करोड १५ लाख र खुदनाफा रु. २४ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले बृद्धि भई २०७५ साल असार मसान्तमा रु. १९६ करोड पुगेको छ । आव २०७५/०७६ मा कम्पनीको कूल कारोबार गत आव २०७४/०७५ कोे तुलनामा १०.६८ प्रतिशतले बृद्धि भई, रु. १६६.५६ करोड बीमा शुल्क आर्जन गरेको छ र सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा रहेको कम्पनी सचिव मनोज श्रेष्ठले जनाएका छन् ।
सिटिजन्स बैंकमा फर्किए राजनसिंह भण्डारी
काठमाडौं । प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएको ८ महिनापछि राजनसिंह भण्डारी सिटिजन्स बैंकमा फेरि फर्किएका छन् । तर प्रमुख कार्यकारी अधिकृतकाे हैसियतमा हाेइन, सञ्चालक समितिकाे अध्यक्षकाे हैसियतमा बैंककाे नेतृत्व गर्दैछन् । शुक्रबार हुन गइरहेको बैंकको साधारणसभामा रहेको ३ जना प्रोमोटर र एकजना सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचनमा ४ जनाको मात्रै उम्मेदवारी परेपछि उनी बैंकमा भित्रने निश्चित भएको हो । सञ्चालकहरुको निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक विवेक घिमिरेले ४ जना सञ्चालकका लागि ४ जनाको मात्रै उम्मेदवारी परेकोले शुक्रबारको साधारणसभाबाट उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिने जानकारी दिए । त्यस्तै, सिटिजन्स बैंकमा प्रमोटरका तर्फबाट प्रवलजंग पाण्डे र सजन शर्मा सञ्चालक बन्ने भएकाे छन् । पाण्डे नेपाल उद्याेग वाणिज्य महासंघकाे कार्यसमिति सदस्य हुन् । केही वर्षअघि उनकाे बुबा प्रदिपजंङ्ग पाण्डेले यस बैंककाे अध्यक्षकाे जिम्मेवारी समालेका थिए । सजन शर्मा पूर्व सञ्चालक डाेलराज शर्माका छाेरा हुन् । त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट महिला सञ्चालक सीता कार्की चुनिकी छिन । क्षमता, अनुभव र वरिष्टताकाे आधारमा राजनसिंह भण्डारी सिटिनन्स बैंकको अध्यक्ष बन्ने पक्का भएको स्राेतले बतायाे । छ । हाल अध्यक्ष रहेका डा. शंकर शर्माको कार्यकाल साधारणसभा समापनसँगै सकिने छ । नयाँ सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गर्नेछ । भण्डरी सिटिजन्स बैंक प्रबर्द्धकका साथै संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । उनले लगातार १२ वर्ष बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समालेका थिए । उनलाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिन चाहेकाे थियाे । बाफियामा उल्लेखित २ कार्यकालको व्यवस्था देखाउँदै राष्ट बैंकले तेस्राे कार्यकालका लागि नियुक्ती नगर्न सञ्चालक समितिलाई संकेत दिएपछि बैंकले भण्डारीलाई सल्लाहकारकाे रुपमा नियुक्त गरेको थियो । तर त्यसमा राष्ट्र बैंकको असन्ताेषपछि उनले सल्लाहकार पदबाट राजीनामा दिएका थिए । आफूभन्दा कनिष्ट व्यक्ति डेपुटी गभर्नर भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । राष्ट बैंक छाेडेपनि उनले बैकिङ क्षेत्र छाेडेनन् । सिटिजन्स बैंकका संस्थापक भण्डारी प्रमुख कार्यकारी अधिकृत हुँदै अध्यक्ष समेत हुने निश्चित भएकाेछ । उनी नेपाल बैकर्स संघकाे अध्यक्ष समेत भएका थिए ।
सिटी एक्सप्रेस र बेलायतको ईजेड रेमिटबीच रेमिट्यान्स कारोबार शुरु
काठमाडौँ । बेलायतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी ईजेड रेमिट(बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । कुवेत, बहराईन, मलेसिया, भारत, बेलायत लगायत विश्वभरी रहेको ईजेड रेमिट(बीएफसी बैंक) को ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईजेड रेमिट(बीएफसी बैंक)को तर्फबाट प्रमुख बित्तीय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन् ।