नेपाल लाइफको शाखा डोल्पाको दुनैमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् । सो कार्यक्रममा अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन र बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको बताए । यसैगरी, कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको अवस्थामा नेपालभर नै सेवाको विस्तार गर्ने रहेको जानकारी दिएका छन् । यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी रू. ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
कुनै बीमा कम्पनीमा ४०% कर्मचारीले छाेड्दा एनएलजीमा १% प्रतिशतभन्दा कम टर्नओभर
काठमाडौं । बीमा क्षेत्रमा जनशक्तिको अभाव छ । दक्ष जनशक्तिलाई बीमा क्षेत्रले आकर्षित गर्न सकेन । केही कम्पनीहरुमा लामो समय प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको देखियो । अझै केही बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत बिहिन छन् । एकै वर्ष १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा बजारमा थपिदा उच्च तहमा मात्र होइन, मध्यम तहमा समेत कर्मचारीहरुको हाहाकार नै भयो । कुनै कम्पनीमा पुराना कर्मचारी मध्ये ४० प्रतिशतसम्मले छोडे । अर्थात उनीहरु पुरानो कम्पनी छोडेर नयाँ कम्पनीमा प्रवेश गरे । जनशक्तिको अभाव पूर्ति गर्न नेपाली कम्पनीहरुले मुलतः दुई विधि अपनाएको देखिन्छ । पहिलो, अरु कम्पनीको कर्मचारी तान्ने । यो विधिबाट अनुभवी कर्मचारी तान्न सकिन्छ तर उनीहरुको लागि बढुवाको साथै अतिरिक्त सेवा सुविधा तिर्न नयाँ कम्पनी तयार हुनुपर्छ । यसरी बाहिरबाट ल्याउने जनशक्ति महँगो त हुँन्छ नै । साथै, नयाँ कम्पनीमा सञ्चालन प्रणाली बुझ्न, नयाँ सिस्टम चलाउने अभ्यासमा समाहित हुन, नयाँ कम्पनीको कर्मचारी, व्यवस्थापक, ग्राहकसँग घुलमिल हुन पनि केही समय लाग्छ । यदि प्रमोशन खाएर खाएको व्यक्ति हो भने उसका लागि कम्पनी मात्र नयाँ हुँदैन । जिम्मेवारी र भूमिका पनि नयाँ हुन्छ । यसमा अभ्यस्त हुन लामो समय लाग्न सक्छ । कतिपय अवस्थामा कर्मचारीहरु नयाँ कम्पनीको नयाँ भूमिकामा आफूलाई स्थापित गर्न असफल नै हुन्छन् । दोस्रो विधि भनेको जनशक्ति विकासमा कम्पनी आफैले लगानी गर्नु हो । यो विधि केही लामो हुन्छ । साथै जनशक्ति विकासमा कम्पनीको लगानी पनि ठूलै हुन्छ । ‘हामीले आन्तरिक रुपमा जनशक्ति विकासमा जोड दिएका छौं’ एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त भन्छन्–‘आफैले क्षमता विकास गराउँदा कम्पनीलाई पनि राम्रो हुन्छ । बीमा क्षेत्रको लागि पनि राम्रो हुन्छ ।’ अरु कम्पनीबाट दक्ष जनशक्ति तान्ने प्रतिस्पर्धा बीमा क्षेत्रको लागि राम्रो नभएको उनको भनाई छ । ‘बीमा क्षेत्रको लागि आवश्यक यस्तो जनशक्ति विकास अरुले गरिदिदैनन् । बीमा कम्पनीहरु आफैले जनशक्ति विकास गर्ने हो’ उनी भन्छन्–‘बजारमा ४० बीमा कम्पनीहरु छन् । सबैले नयाँ जनशक्तिलाई भित्र्याउने र ट्रेन गर्ने हो भने जनशक्ति विकास र बीमा बजार विकास दुबै काम सँगै हुन्छ ।’ एनएलजीले जनशक्ति विकासमा विभिन्न किसिमबाट काम गर्दै आएको छ । ‘हामीले पुर्नबीमा कम्पनीहरुको सहयोगमा अन्तराष्ट्रिय स्तरको तालिमहरु आयोजना गरिरहेको छौं । हरेक वर्ष बीमा विदेशमा तालिमका लागि कर्मचारीहरु पठाईरहेका हुन्छौं’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले भने–‘हामीले हरेक वर्ष भारतमा १२/१५ जना कर्मचारीलाई तालिममा पठाउँछौं । त्यस्तै, सिंगापुर लगायत अन्य देशमा पनि कर्मचारीलाई तालिममा पठाउने गरेको छौं ।’ विदेश पठाउँदा उत्कृष्ट व्यक्तिलाई पनि पठाउने र फर्किएर आएपछि उसले एनएलजीका कर्मचारीलाई सिकाउने अभ्यास एनएलजीमा भईरहेको उनले बताए । साथै, एनएलजीले नेपाली विज्ञहरुलाई बोलाएर मुख्य कार्यालय वा विभिन्न क्षेत्रमा उपयुक्त व्यक्तिहरुलाई भेला गराएर कर्मचारीहरुलाई तालिम दिने गरेका छौं । कस्तो जनशक्ति राम्रो ? बीमा क्षेत्रमा शैक्षिक योग्यतासँगै लामो अनुभव र कार्यकुशलता राम्रो भएको जनशक्ति आवश्यक पर्छ । बीमा कम्पनीका लागि आवश्यक जनशक्ति भनेको जोखिम मूल्याङ्कन गर्न सक्ने हुनुपर्छ । जोखिम मूल्याङ्कन पनि दुई अवस्थामा गर्नुपर्छ । एउटा भविष्यमा हुन सक्ने सम्भावित जोखिम विश्लेषण गर्न सक्नुपर्यो । कति जोखिम लिने, कति जोखिम नलिने भन्ने निर्णय पनि लिन सक्नुपर्यो । दोस्रो, घटना भईसकेपछि वास्तविक क्षति कति हो, बीमाले कभर गरेको क्षति कति हो र बीमितलाई कति क्षतिपूर्ति दिनु पर्ने हो भनेर मूल्याङ्कन गर्नुपर्छ । यस्तो कार्य शैक्षिक योग्यता राम्रो भएको व्यक्तिले भन्दा बढी अनुभव भएका व्यक्तिबाट कार्य सम्पादन राम्रो हुने गरेको पन्तको अनुभव छ । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा बीमा क्षेत्रको अनुभव यस्तै रहेको उनले बताए । बीमा कम्पनी सञ्चालन गर्ने आफ्नै विधि र अभ्यासहरु हुन्छन् । कुनै एउटा बीमा कम्पनीको पोलिसीले मात्र बीमाको समग्र प्रणाली बन्दैन, चल्दैन । त्यसमा पुर्नबीमा कम्पनीको पोसिली पनि जोडिएर आएको हुन्छ । बीमा समितिले बनाएको नीति निर्देशनहरु पनि जोडिएर आएको हुन्छ । बीमा क्षेत्रमा काम गर्ने मान्छेको लागि आफ्ना कम्पनीको नियमका अतिरिक्त बीमा समितिले तय गरेको नियामकीय नीति, पुर्नबीमा नीति, जोखिम विश्लेषण गर्ने विधि, क्षति मूल्याङकन गर्ने विधि सबैबारे जानकार हुनुपर्छ । साथै, बजारमा अन्य बीमा कम्पनीहरुले कस्तो गरेका छन्, त्यसको असर बजारमा के परेको छ, कम्पनीको आफ्ना नीति निर्णय कार्यान्वयमा कहाँ कहाँ र के के बाधा छन् तीनको पहिचाहन हुनुपर्छ । ‘हामीले हाम्रो कम्पनी सञ्चालन विधि र प्रक्रिया आफैले तयार गरेका छौं । ती दस्तावेज उच्च तहको कर्मचारीको टेबुलमा मात्र छैन, सबै शाखामा छन् । कसको भूमिका के हुने ? कसको अधिकार के हुने भनेर स्पष्ट रुपमा लेखेका छौं । यो दस्तावेज सम्बन्धित सबै कर्मचारीलाई वितरण पनि गरेका छौं’ पन्तले भने । एनएलजी इन्स्योरेन्स कम्पनीका कर्मचारी अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी छन् कि छैनन् ? यस कम्पनीले दिने सेवाको स्तर अन्तराष्ट्रिय बजारको तुलनामा कस्तो छ भनेर जाँच समेत गर्ने गरेको छ । ‘हाम्रो कम्पनीका कर्मचारीहरुले विदेशमा समेत गएर आफ्ना प्रस्तुति राख्न सक्छन् । आफ्ना अनुभव र मान्यताहरु खुलेर राख्न सक्ने भएका छन्’ पन्तले भने । एनएलजी इन्स्योरेन्स कम्पनीमा हाल करिव ३५० जना भन्दा कर्मचारी छन् । यस टर्नओभर १ प्रतिशत भन्दा कम रहेको उनले बताए । ‘हामी जनशक्ति विकासमा यति खर्च गर्छौ कि अरु कम्पनीले हाम्रा कर्मचारीको लागि त्यति खर्च गर्न नै नसकून’ कम्पनीको रणनीतिबारे उनले बताए । ‘हामीले कर्मचारीको क्षमता विकासमा मात्र काम गरेका छैनौं । मोटिभेशन, टिम बिल्डिङ, इन्टरटेन्मेन्टका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका हुन्छौं’ उनी भन्छन्–‘ कर्मचारीलाई स्वस्थ्य बनाउने, स्वच्छ बनाउने, विभिन्न प्रतिस्पर्धात्मक कार्यहरु गर्न लगाउने, कर्मचारीबीच जिम्मेवारी र सन्तुष्टिको बारेमा आन्तरिक सर्भे गर्ने, इच्छाअनुसारको जिम्मेवारी सुम्पने काम भईरहेको छ ।’ एनएलजी इन्योरेन्सले स्थापनादेखि नै कर्मचारीलाई कसरी ह्यापी बनाउने भन्ने भयो । कर्मचारीलाई उपदानको व्यवस्थाको साथै उनीहरुको जीवन बीमा गरिएको छ । घर कर्जा सुविधा, सवारी साधानको सुविधा कम्पनीले प्रदान गर्दै आएको छ । ‘आजको दिन मात्र होइन, आफ्टर रिटायर्डमेन्टलाई पनि हामीले हेरेका छौं । लङटर्म बेनिफिटको आधारमा नै कम्पनी सेवा सुविधा दिएको छ’ उनले भने ।
सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा १० लाख बराबरको मृत्यु दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका परिवारलाई मृत्यु दावी बापतको १० लाख ३५ हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले धनुषामा आयोजित एक कार्यक्रममा सो रकम बराबरको चेक मृतकको हकवाला श्रीमती अनिता कुमारी मण्डलालाई हस्तान्तरण गरेको हो । उक्त चेक धनुषाधाम नगरपालिकाका मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रबन्धक कमलराज गौतमले संयुक्त रुपमा मृतकका श्रीमतीलाई हस्तान्तरण गरेका हुन् । मृतक मण्डलाले १५ वर्ष अवधिको नवीन आजीवन जीवन बीमा योजनामा बिमाङ्क १० लाख रुपैयाँको जीवन बीमा गरेका थिए ।