सिटिजन लाइफमा १० हजारमा जीवन बीमा, साधारण मृत्युमा डबल रकम, दुर्घटनामा तीन गुणा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन शुभारम्भ जीवन बीमा’ नामक नयाँ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने नयाँ योजना बजारमा ल्याएको हो । यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्ने छ । जस अन्तर्गत बीमितहरुले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा भुक्तानी पाउने छन् । जस्तै, ५ लाखको बीमा गर्दा साधारण मृत्युमा १० लाख र दुर्घटना भई मृत्यु भएमा १५ लाख रुपैयाँ बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ । साथै, स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आयलाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा पाइने छ । कम्पनीका अनुसार ५ देखि ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । बीमा अवधि ५ देखि ३५ बर्ष रहेको यस योजनामा बीमा लेख परिपक्व बखत अधिकतम उमेर ७० वर्ष तोकिएको छ । त्यस्तै, न्यूनतम बीमाङ्क रकम १० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमितको आयको आधार सहित कम्पनीको जोखिममाङ्कको नीतिअनुसार जति पनि गर्न सकिने इन्स्याेरेन्सले जानकारी दिएकाे छ । योजनाकाे शुभारम्भ गर्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पोषकराज पौडेलले न्युन आय तथा गरिबीको रेखामुनि रहेका २० प्रतिशत नागरिकलाई पनि बीमा क्षेत्रमा संलग्न गराउने उद्देश्यले यो योजना बजारमा ल्याएको बताएका छन् । साथै, इन्स्याेरेन्सले शुक्रबार(कात्तिक २२ गते) मात्रै नेपाल क्यिरिङ हाउस(एनसीएचएल)सँग सम्झौता गरेको सीईओ पौडेलले जानकारी गराएका छन् । दुरदराजका नागरिकले पनि एनसीएचएलका भुक्तानी प्रणाली मार्फत कम्पनीका विभिन्न बीमा योजना किन्न सकुन् भन्ने उद्देश्यले उक्त सम्झौता गरेको उनले बताए । कम्पनीले गत वर्षको भन्दा ६० प्रतिशतले व्यापार वृद्धि गरेको छ । त्यस्तै, अघिल्लो वर्ष पहिलो त्रैमासिकको नाफाको तुलनामा यस वर्षको सोही अवधिसम्म २०० प्रतिशतले नाफा बढाउन कम्पनी सफल भएको सीईओ पौडेलले जानकारी दिएका छन् । कम्पनीले शुक्रबार काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा एक विशेष कार्यक्रम गरेर उक्त बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीका सीईओ पोषकराज पौडेल, सञ्चालक समितिका सदस्यहरू मनोज कार्की तथा दिप प्रकाश पाण्डे र ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रूपमा यस योजनाको सार्वजनिक गरेका हुन् । कम्पनीले यस अघिपनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवन कालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना ल्याइसकेको छ । साथै, उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुना साथ ५० लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्ने र सोको बिल बिजक नचाहिने कम्पनीले जनाएको छ ।
प्राइम लाइफको जीवन बीमा योजना अनलाइनबाटै खरिद गर्न सकिने
काठमाडौँ । प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन प्रविधिबाट विभिन्न जीवन बीमा योजना ग्राहक स्वयम्ले नै खरिद गर्न सक्ने प्रविधि विकास गरी सञ्चालनमा ल्याएको छ । यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने जनाएको छ । हालको लागि अधिकतम विमाङ्क रकम रु. ५ लाखसम्मको बीमालेख खरिद गर्न सकिनेछ । यस प्रविधि अन्तर्गत ग्राहकलाई कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्वीकृत भई बीमालेख जारी हुनेछ । कम्पनीले शुरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बीमाको सेवाबाट धेरै भन्दा धेरै जनता समक्ष जीवन बीमाको पहुँच पुग्ने विश्वास कम्पनीले लिएको छ । अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बीमालेख सम्बन्धित बीमितलाई दिने व्यवस्था समेत गरिएको जनाएको छ ।
स्वाथ्य बीमा बोर्डको आलोचना गर्दै अर्थमन्त्रीले भने-‘बीमाको काम बीमा कम्पनीहरुले मात्र गर्ने हो’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको काम बीमा कम्पनीहरुले मात्र गर्नु पर्ने र बीमा सेवासँग जोडिएको सबै संस्थाको नियमन बीमा समितिले गर्नु पर्ने बताएका छन् । बीमा कस-कसले गर्ने भन्ने विषयमा रहेको अन्यौलता हटाउन पर्नेमा उनले जोड दिएका छन् । बीमाको मुल व्यवसाय कसले गर्ने ? बीमाको एजेन्ट भएर काम कसले गर्ने ? भन्ने विषयमा बजारमा दुविधा र अन्यौलता हटाउन उचित हस्तक्षेप आवश्यक रहेको समेत उनले बताए । ‘बैंकले पनि बीमा गर्ने, सहकारीले पनि बीमा गर्ने । नागरिक लगानी कोषले पनि बीमा गर्ने/गराउने । कर्मचारी संचयकोषले पनि बीमा गर्ने/गराउने’, अर्थमन्त्रीले भने- ‘कुन चाहि एजेन्ट हुन् ? कुन चाहि अपरेटर हुन् भनेर मलाई त कहिले काँहि छुट्याउन पनि गाह्रो हुन्छ ।’ बैंकहरुले अनप्रोफेशनल रुपमा बीमा व्यवसाय गर्न थालेपछि सरकारले हस्तक्षेप गर्नु परेको उनले बताए । सरकारी हस्तक्षेपपछि बीमा कम्पनीहरुमा खुशी छाएको तर बैंकहरुले अन्याय भयो भनेर गुनासो गर्ने गरेको अर्थमन्त्रीले सुनाए । ‘तपाईहरुको अनुहार हेरेर म चिन्छु । तपाईहरु बैंक पनि चलाउनु हुन्छ । बीमा पनि चलाउनु हुन्छ । बैंकको बोर्डकाे रुपमा बसेर मेरो बीमा कम्पनीमा बीमा गर्नुहोस् भनेर तपाईहरु नै भन्नु हुन्छ । यहाँ स्वार्थ बाझियो । बैंकहरुले प्रोफेशनल रुपमा बीमा एजेन्ट भूमिका खेलेको भए सरकारले हस्तक्षेप गर्नु पर्ने थिएन ।’ बीमा क्षेत्रलाई कन्सोलिडेट गर्नुपर्ने उनले बताए । ‘बीमाका सबै कार्य बीमा कम्पनीबाट हुनु पर्छ । सबै प्रकारका बीमा सेवा प्रदायकको नियमन बीमा ऐन अन्तर्गत बीमा समितिबाट हुनुपर्छ’ अर्थमन्त्रीले प्रष्ट पारे । बीमा कम्पनीको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बीमा समितिले काम गर्नु पर्ने बताए । अर्थमन्त्री खतिवडाले स्वास्थ्य बीमा बोर्डको भूमिकाको बारेमा पनि खुलेर आलोचना गरेका छन् । साथै, उनले स्वास्थ्य बीमा सेवाका सबै काम बीमा कम्पनीहरुबाट गराउनु पर्ने विचार राखेका छन् । ‘बीमा आफैमा व्यवसायिक कार्य हो । सबै व्यवसायमा सरकारले हात हाल्नुपर्छ भन्ने छैन’ अर्थमन्त्रीले खुलेर भने- ‘स्वास्थ्य बीमा गर्न प्रिमियम तिर्न नसक्नेलाई सरकारले तिरिदिने हो । तर सरकार आफै एक्चुरी हुने, आफै मूल्याङ्कन गर्ने, आफै क्षतिपूर्ति दिने, समयमा क्षतिपूर्ति दिएर जनता निरास पनि बनाउने । यस्तो हुनु भएन ।’ नेपाल पुर्नबीमा कम्पनीको छैटौं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- ‘बीमा व्यवसायको अपरेटर पनि आफै, रेगुलेटर पनि आफै, क्षतिको मूल्याङकन गर्ने पनि आफै, क्षतिपूर्ति दिने पनि सरकार आफै’ खतिवडाले भने- सबै काम सरकारले गर्नु हुँदैन, यसरी हुँदैन । यसमा सुधार गर्नुपर्छ । तपाईहरु, रेगुलेटर पनि यहि हुनुहुन्छ, अपरेटेर पनि यहि हुनुहुन्छ । तपाईहरु प्रस्ताव लिएर आउनुहोस् । सरकारले गर्नु पर्ने सहयोग गर्छ ।’ अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दिने सेवाको स्तर कमजोर भएकोमा आलोचना गरे । बीमा कम्पनीहरुले टेलिभिजनमा स्मार्ट सेवा दिन्छौं भनेर विज्ञापन गरे पनि प्रचार गरेजस्तो सेवा दिन सफल नभएको उनले बताए । बीमा कम्पनीहरुले दावी भुक्तानी गरेनन् भनेर सरकारी निकायहरुमा धेरै उजुरी आएको तथा सानो बीमा दावी गर्न बीमा कम्पनी धाउनु भन्दा नजाँदा नै फाइदा हुन्छ भन्ने सोचाई जनमानसमा विकसित हुँदै गएको उनले बताए । ‘क्षतिको कति दिनभित्र मूल्याङकन भइसक्ने ? कति दिनभित्र बीमितको खातामा पैसा पठाउने हो ? मापदण्ड बनाउनुहोस् र लागू गर्नुहोस्’ उनले बीमा समिति र कम्पनीहरुलाई निर्देशन दिँदै भने । बीमा व्यवसायलाई खेलवाडका विषय नबनाउने समेत उनले सचेत गरे । ‘फेक क्लेमको पनि धेरै समस्या छन् । फेक रेस्क्यू त कति भए भए, तल परे आफ्नै घर भत्काएर पनि बीमा दावी गर्न हामी तयार हुन्छौं । यो हाम्रो नैतिकता पतनको पराकाष्ट हो’ खतिवडाले भने-‘एकातिर यस्तो व्यवहार गर्ने, अर्कोतिर हामी नैतिकताको भाषण गर्दै हिड्ने । समाज कता जादैछ ?’ एकातिर नयाँ बीमा कम्पनी थप्दै जाने अर्कोतिर मर्ज गर्दै जाने कार्य राम्रो नभएको उनले बताए । ‘बीमा बजारमा विस्तार र सुदृढिकरणको बारेमा दुविधा बोकेर हुँदैन । समितिले ५/५ वर्षको योजना बनाएर काम गर्दा बजारको विकास राम्रोसँग हुन्छ’ उनले भने । ‘पहिलो चरण बीमा सेवाको पहुँच वितारमा काम गरौं । दोस्रो चरणमा सेवा स्तर सुदृढ गर्ने गरी काम गरौं । तेस्रो चरणमा मर्ज एक्विजिशन वा कन्सोलिडेशनमा जाँदा राम्रो होला’ उनले भने । देशको सीमा क्षेत्रमा तथा ग्रामिण क्षेत्रमा बीमा पहुँच ज्यादै कम भएको उनले बताए । बीमा समितिको पूर्व अध्यक्ष फत्तबहादुर केसीको ८ वर्षे कार्यकालमा बीमा क्षेत्र पोखरीको पानी जस्तो स्थीर भएको टिप्पणी गरे । ‘बीमा क्षेत्रको पहुँच कति छ भनेर सोध्यो, अध्यक्ष केसीले जहिले पनि ५ देखि ६ प्रतिशत भन्नुहुन्थ्यो । बीमा बजार पोखरीको पानी जस्तो स्थीर थियो’ अर्थमन्त्री खतिवडाले भने- पछिल्ला वर्षमा यो क्षेत्रले गति लिएको छ । बीमाको पहुँच करिब २० प्रतिशत पुगेको छ । यो राम्रो पक्ष हो ।’ बीमा क्षेत्रको प्रगति राम्रो भएको उनले बताए । जोखिम वहन गर्नको लागि सरकारले लघुबीमालाई जोड दिएको तर यस क्षेत्रमा अझै प्रयाप्त काम नभएको उनले बताए । बीमा कम्पनी कै जोखिम व्यवस्थापन गर्न र भौगोलिक रुपमा जोखिम विविधिकरण गर्नको लागि पुर्नबीमा कम्पनी स्थापना भएको उल्लेख गर्दै उनले भने- शुरुमा २० प्रतिशत पुर्नबीमा नेपाल रिमा गर्ने व्यवस्था गराएका थियाै । अहिले ३० प्रतिशत गरेको छौं । अब पुर्नबीमा कम्पनीलाई विदेशबाट बीमा व्यवसाय ल्याउन प्रेरित गर्नुपर्छ । त्यसको लागि सरकारले सक्दो सहयोग गर्नेछ ।’