माध्यामिक तहदेखि नै बीमा पढाउन तात्यो बीमा समिति, कक्षा ११ देखि मास्टर्ससम्मको कोर्स बनाइदै
काठमाडौं । बीमा सम्बन्धी चेतना बढाउन र दक्ष जनशक्ति उत्पादन गर्नको लागि औपचारिक शिक्षा प्रणालीबाटै बीमा अध्ययन गराउन नियामक निकाय बीमा समितिले पहल थालेको छ । विद्यालय तथा विश्वविद्यालय तहका औपचारिक पाठ्यक्रममा बीमा विषय समावेश नभएकोले बीमालाई पनि समेट्न सोही अनुसारको पाठ्यक्रम बनाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘हामीले विगतदेखि नै विद्यालयस्तरदेखि नै बीमा सम्बन्धी पढाई हुने व्यवस्था मिलाउन पहल गरेका थियौं, कक्षा ११ र स्नातक तहको पहिलो वर्षको पाठ्यक्रम बनाएर सम्बन्धित निकायलाई दिएका पनि हौं, तर कक्षा ११ र १२ तथा स्नातक तहका सबै वर्षको पाठ्यक्रम तयार भएपछि मात्रै कोर्षमा राखिने गरिएको हुने रहेछ, त्यसैले थप गृहकार्य गर्नुपर्ने देखियो,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले भने । समितिले चालु आर्थिक वर्षको आफ्नो वार्षिक कार्ययोजनामा बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषय पनि समावेश गरेको छ । समितिले माध्यमिक, स्नातक र स्नाकोत्तर तहमा बीमा विषयको अध्ययनको व्यवस्था मिलाउन पाठ्यक्रम तयार पार्न लागेको हो । समितिले अब कक्षा १२ तथा स्नातक तह दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तहको दोस्रो वर्षको पाठ्यक्रम तयार पार्नेछ । यस्तै, समेस्टर प्रणालीबाट अध्ययन हुने संकायको लागि भने प्रत्येक तहका सबै सेमेस्टरको लागि पाठ्यक्रम तयार पार्नेछ । एउटा तहको सबै वर्षका वा सबै समेस्टरको पाठ्यक्रम तयार भएपछि मात्रै त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिकसत्रको क्यालेन्डर अनुसार पाठ्यक्रम समावेश गर्ने जानकारी प्रतिक्रिया दिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । बीमा क्षेत्रको लागि योग्य जनशक्तिको अभाव भएको र जनस्तरमा बीमा सम्बन्धी ज्ञान तथा जानकारी कम भएकोले माध्यामिक तहदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रमा समावेश गर्न लागिएको समितिको भनाइ छ । ‘बीमा महत्वपूर्ण विषय भएकाले यसको ज्ञान जति छिटो हाँसील गरियो उतिनै राम्रो हुन्छ, हामीले सोही कुरालाई ध्यानमा राखेर माध्यमिक तहदेखि नै बीमा विषय पाठयक्रममा समावेश गर्न पहल गरेका छौं’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने । पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक रहेको बताएको छ । केन्द्रले स्वीकृत गरेपछि मात्रै विद्यालयस्तरको कोर्षमा कुनै पनि विषय समावेश हुन्छ । त्रिविसँग छलफल स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा बीमा विषय समावेश गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) पनि सकारात्मक रहेको र अहिले छलफल चलिरहेको समितिले जानकारी दिएको छ । बीमा क्षेत्रको भ्यालुयसन गर्ने (एक्चुरी) विषय पढ्न बर्सेनि नेपाली विद्यार्थी विदेशिने गरेका छन् । छिमेकी राष्ट्र भारतमा पनि एक्चुरी विषय पढ्ने विद्यार्थीको संख्या निकै रहेको जानकारहरु बताउछन् । कति लाग्छ खर्च ? एक्चुरी विषय पढ्न विद्यार्थीहरुले गणित वा तथ्यांकशास्त्र विषयमा प्लस टु गरेको हुनुपर्छ । प्लसटु सकेको विद्यार्थीले ८ वर्षमा एक्चुरीको पढाइ पूरा गर्न सक्छन् । एक्चुरी पढ्दा ४ वर्ष डिप्लोमा तथा ४ वर्षको फेलोसिप अध्ययन गर्नु पर्छ । एक्चुरी विषय पढ्न भारतमा करिब ४० लाख तथा अन्य देशमा ७० लाखसम्म लाग्ने जानकारहरु बताउछन् । नेपालमा हाल तथ्यांकशास्त्र संकाय अन्र्तगत एक्चुरीयल साइन्सका केही कोर्सहरु पढाई हुदैआएको छ । नेपालमा विए एक्चुरीयल साईन्स पढ्न ४ वर्ष लाग्छ । उक्त कोर्ष पढाइ गर्दा विदेशमा पढाइ हुने एक्ुचरीयल साइन्स पढ्न थप सहयोग पुग्छ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललका अनुसार नेपालमा एक्चुरी शिक्षा आवश्यक छ तर सो शिक्षा सुरु गर्न केही समय लाग्ने देखिन्छ । ‘अहिले नेपालमा बीमा सम्बन्धि विषयहरुमा हामीले जोड दिइरहेको अवस्था छ तर एक्चुरीयल साइन्सको हकमा नेपालमा तत्काल सुरु गर्न सकिदैन, केही समय लाग्छ नै, बीमासँग सम्बन्धि विषयहरुमा बीमा समिति तथा पाठ्यक्रमले समन्वय गरिरहेका छन्, बीमा सम्बन्धि चेतनामा वृद्धी गर्नु आजको आवश्यकता पनि हो,’ सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।
यसकारण प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने भएका छन् । साउन २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । इन्स्योरेन्सले सो वर्षको वित्तीय विवरण नेपाल लेखामान(एनएफआरएस) बमोजिमको वित्तीय विवरण गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकोले कम्पनीले लाभांश नदिने भएको हो । कम्पनीले बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको एनएफआरएस बमोजिमको वित्तीय विवरण तयार पारेको हो । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा पनि सेयरधनीलाई लाभांश वितरण गरेको थिएन । यससँगै, कम्पनीले लगातार दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको छ । साथै, गत साउन २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साही वर्षको वासलात, नाफा नोक्सान तथा आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण सञ्चालक समितिबाट स्वीकृत गरी नियामक निकाय बीमा समितिमा वार्षिक साधारण सभा गर्न स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ ।
इन्टर्न र करारका हटाएर दक्ष कर्मचारी खोज्न थाले बीमा कम्पनी
काठमाडौ । बीमा कम्पनीहरुले करारका कर्मचारी हटाएर दक्ष जनशक्ति भर्नाको प्रक्रिया थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण व्यवसाय कम भएपछि बीमा कम्पनीहरुले कर्मचारी कटौति गर्न लागेका हुन् । कोरोना भाइरस संक्रमण अघिसम्म एक कम्पनीमा आवद्ध कर्मचारीको अर्को कम्पनीमा माग हुन्थ्यो । तर अहिले भने करारका कर्मचारी हटाएर बजारबाट दक्ष जनशक्ति लिन लागेका छन् । जेठ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने बीमा क्षेत्रमा १० हजार २ सय ४७ जनाले रोजगारी पाएका छन् । यस्तै, अभिकर्तातर्फ ५ लाख जना कार्यरत छन् । सर्भेयरको संख्या ४ सय दर्तामा छ भने सय-डेढ सय सक्रिय रहदै आएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्मचारी राख्नु र हट्नु स्वभाविक प्रक्रिया भएको बताए । तर, कोरोना भाइरसलाई नै कारण देखाएर कसैलाई पनि जागिरबाट हटाउन नहुने समितिको भनाइ छ । ‘कुनैपनि कम्पनीमा कर्मचारी थप्ने र घट्ने सामान्य प्रकृया हो, तर, कोरोना भाइरस संक्रमणको असर परिरहेको अहिलेको समयमा कसैलाई जागिरबाट ननिकाल्न बीमा कम्पनीहरुलाई हामीले निर्देशन नै दिएका छौं,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले भने । पछिल्लो समय कोरोना महामारीकै कारण बीमा क्षेत्रमा रोजगारी गुमाउनेहरुको संख्या वृद्धि भएको छ । अभिकर्ताहरु पनि बेरोजगार भए । बीमा व्यवसायमा फ्रन्टलाइनमा बसेर काम गर्दै आएका अभिकर्ताहरु बिमितको घर दैलोसम्म पुग्न सकेनन् । कोरोना महामारीका कारण अभिकर्ताहरुले दैनिक रुपमा गर्दै आएको बीमा पनि ठप्पै रोकियो । बीमा कम्पनीहरुले पनि आफ्ना शाखा कार्यालय संचालन गर्न पाएनन् । कम्पनीहरुले सेवा सुविधामा कमी नआओस् भनेर हरसम्मत प्रयास गरे । सोही कारण बीमा कम्पनीहरुले आफ्नो प्रधान् कार्यालयबाटै बीमा सेवा तथा दाबी भुक्तानी जारी राखेका थिए । कोरोना महामारीकै प्रभावका कारण वैदेशिक रोजगारसँग सम्बन्धित उद्योग धन्दादेखि पर्यटन, होटल व्यवसायमा ठुलो प्रभाव पर्न गयो । हालसम्मपनि होटल व्यवसाय र अधिकांश उद्योग धन्दा सामान्य रुपमा चल्न सकेका छैनन् । त्यस्ता उद्योग धन्दाहरुसँग बीमा व्यवसाय पनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिने गर्छ । जसले गर्दा हरेक क्षेत्रमा आर्थिक लाभ माथि ठेस लागेको छ । यस्तै यावत कारणहरुले गर्दा बीमा क्षेत्रमा कार्यरत केही कर्मचारीहरुले रोजगारी गुमाउने अवस्था सिर्जना भयो । तर अहिले कोरोनाको कहर नसक्किदै केही बीमा कम्पनीहरुले कर्मचारीको आवश्यकता पर्यो भन्दै आवेदन माग गर्न थालेका छन् । प्रायजसो करारमा राखिएका कर्मचारीहरु बीमा कम्पनीबाट बाहिरिएको बीमा समितिले जानकारी दिएको छ । यस्तै, सिक्ने प्रयोजनका लागि मात्र बीमा क्षेत्रमा प्रवेश गरेका कतिपय कर्मचारीहरुले कोरोना महामारीको कारण केही समयको लागि बाहिरिनु परेको छ । कतिपय कर्मचारी बेतलबी बिदा दिएर बसेका, कतिको रोजगारी गुमेको छ भने कतिपयले नयाँ काममा समेत हात हालेका छन् । यसैकारण पनि बीमा कम्पनीहरुमा कर्मचारीको अभाव देखिन थालेको छ । कर्मचारी खोज्दै केही बीमा कम्पनी ज्योति लाइफले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनी आफ्नो आवश्यकता अनुसार विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको हो । ज्योति लाइफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख, उप–शाखा प्रमुख, बजार प्रतिनिधि र कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ । केही निर्जीवन बीमा कम्पनीहरुले कोरोनाको कहरकै समयमा आफ्नो कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कामबाट बिदा समेत गरेका थिए । एभरेष्ट इन्स्योरेन्सबाट २६ जना तथा सिद्धार्थ इन्स्योरेन्स कम्पनीबाट २२ जनाले कामबाट बिदा दिएका थिए । यसरी बाहिरिने कर्मचारीहरु अधिकांश प्रशिक्षार्थी छन् । बीमा समितिले बीमा कम्पनीहरुले आफ्नो नजिकको २ शाखा मर्ज गरेर एउटै बनाउन मिल्ने तर कर्मचारी हटाउन नमिल्ने बताउँदै आएको छ ।