प्रभु इन्स्योरेन्सको १६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी एक अर्ब माथि

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १६.३२ प्रतिशत लाभांश पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको २४ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनश सेयर तथा कर सहित ११.३२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश पाउने छन् । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको इन्स्योरेन्सले जनाएको छ । साधारण सभामा कम्पनीको सञ्चालक समितिका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताए । कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउन इन्स्योरेन्सले जोड दिएको उनले बताए । हाल कम्पनीले केन्द्रिय कार्यालय सहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।

महालक्ष्मी लाईफको बीमा शुल्क १७४ प्रतिशतले वृद्धि, नाफा ५ करोड बढी

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को प्रथम ६ महिनामा खुद बीमा शुल्क आर्जनमा १७३.५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीेले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १० करोड ३६ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा २८ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल बीमा शुल्कमा १७१ प्रतिशतले वृद्धि भइ २८ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि सुस्ताएको र बीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न निकै कठिन भएको बेलामा यस कम्पनीको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ । समीक्षा अवधिमा कम्पनीको नाफा १४१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिसम्ममा कम्पनीले ५ करोड १८ लाख ७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत आवको सोही अवधिमा २ करोड १४ लाख ६० हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीको प्रतिसेयर आम्दानी ७.४० रुपैयाँ रहेको कम्पनीद्धारा प्रकाशित दोश्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले दोश्रो त्रैमासमा जगेडा कोषमा समेत ७७ प्रतिशतले वृद्धि गरी ५ करोड ७३ लाख रुपैयाँ कायम गरेको छ । त्यस्तै, जीवन बीमा कोषमा ३६ प्रतिशतले वृद्धि भई ४२ करोड ३४ लाख रुपैयाँ भएको छ । गत आवकोे पुस मसान्तमा एक लाख ५५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले चालु आवको सोही अवधिसम्ममा ५ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, कूल दाबी भुक्तानी भने शुन्य छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीको कूल कायम रहेको जारी बीमालेख संख्या ६ हजार ७६९ रहेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डकोे अनुमति पाएको छ । बोर्डले माघ २१ गते कम्पनीलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ ।