महालक्ष्मी लाईफ इन्स्योरेन्सको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ । यही माघ १२ देखि १४ गते सम्म भएको उक्त सम्मेलनमा देशैभरिबाट आएका ६० भन्दा बढी शाखा र उपशाखा प्रमुख, क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत गरी ७५ जनाको सहभागिता रहेको थियो। ‘प्रत्येक घरमा एउटा जीवन बीमा’ नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरीय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँ गाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन प्रत्येक घरमा एउटा जीवन बीमा कार्यक्रम माथि छलफल गरिएको थियो । कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १ दिने तालिम संचालन गरिएको थियो । सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरका थिए । तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृत द्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन एजेन्सी प्रमुख सिताराम धिमालले गरेका हुन् । २०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्ष भन्दा कम अवधिमा ६० वटा शाखारउपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६,००० भन्दा बढी अभिकर्ता इजाजत स्विकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरि कुल ५३ करोड भन्दा वढीको व्यवसाय गर्न सफल भएको छ । कम्पनीले जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने सम्मेलनमा घोषणा गरेको छ ।
बीमा संस्थानलाई खाद्यको जवाफः ९ रोपनी ६ आना जग्गा दिन्छौं, बाँकी पैसा फिर्ता लिनु
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (तत्कालिन खाद्य संस्थान) र राष्ट्रिय बीमा संस्थानबीचको जग्गा विवादको टुङ्गो लाग्ने कुनै छाँटकाट देखिएको छैन । सरकारी स्वामित्वका दुई सरकारी संस्थानबीच जग्गाको विषयमा मत बाँझिदै आएका कारण कुनै टुङ्गो लाग्न नसकेको हो । खाद्यले २०३१ सालमा नै पूरै पैसा लिएर विक्री गरेको रामशाहपथको १५ रोपनी जग्गा आफूलाई पास गरेर नदिएको बीमा संस्थानको आरोप छ । जग्गा पास गर्न आउन बीमा संस्थानलाई पटक पटक बोलाउँदा पनि नआएको खाद्य संस्थानले जिकिर गर्यो । जग्गा पास गर्न बीमा संस्थानलाई पटक पटक आग्रह गर्दा पनि संस्थानले पास नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला सुवेदीले बताइन् । ‘जग्गा पास गर्नका लागि बीमा संस्थानलाई विभिन्न मितिमा बोलाएका थियौं, तर, उहाँहरु आउनु भएको छैन, बोलाएको समयमा किन आउनु भएन भन्ने हामीलाई जानकारी भएन, जग्गा बेचेर पैसा लिने र जग्गा नदिने भन्ने हाम्रो नीति होइन,’ सुवेदीले भनिन् । खाद्य संस्थान र राष्ट्रिय बीमा संस्थानबीच रहदै आएको विवादलाई दुवै निकायले तत्काल समाधान गर्नु पर्नेमा जोड दिएका छन् । दुवै संस्थानहरुले सो विषयलाई सुल्झाउन आवश्यक ठानेपनि सोअनुसार काम भने हुन सकेको छैन । राष्ट्रिय बीमा संस्थानले आफूहरुले समयमा नै पैसा तिरेकोे भएपनि खाद्यले जग्गा पास नगरिदिएको आरोप लगाएको छ । बीमा संस्थानले २०३१ सालमा प्रतिरोपनी ५२ हजार रुपैयाँका दरले ७ लाख ८० हजार रुपैयाँ तिरिसकेको दाबी गरेको छ । पैसा तिरेपछि खाद्यले दिन्छु भनेको जग्गा अझै पास नगरिदिएको बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए । पटक पटक प्रयास गर्दा पनि ४५ वर्षअघि पैसा तिरेको जमिन आफ्नो बनाउन नसकिएको पाठकको भनाइ छ । ‘बीमा संस्थानको तर्फबाट कुनै कमजोरी नै छैन भन्न त मिल्दैन, खाद्यले जग्गा पास गर्न बोलाएको पनि हो, तर जति जग्गा दिने भनेर पैसा लिएको हो, सोअनुसारको जग्गा अझै संस्थानको नाममा आएको छैन, सरकारी निकायबीच नै विवाद हुनु राम्रो होइन,’ प्रशासक पाठकले भने । खाद्य भन्छः १५ रोपनी त दिन सक्दैनौं २०३१ सालमा राष्ट्रिय बीमा संस्थानले खाद्यको स्वामित्वमा रहेको १५ रोपनी जग्गा किन्ने सम्झौता भयो । बीमा संस्थानले खाद्यलाई जग्गाको मूल्य वापत दिनुपर्ने ७ लाख ८० हजार रुपैयाँ दियो पनि । तर, २०४४ सालमा खाद्यको संचालक समितिले बीमा संस्थानलाई बेचिएको १५ रोपनीमध्ये ९ रोपनी ६ आना जग्गा दिने र बाँकी जग्गाको पैसा फिर्ता गर्ने निर्णय गरेको थियो । खाद्यको यही निर्णयका कारण जग्गा विवाद बढ्दै गएको हो । खाद्यको संचालक समितिले गरेको निर्णय परिवर्तन भएकोले आफूहरु सोही निर्णय कार्यान्वयन गर्न मात्रै सक्ने संस्थानका उच्च अधिकारीहरुले बताउने गरेका छन् । बीमा संस्थान भने आफूले १५ रोपनी जग्गा किन्न भनेर पैसा दिएकोले सबै जग्गा पाउनुपर्ने अडानमा छ । सम्बन्धित सामग्री २ बीमा कम्पनीको साढे ३ अर्बको सम्पत्ति विवादमा, गाँठो फुकाउन मन्त्रिपरिषद् गुहारिँदै
पाँच हजार छोरी बीमित
काठमाडौं । प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बीमित भएका छन् । २०७५ साल माघ १ गते यता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत माघ १० गतेसम्म पाँच हजार ४० छोरीले बीमा गराएका हुन् । बीमा गराएकी बालिकाले २० वर्षपछि एकमुष्ट रु एक लाख २५ हजार पाउने कुरा मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । शिविरमार्फत सप्तरीमा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरी ६४५, सर्लाही ७६८, रौतहट ४६२, बारा ८०५ र पर्सामा ४६३ छोरीले बीमा गराएको छ । बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकजनाको नागरिकता र बच्चा तथा अभिभावकको ६/६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी व्यवस्था गरेको छ । शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ । माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको वीरगञ्जका साथै आठवटै जिल्लामा एकसाथ शुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालित रहनेछ । शिविर महानगरमा चार, उपमहानगरमा तीन, नगरपालिकामा दुई र गाउँपालिकामा एक दिन सञ्चालन गरिने व्यवस्था छ । साथै शिविरमा बीमा गराउने बालिकाको परिवारले तीन महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेका छन् । रासस