पुनर्बीमा कम्पनीको अध्यक्ष पद खाली, १६० करोड लगानीकर्ताको प्रतिनिधि शुन्य

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद खाली भएको छ । महेश गुरागाईँको कार्यकाल असार १४ गतेबाट सकिएको छ । पुनर्बीमा कम्पनीको कार्यकाल सकिनै लाग्दा गुरागाईँ पर्यटन मन्त्री योगेश भट्टराई अध्यक्ष रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । पुनर्बीमा कम्पनी छाेड्नु परेपनि सरकारले आफूलाई नछाेडेकाे सन्देश दिन उनी सफल भएका छन् । पुर्नबीमा कम्पनीमा कामु अध्यक्षको जिम्मेवारी सञ्चालक पुरुषोत्तम सुवेदीले पाएका छन् । बीमा संस्थानबाट अवकास प्राप्त सुवेदी उक्त कम्पनीमा  २०७५ भदाैदेखि स्वतन्त्र सञ्चालककाे रूपमा कार्यरत छन् । यस कम्पनीको सर्बसाधारण सेयरधनीको १ अर्ब ६० करोड रुपैयाँ सेयर लगानी रहेको छ । तर अहिलेसम्म सञ्चालक समितिमा साधारण लगानीकर्ताको प्रतिनिधित्व भएको छैन । कम्पनीको आगामी साधारणसभामार्फत सर्बसाधारण सेयरधनीको तर्फबाट सञ्चालक चयन हुने कम्पनीको प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बताए । हाल नेपाल सरकारको तर्फबाट यमलाल भुषाल र रमेश राणा सदस्य छन् । बीमा कम्पनीहरुको तर्फबाट दीपप्रकाश पाण्डे सदस्य रहेका छन् । करिव ६० प्रतिशत सेयर नेपाल सरकारको रहेकोले कम्पनीको अध्यक्ष सोझै सरकारले नियुक्त गर्ने गरेको छ ।

बीमकले समर्पण मूल्य र बीमालेख धितो राखि लिने कर्जामा तोकियो अवधि

काठमाडौ । बीमा समितिले बिमकहरुलाई समर्पण मूल्य र बीमालेख धितो राखी लिने ऋणको समय सीमा ताेकेकाे छ । समितिले बुधबाबर एक परिपत्र मार्फत बीमा कम्पनीले अधिकतम १ आर्थिक वर्षभित्र मात्र बीमालेख व्यक डेट गर्न मिल्ने जनाएको छ । तर एकल बीमाशूल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखहरुमा भने व्याक डेट गर्न नपाइने समितिले जनाएकाे छ । यस्तै, बीमालेख अन्तर्गत  समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमालेख प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बीमा समितिले जनाएको छ । यस्तै, एकल बीमाशूल्कको भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा भने बीमा प्रारम्भ मिति को १ वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न मिल्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले परिपत्र मार्फत जानकारी दिएका हुन् ।

अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्दै, कहिलेदेखि पाइन्छ भर्न ?

काठमाडौं । अजोड इन्स्योरेन्सले ३० कराेड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले आगामी असार २५ गतेदेखि सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियाे । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएकाे छ । त्यस्तै, एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएकाे छ र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।