रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वसाधाणमा सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन ११ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो । त्यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको दोश्रो वार्षिक प्रतिवेदनका साथ आर्थिक वर्ष २०७४७५ का वित्तीय विवरण पारित गरेको छ । २०७४ भदौ ३ गतेबाट जीवन बीमा सम्बन्धि कारोबार शुरु गरेको यस कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजनाहरु ल्याएको छ । यस कम्पनीले गत आर्थिक वर्षमा कुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस कम्पनीको हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् ।

पुनर्बीमा कम्पनीले ४ लाख लगानीकर्तालाई झुक्यायो, सेयर मूल्यमा चलखेल गर्ने संस्थागत नियत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थागत रुपमा लाखौं लगानीकर्तालाई झुक्याएको छ । साथै, व्यवसाय विस्तार, नीति नियमको परिपालना, संस्थागत पारदर्शिताको काम काम छोडेर संस्थागत रुपमा सेयर मूल्यमा चलखेल गर्ने र अस्वभाविक लाभ लिने खेलमा कम्पनी लागेकाे जानकारहरुले बताएका छन् । आवश्यकता र औचित्य विना नै आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आर्जन गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय सार्वजनिक गरेसँगै कम्पनी व्यवस्थापन र सञ्चालक समितिको नियत माथि धेरै प्रश्न उठेका छन् । कम्पनीले विगत दुई आर्थिक वर्षदेखि वार्षिक साधारणसभा गर्न सकेको छैन । लेखापरिक्षण भएको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छैन । गत आर्थिक वर्ष २०७६/७७ को त्रैमासिक रिपोर्टहरु नियमित सार्वजनिक गर्न सकेको छैन । गैर कानुनी रुपमा तीन जना मात्रको सञ्चालक समितिले कम्पनी चलाईरहेको छ । कम्पनी ऐनले पब्लिक कम्पनीमा ५ जना संचालक हुनुपर्ने व्यवस्था गरेको छ भने बीमा ऐनले बीमा कम्पनीमा ७ जनाको सञ्चालक समिति हुनुपर्ने व्यवस्था गरेको छ । तर पुर्नबीमा कम्पनीमा त्यसको पालना भएको छैन । सरकारले नियुक्त गरेका २ जना र बीमा कम्पनीको तर्फबाट एक जना मात्र सञ्चालक समितिमा छन् । कामु अध्यक्षको जिम्मेवारी पाएका सञ्चालक पुरुषोत्तम सुवेदीले कम्पनीको वेवसाइटमा कामु हटाएर अध्यक्ष लेखाएका छन् । सञ्चालक समितिमा बस्ने अधिकार नभएको प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी बोर्ड घुसेका छन् । यसले बनेको अनाधिकृत बोर्डले सेयर मूल्यमा चलखेल गर्ने प्रकृतिको निर्णय गरेपछि लगानीकर्ता त्रसित भएका छन् । साउन ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णय भन्दै यस कम्पनीले नेपाल स्टक एक्चेञ्ज र नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको छ । त्यसमा आव २०७५/०७६ को वित्तीय विवरणमा सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश केही पनि नदिने निर्णय गरेको छ । यस कम्पनीले पाँच महिनाअघि मात्र सर्वसाधारणमा सेयर निष्काशन गरेर १ अर्ब ६० करोड रुपैयाँ उठाएको थियो । साधारण सेयर निष्काशन गर्दा सर्व साधारणको लागि निष्काशन गरेको आह्वान पत्रमा बीमा समितिको निर्देशन अनुसार कम्पनीले विगत ५ वर्षदेखि आर्जन गरेको नाफा वितरण नगरिएको र लाभांश आगामी आ.व.मा वितरण गरिने उल्लेख गरेको छ । ‘कम्पनीले झुक्यायो । यो सरासर बदमासी हो । वित्तीय अपराध हो’ गोर्खा जिल्ला घर भई हाल काठमाडौंमा व्यवसाय गर्दै आएका प्रियराज खनालले भने- ‘सरकारी लगानी भएको कम्पनीले यसरी झुक्याउला भनेर परिकल्पना नै गरेको थिईन ।’ यस कम्पनीमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ सरकारको लगानी छ भने बीमा कम्पनीहरुको ३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ लगानी छ । पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका अनुसार कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने भएकाले कम्पनीले उक्त निर्णय गरेको कामु अध्यक्ष पुरुषोत्तम सुवेदीले बताए । यो लगानीकर्तालाई किन नभनेको त ? भन्ने प्रश्नमा सुवेदीले विवरण पत्रमा उल्लेख गरेको दावी गरे । विपरणपत्र पुरै पढ्दा उनले झुटो बोलेको प्रमाणित भयो । पुर्नबीमा कम्पनीले दुई वर्षदेखि किन साधारणसभा गरेको छैन ? भन्ने प्रश्नमा उनले कोभिड-१९ लाई दोष दिए । त्रैमासिक रिपार्ट किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा उनले बिर्सेको बताए । ‘पत्रिकामा त छापेका थियौं । कम्पनीको वेवसाइटमा राख्न बिर्सिएछ । भोलि सीईओलाई भन्छु म’ उनले जवाफ दिए । सेयरधनीलाई लाभांश दिने अन्तिम निर्णय गर्ने अधिकार साधारण सभालाई हुन्छ । तर कम्पनीले २ वर्षदेखि वार्षिक साधारणसभा गरेको छैन । कम्पनीले साधारण सेयर बाँडफाँड रेकर्ड अनुसार ३ लाख ९० हजार ६ सय ३८ जनाको लगानी रहेको छ । उनीहरु सबैलाई मूर्ख बनाउने काम कम्पनीले गरेको प्रष्ट देखिएको छ । बीमा समितिको सुशासनको निर्देशिका पालाना गर्नु पर्ने भएकोले सेयरधनीलाई लाभांश रोक्नु परेको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बताए । लगानीकर्तालाई जानकारी दिन प्रकाशित गरिएको विवरणमा उल्लेख गर्नु पर्छ कि पर्दैन भन्ने विकासन्युजको प्रश्नमा सीईओ रायमाझीले भने ‘बोर्डलाई बुझाएको विवरणमा उल्लेख गरे नगरेको मलाई जानकारी छैन । तर बीमा समितिको स्ट्याण्डबाई अडर ५ वर्षसम्म बोनस तथा नगद लाभांश दिन नपाउने भन्ने छ, उक्त निर्देशन कार्यान्वयन हुन्छ’ उनले ठाडो जवाफ दिए । कम्पनीले २०७१ साल ९ महिना ७ गतेदेखि कारोबार शुरु गरेको हो । कम्पनीले आव २०७२/७३ मा ३३ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, आव २०७३/७४ मा ६२ करोड १० लाख २० हजार, आव २०७४/७५ मा एक अर्ब ७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, कम्पनीको व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आव २०७५/७६ मा एक अर्ब ६१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । आव २०७६/७७ मा एक अर्ब ८८ करोड र २०७७/७८ मा एक अर्ब ४३ करोड रुपैयाँ नाफा कमाइने कम्पनीको प्रक्षेपण रहेको छ । सञ्चालक समितिले लाभांश नदिने निर्णय गर्नुको पछाडि कम्पनीको बढ्दो सेयर मूल्य घटाएर किन्ने स्वार्थ समूहको प्रभाव पनि हुन सक्ने अनुमान पनि लगानीकर्ताको छ । गत बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ५४५ रुपैयाँमा किनबेच भएको छ ।

३०.५ प्रतिशत बजार हिस्सासहित नेपाल लाइफ अगाडि, नयाँ पुस्ताबाट यूनियनकाे फड्काे

काठमाडौ । गत आर्थिक वर्षमा प्रथम बीमा शुल्क तथा नविकरण बीमाशुल्क दुवैमा नेपाल लाईफले अग्रता कायम गरेको छ । २० वटा जीवन कम्पनी मध्ये कुल बीमा शुल्ककाे ३० दशमलव ५ प्रतिशत बजार हिस्सा नेपाल लाइफकाे छ । बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ मा पनि जीवन बीमा कम्पनीहरुमध्ये अधिकांश सूचकमा नेपाल लाइफ अग्रस्थानमा छ । नेपाल लाइफले प्रथम बीमाशुल्क १० अर्ब १६ करोड रुपैयाँ र नविकरण बीमाशुल्क १८ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको नयाँ बीमाशुल्क ३४ अर्ब ४८ करोड रुपैयाँ छ भने नविकरण बीमाशुल्क ५७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । दुबै गरी जीवन बीमा कम्पनीहरूले ९२ अर्ब ४५ कराेड रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । राष्ट्रिय बीमा संस्थानको प्रथम बीमाशुल्क ९२ करोड रुपैयाँ छ भने नविकरण बीमाशुल्क ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको प्रथम बीमाशुल्क २ अर्ब ३५ करोड रुपैयाँ छ भने नविकरण शुल्क ६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । एलआईसी नेपालको प्रथम बीमाशुल्क ४ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ११ अर्ब १५ करोड रुपैयाँ रहेको छ । मेट लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ३० करोड रहेको छ भने नविकरण बीमाशुल्क २ अर्ब ८५ करोड रहेको छ । एसियन लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ६० करोड रहेको छ भने नविकरण बीमाशुल्क २ अर्ब ९२ करोड रुपैयाँ रहको छ । एशियन, सूर्या, गुराँस र प्राइम एक पटक खुलेका कम्पनी हुन् । ती चार कम्पनी मध्ये एशियन लाइफ अगाडि रहेकाे छ । सूर्या लाइफको प्रथम बीमाशुल्क १ अर्ब १३ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ५४ करोड रुपैयाँ रहको छ । गुराँश लाइफको प्रथम बीमाशुल्क ७८ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ३७ करोड रहेको छ । प्राइम लाइफको प्रथम बीमाशुल्क १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । आइएमइ लाइफको प्रथम बीमाशुल्क ७८ करोड रहेको छ भने नविकरण बीमाशुल्क ५५ करोड रहेको छ । युनियन लाइफको प्रथम बीमाशुल्क २ अर्ब ८६ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । नयाँ पुस्ताकाे कम्पनीकाे यूनियन लाइफले फड्काे मारेकाे छ । ज्योति लाइफको प्रथम बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ६४ करोड रुपैयाँ रहेको छ । सन नेपाल लाइफको प्रथम बीमाशुल्क ५७ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४८ करोड रहेको छ । रिलायन्स लाइफको प्रथम बीमाशुल्क ९१ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४७ करोड रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफको प्रथम बीमाशुल्क १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४० करोड रुपैयाँ रहेको छ । सिटिजन लाइफको प्रथम बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ६० करोड रुपैयाँ रहेको छ । सानिमा लाइफको प्रथम बीमाशुल्क ५५ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क २७ कराेड रुपैयाँ रहेको छ । प्रभु लाइफको प्रथम बीमाशुल्क ८९ करोड रुपैयाँ रहको छ भने नविकरण बीमाशुल्क २८ करोड रुपैयाँ रहेको छ । महालक्ष्मी लाइफको प्रथम बीमाशुल्क ८० करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ५ करोड रुपैयाँ रहेको छ ।