सरकारी कर्मचारीकाे कोरोना बीमा आजदेखि शुरु
काठमाडौ । बीमा समितिले सरकारी कर्मचारीहरुको कोरोना बीमाको बुधबार औपचारिक रुपमा सुरुवात गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमा समेटिएको कोरोना बीमा बुधबार दिउसोबाट सुरुवात गरिने बीमा समितिले जनाएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना महामारीको डर भन्दा आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिन कोरोना बीमा कार्यक्रम अगाडि बढाएकाे बताए । ‘सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्य मार्फत सरकारी कर्मचारीको कोरोना बीमा गर्ने भनिसकेको छ, कर्मचारीको बीमा गर्दा सबैले ढुक्कसँग काम गर्न सक्ने भएकाले कोरोना बीमा महत्वपूर्ण छ’, कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । बीमा समितिले वैशाख पहिलो सातादेखि कोरोना बीमाको शुरुवात गरेको थियो । उक्त बीमाको बिमांक रकम १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ तोकिएको छ । सरकारी कर्मचारीहरुले कोरोना बीमा गराउँदा पूरै बीमा शूल्क तथा आम नागरिकको हकमा ५० प्रतिशत बीमा शुल्क सरकारले व्यहोर्ने बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।
एशियन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा होमबहादुर श्रेष्ठ नियुक्त
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को चैत २० गते दुई कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त निमित्त सीईओ श्रेष्ठले साउन २१ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
‘कोभिड-१९ थाहा भएन, कोभिड-१०० चै युनियन लाइफमा उत्पत्ति भयो’
काठमाडौं । विश्वभर संक्रमण र सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड-१९) को उत्पत्ति कहाँ भयो भन्ने अझै यकिन भएको छैन । सन् २०१९ को अंग्रेजी महिनामा पहिलो पटक मानिसमा संक्रमण पुष्टी भएको कोभिड-१९ को उत्पत्तिस्थललाई लिएर चीन र अमेरिका जस्ता महाशक्ति राष्ट्रबीच आरोप प्रत्यारोप नै चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड-१९ भाइरस चीनले बनाएको भन्दै ‘चिनियाँ भाइरस’को नाम दिइरहेका छन् । चीनका उच्च सरकारी अधिकारीहरु अमेरिकी सेनाका अधिकारीहरु सैन्य तालिमका लागि चीनको वुहान प्राप्तमा आउँदा यो भाइरस ल्याएको हुन सक्ने प्रत्यारोप गरिरहेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले यो भाइरस मानव निर्मित नभइ प्राकृर्तिक भएको बताइसकेको छ । तर, नेपालको एउटा बीमा कम्पनी युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्ण भने कोभिड-१०० को उत्पत्ति आफ्नो कम्पनीमा भएको सगर्व दाबी गरिरहेका छन् । उनी गत वैशाखमा आफूले पहिलो पटक आफ्ना कर्मचारीको दिमागमा कोभिड-१०० भरिदिएको बताउँछन् । ‘चैतमा लकडाउन भएपछि मानिसहरुको मनमा त्रासदीको भयावह अवस्था थियो । यस्तै अवस्थामा चैत २० गतेदेखि मैले अनलाइन तालिम सुरु गरेँ । अनि मैले सबैको दिमागमा कोभिड-१०० भर्दिएँ,’ सिइओ कर्णले विकासन्युजसँग भने । उनका अनुसार कोभिड-१९ भनेको डर, भय, त्रास सिर्जना गर्ने महामारी हो । कोभिड-१०० भनेको मास्क लगाउ, स्यानिटाइजर बोक, दुरी कायम गर र प्रफुल्लित मुद्रामा बाहिर जाऊ भन्ने हो । मानिसले पैसा कमाउनु नै कोभिड-१०० हो भनेर आफूले व्याख्या गरेको उनले स्मरण गरे । त्यसैकारण युनियन लाइफले बैशाख महिनामा सबैभन्दा बढी पोलिसी बेच्न सकेको र सबैभन्दा बढी प्रिमियम संकलन भएको उनको भनाइ छ । ‘मैले युनियन लाइफका कर्मचारीको दिमागमा कोभिड-१०० भरेपछि बजार तरंगित भयो । युनियन लाइफले गर्न सक्छ भने हामीले किन नसक्ने भन्ने अन्य बीमा कम्पनीलाई पनि पर्यो । हामीले एकै दिमा ७ वटासम्म अनलाइन कन्फरेन्स गरेका छौं । कहिले शाखा प्रमुखलाई, कहिले प्रादेशिक प्रमुखलाई, कहिले सिनियर एजेन्सी म्यानेजरलाई, कहिले एमडीआरटी मेम्बरहरुलाई तालिम दिएका हुन्थ्यौं । त्यसपछि युनियन लाइफमा मात्रै होइन, जीवन बीमा बजारमा कोभिड-१०० आयो,’ सिइओ कर्णले भने ।