पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक सुवेदीले दिए राजिनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक पुरुषोत्तम सुवेदीले राजिनामा दिएका छन् । संचालक सुवेदीले निजी व्यस्तताको कारणले स्वतन्त्र विज्ञ संचालक पदबाट राजिनामा दिएका हुन् । उनले गत साउन १४ गतेदेखि लागु हुने गरी राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी संचालक सुवेदीको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले जनाएका छन् । कम्पनीको सञ्चालक समितिको २९७ औं बैठक गत साउन १६ गते बसेको थियो ।

बीमा गराएर मात्र बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउनुपर्छ- सुनिल बल्लभ पन्त

सुनिल बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत- एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड एनएलजी इन्स्योरेन्स कम्पनीको इतिहास ३ दशक लामो छ । सन् १९८८ मा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) सन् २००५ मा लाइफ र ननलाइफ अलग भए । निर्जीवनतर्फ ‘एनएलजी’ र जीवनतर्फ ‘नेशनल लाइफ’ । एनएलजी इन्स्योरेन्समा तीन दशकदेखि कार्यरत सुनिल बल्लभ पन्त सोहि कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएको दुई वर्ष पुरा हुन लागेको छ । तीन दशकमा बीमा क्षेत्रमा कस्तो परिवर्तन आयो ? आगामी दिन बजारमा कस्तो परिवर्तन जरुरी छ ? कोभिड-१९ पछिको सिकाई कस्तो रह्यो ? एनएलजीको आफ्नै अवस्था कस्तो छ ?  प्रस्तुत छः पन्तसँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस । तपाईले बीमा क्षेत्रमा तीन दशकभन्दा बढी बिताउनुभयो । यसअवधिमा बजारको विकासलाई कसरी चित्रण गर्नुहुन्छ ? जतिबेला म बीमा क्षेत्रमा प्रवेश गरेको थिए, त्यतिबेला ५ हजार रुपैयाँ बीमा शुल्क आउँदा खुशी मनाउँथ्यौं, अहिले ५ लाख रुपैयाँ बीमा शुल्क आउँदा पनि धेरै खुशी सकिदैन । सम इन्स्योर्ड धेरै बढेको छ । जोखिम व्यवस्थापनमा प्रणाली सोही अनुसार विकसित भएर गएको छ । रिटेन्सन पनि बढेको छ । जोखिम हस्तान्तरणको शैलीमा पनि ठूलो परिवर्तन भएको छ । बीमाबारे जनचेतना पनि बढेको छ । बैंकबाट कर्जालिँदा मात्र हुने सम्पत्तिको बीमा अहिले कर्जा नलिएको अवस्थामा पनि बीमा गर्नुपर्छ भन्ने मान्यता विकास हुँदै आएको छ । त्यतिबेला मानिसहरु गाडीको बीमा पनि गर्न रुचाउँदैन थिए । अहिले मानिसहरु बाली, पशुधनको समेत बीमा गर्न थालेका छन् । तर बीमालाई बजारीकरण गर्न तौल तरिकामा भने ठूलो परिवर्तन भएको छैन । स्थान र माध्यम फरक होला, दिने सन्देश उही छ । अहिले पनि बीमा कम्पनीहरुले आफ्नो सवल पक्ष, सेवाको गुणस्तर देखाएर बजारीकरण गर्नुको साट्टो अरुको कमजोरी कोट्याउने, लाभभन्दा लोभ देखाउने अभ्यास पनि यदाकदा देखिन्छ । आजको दिनमा बीमा बजारीकरणको तरिका, विधि, पद्धति, शैली, अजेण्डा कस्ताे हुनुपर्दथ्यो ? जोखिम हस्तान्तरणको विषय ग्राहकलाई राम्ररी बुझाउने प्रयास हुनुपर्दथ्यो । बीमा करारमा भएका सर्त, सीमा, सुविधा ग्राहकलाई राम्ररी बुझाइनु पर्दथ्यो । क्षति भएको अवस्थामा कुन विधिबाट बीमा दावी गर्ने, कुन अवस्थामा कति दावी गर्न मिल्छ, कहिलेसम्म दावी भुक्तानी हुन्छ, त्यसको प्रक्रिया के छन् ? सबै कुरा बीमितलाई बुझाउन सक्नुपर्दथ्यो । बीमकले बीमितलाई सबै कुरा छर्लङ्ग बुझाउनुपर्छ । बीमा गराउँदैमा बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउन सक्यो भने मात्र बजार विस्तार हुन्छ । तर ग्राहकलाई सन्तुष्ट बनाउने मामिलामा हामी बीमा कम्पनीहरु कँही कतै चुकेका छौं । बजारको असन्तुष्टि सुनेर बीमा कम्पनीहरुले समिक्षा गरेका छन् ‘हामी कहाँ चुक्यौ’ भनेर ? हामीले ग्राहकलाई बुझाउन चुकेका छौं, बुझाउन सकेका छैनौं । दुर्घटनाबाट क्षति भएपनि बीमा गरेको छु भनेर बीमित ढुक्क हुने, बीमा दावी भुक्तानीपछि बीमितहरु खुशी बनाउने वातावरण हामीले निर्माण गर्नुपर्छ । उनीहरुलाई हामीले खुशी बनाउन नसक्नु, उनीहरुलाई उत्साहित बनाउन नसक्नु कम्पनीहरुको कमजोरी नै हो । यसमा सबै बीमा कम्पनीहरु एक भएर लाग्नुपर्ने हुन्छ । ग्राहकलाई दुविधामा राखेर बीमा गराउनु भएन । विदेशमा मध्यस्तकर्ता राखिन्छ । सर्भेयर स्ट्रोङ हुन्छ । दुर्घटना स्थलमा गएर हेर्ने, डकुमेन्टहरु बनाउने सर्भेयर नै हो । यस्ता पक्षमा सुधार जरुरी छ । नयाँ बीमा ऐनमा धेरै सुधारको प्रयास भएका छन् । कुनै पनि कम्पनीले ग्राहकलाई कति सन्तुष्ट बनाएका छन् भन्ने कुरा बीमितले हाल्ने मुद्दा मामिलाबाट पनि देखिन्छ । एनएलजीको कुरा गरौं, विगत दुई वर्षदेखि एउटा ग्राहक पनि बीमा समिति वा न्यायिक निकायमा गएका छैनन् । समग्रमा अरु कम्पनीको पनि उजुरीको संख्या घट्दो क्रममा छ । बीमा कम्पनीको विश्वसनियता बढाउन बीमितलाई छिटोभन्दा छिटो यथाचित क्षतिपूर्ति दिनुपर्छ भन्नेमा सबै कम्पनीहरु सहमति भएका छन्, सबै लागेका छन् । घट्दो मुद्दाको संख्याले पनि त्यो पुष्टि गर्छ । भूकम्पले पुर्याएको क्षतिपूर्ति स्वरुप बीमा कम्पनीहरुले १८ अर्ब रुपैयाँ बीमितलाई भुक्तानी दिएका छन् । भूकम्पले मेरो क्षति भयो, बीमा कम्पनीले भुक्तानी दिएन भन्ने एउटा पनि उजुरी वा मुद्दा छैनन् । र्स्ट्रोङ सर्भेयरको कुरा गर्नुभयो । प्रभावशाली बीमित वा बीमा कम्पनीबाट सर्भेयरको रिर्पोट कति प्रभावित हुन्छ ? प्रभावित हुँदै हुँदैनन भनेर म भन्दिन । व्यक्ति पिच्छे फरक पर्ला, कम्पनी पिच्छे फरक पर्ला । बीमा कम्पनीहरुले आफ्नो शाखा अभिवृद्धि गर्नको लागि, समग्र बीमा क्षेत्रको विश्वसनियता अभिवृद्धि गर्नको लागि सर्भेयरलाई प्रभाव पर्ने काम गर्नुहुन्न । बीमकले बीमितलाई सबै कुरा छर्लङ्ग बुझाउनुपर्छ । बीमा गराउँदैमा बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउन सक्यो भने मात्र बजार विस्तार हुन्छ । तर ग्राहकलाई सन्तुष्ट बनाउने मामिलामा हामी बीमा कम्पनीहरु कही कतै चुकेका छौं । निकट भविष्यमा बजारको विकास कसरी होला ? भौतिक पूर्वाधार निर्माणमा सरकारले लगानी वृद्धि गर्न सकेमा बीमा बजार विस्तार हुन्छ । दोस्रो, कृषिबाली तथा पशुधनको बीमा बढ्छ । गत वर्षमा पनि ६ प्रतिशतले बजार विस्तार हुँदा आशा बढाएको छ । नियामकको भूमिकामा के कस्तो सुधार जरुरी छ ? सुधार भनेको नियमित प्रक्रिया हो । तीन वर्षअघि हामी जनचेतना अभिवृद्धि भएन भनेर एक स्वरमा भन्ने गरेका थियौं । अहिले त्यसतर्फ धेरै काम भएका छन् । अहिले सेवाको स्तर सुधार गर्नु पर्यो भन्नेमा केन्द्रीत भएका छौं । कृषिबाली तथा पशुधन बीमा, लघुबीमा वृद्धिमा बीमा समितिको भूमिका धेरै राम्रो छ । दावी भुक्तानी यथासमयमा गराउन बीमा समितिले बीमा कम्पनीहरुसँग बारम्बार छलफल गरेको छ, एक किसिमका दवाव दिईरहेको छ । यसलाई म राम्रो मान्छु । प्रणालीगत सुधारतर्फ एनएफआरएस लागू भयो, सल्भेन्सी मार्जिनको नियम लागू भयो । पुँजीमा आधाररित अण्डरराइटिङको अभ्यास हुनु, कम्पनीहरुको पुँजी वृद्धि हुनु राम्रो प्रयास हो । मर्जरको नीति ल्याइसकेको छ । त्यसैले मलाई लाग्छ, बीमा समितिको भूमिका धेरै सकारात्मक नै छ । बीमा बजारको साइज र पुँजीको साइजबीच असन्तुलनको कुरा हुन्छ । तपाईलाई लाग्छ बीमा क्षेत्रले लगानीकर्तालाई उचित लाभांश दिन सक्छ ? जस्तो एनएलजी इन्स्योरेन्सकै कुरा गर्नु हुन्छ भने हकप्रद सेयर निष्काशन गरेर पुँजी १ अर्ब रुपैयाँ पुर्याउँदै छौं । आवेदन नभएको डेढ लाख कित्ता सेयर अक्सनमा लैजादै छौं । बीमा कम्पनीहरुले ठूलो रकम बैंकमा निक्षेप राखेका हुन्छन् । त्यसको व्याज घटेको छ । बीमा कम्पनीको आम्दानीमा यसले नकारात्मक असर पार्छ । लगानी निर्देशिकाले सेयर, घर जग्गा, जलविद्युत, पूर्वाधार बण्ड लगायतका क्षेत्रमा लगानी खुला गरिएता पनि त्यसतर्फ हौसिएर लगानी गर्न गाह्रो छ । हामीसँग अहिले पनि निक्षेप, ऋणपत्र, म्यूचअल फण्ड र सेयरबाहेक लगानी गर्ने बैकल्पिक क्षेत्र कम छन् । त्यसमा पनि सबैभन्दा ठूलो लगानी निक्षेपमा छ । एनएलजी इन्स्योरेन्स कै बारेमा कुरा गरौं । असार मसान्तको वित्तीय अवस्था कस्तो रह्यो ? गत आर्थिक वर्षको अन्तिम चार महिनामा कोभिड-१९ महामारी र लकडाउनका कारण आर्थिक गतिविधि ठप्प नै रह्यो । सरकारले पनि विकास निर्माणमा खर्च गर्न सकेन । विकास निर्माणको काम नहुँदा त्यस क्षेत्रको बीमा भएन । यस कठिन अवस्थामा पनि समग्रमा निर्जीवन बीमाको बजार ६ प्रतिशतले वृद्धि भएको छ । एनएलजीको बजार विस्तार पनि बजारको औषत दरको हाराहारीमा छ । गत वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छौं भने बीमा दावी आउटस्ट्याण्डिङ ८० करोडको हाराहारी रहेको छ । ६ प्रतिशतको व्यवसाय विस्तारमा तपाई सन्तुष्ट हुन सक्नुहुन्छ ? कोडिभ-१९ को महामारी, झण्डै चार महिनाको लडकाउन, विकास निर्माणका काम ठप्प भएको अवस्थामा अघिल्लो वर्षको बराबरी व्यवसाय गर्नुलाई पनि यस पटक सन्तोषजनक मान्नुपर्छ । कति कम्पनीहरुको व्यवसाय खस्किएको छ । तर हाम्रो त ६ प्रतिशतको वृद्धि छ । यसमा हामी सन्तुष्ट हुनुपर्छ । १७३ करोड बीमा शुल्क संकलन गर्दा २० वटा निर्जीवन कम्पनीमा एनएलजीको पोजिसन कहाँ छ ? बीमा शुल्कको आधारमा पाँचौ स्थानमा । टप फाइभ भित्र रहिरहने हाम्रो मिसन हो । टप वान भन्ने छैन । अबको प्रयास टप थ्रीमा जाने भन्ने हो । एनएलजी इन्स्योरेन्स कम्पनीको सबल पक्ष के-के हुन् ? नेटवर्क । सबैभन्दा ठूलो शाखा सञ्जाल हामीसँग छ । ९८ आउटलेट छन्, केन्द्रीय कार्यालय, शाखा, उपशाखा, एक्सटेन्सन काउन्टरसहित । इन्ट्रिग्रेटेड सफ्टवयर छ । एमआईएस सिस्टम दह्रो छ । प्रत्येक्ष क्षेत्रको रियलटाइम व्यवसायिक डाटा हातमा लिएर काम गर्छौ । हाम्रो कर्मचारी यो संस्थाको अर्को सबल पक्ष हो । यहाँ कर्मचारीमा स्थायीत्व छ । यहाँका कर्मचारी ट्रेन छन्, सक्षम छन् । एनएलजीको कर्मचारीलाई बजारले विश्वास गरेको छ । हामीहरुले अनलाईन पोलिसीलाई प्रभावकारी बनाएका छौं । लकडाउनपछि २ महिना हामीले १०० प्रतिशत सेवा अनलाईनबाट दियौं । हाम्रा ग्राहकहरुले गुणस्तरीय सेवा पाएका छन् र खुशी पनि छन् । अनलाइनबाट सेवा दिए पनि त्यसलाई फेरी कागजी फाइल बनाउनु पर्ने नियामकको निर्देशन छ । के अब बीमा सेवालाई लकडाउनको अवस्थामा झै पुरै डिजिटल्ली सञ्चालन गर्न सकिदैन ? अहिलेको नीति, कानुन र व्यवस्था अनुसार हामी गरेका सबै कामको कागजी फाइल बनाउनैपर्छ । डिजिटल सेवा ग्राहकलाई सजिलो र छिटो बनाउनको लागि हामीले गरेका हौं । लकडाउन खुकुलो भएपछि हामीले एउटा यूनिट नै खटाएर लकडाउनको बेलामा गरिएको सबै अनलाईन कारोबार विवरणलाई कागजी फाइल बनाएर राखिसकेका छौं । आगामी दिनमा पनि हामी डिजिटल कारोबारमा जोड दिन्छौं । व्याकअपको लागि कागजी फाइल पनि बनाउँदै जान्छौं । बीमा क्षेत्रले डिजिटल कारोबार गर्न तथा सेवा सञ्चालक गर्ने प्रयास गर्दै आएपनि त्यसमा सफलता मिलेको थिएन । लकडाउनको अवधिमा १०० प्रतिशत सेवा डिजिटल्ली गर्यौ भन्नु भयो । यसबाट सिकाइ के रह्यो ? हाम्रा कार्य प्रणालीमा कस्तो सुधार देखियो ? यसमा दुईटा सिकाइ रह्यो । पहिलो, ग्राहकसँगको प्रत्यक्ष सम्बन्ध कमजोर हुने देखियो । दोस्रो, जोखिम विश्लेषणमा समयमा नै गर्न सकिएन । त्यसको लागि अर्को संयन्त्र बनाउनु पर्ने देखियो । यी हाम्रा चुनौति पनि हुन् । अनलाइनबाटै बीमा पोलिसी लिन सकियोस्, बीमा शुल्क भुक्तानी गर्न सकियोस्, बीमा दावी माग गर्न सकियोस्, दाबी भुक्तानी गर्न सकियोस् भन्ने सोचलाई व्यवहारमा रुपान्तरण गर्न नसकिने रहेछ ? निश्चय नै सकिन्छ । साना तथा मझ्यौला बीमा, खासगरी आवसीय घरका बीमा, निजी सवारी साधन, कृषिबाली र पशुधन बीमा डिजिटल्ली गर्न सकिन्छ । रुपान्तरण भनेको क्रमशः हुने कुरा हो । एकै पटक रुपान्तरित हुने प्रयास भयो भने त्यसले जोखिम बढी ल्याउन सक्छ । सबैभन्दा बढी शाखा हुनुलाई तपाईले एनएलजीको सबल पक्षको रुपमा चित्रण गर्नु भयो । तर कोडिभ-१९ महामारीसँगै मान्छेको आनीबानी र कार्यशैलीमा ठूलो परिवर्तन हुने संकेतहरु देखिएका छन् । बस्तु तथा सेवाको व्यापारदेखि सामूहिक छलफलसम्म भर्च्युअल हुन थालेको छ । धेरै शाखा खोलेर गल्ती गरिएछ भन्ने लाग्दैन तपाईलाई ? शाखा, उपशाखा विस्तार गरेर हामीले जे गरेका छौं, त्यो ठिक छ । अहिले पनि यसतर्फ गल्ती भयो जस्तो मलाई लाग्दैन । किनकी त्यस क्षेत्रका मानिसलाई डिजिटल्ली अभ्यस्त गराउन पनि हामीले सहयोग गर्नैपर्छ । उनीहरुलाई जनचेतना फैलाउन, एप प्रयोग गर्न सिकाउन, उनीहरुलाई डिजिटल कारोबारप्रति विश्वास दिलाउन पनि हामीले कर्मचारी खटिनै पर्छ । त्यसको लागि अफिस चाहिन्छ नै । त्यसो भए बीमा कम्पनीहरुले आफ्ना शाखा मर्ज गर्न पाउनु पर्यो, बन्द गर्न पाउनु पर्यो भन्दै बीमा समितिमा किन गए ? समग्रमा बजारको पर्याप्त अध्ययन नगरी, सम्भाव्यता अध्ययन रिपोर्ट नै नबनाई शाखा खोल्ने काम बीमा कम्पनीहरुबाट भएका छन् । त्यहि कारण केही क्षेत्रमा आवश्यक भन्दा बढी शाखाहरु छन् । हामीले पनि २ ठाउँमा शाखा खोल्न हतार गरेछौं कि जस्तो लागेको छ । बीमाको पहुँच बढाउन शाखा विस्तार पनि जरुरी छ । जहाँ व्यवसाय कम छ, शाखा धेरै छ, त्यहाँ शाखा मर्ज गर्दा राम्रो हुन्छ । विश्वकै नारा हो, ‘आफू बाँचौ र अरुलाई बचाऔं’ । बीमा कम्पनीहरुले पनि यस नारालाई आत्मसाथ गर्नुपर्छ । मिलिजुली अगाडि जानुपर्छ । विकसित देशमा सामान्य अवस्थामा पनि ‘वर्क फर्म होम’ अर्थात घरबाटै काम गर्ने अभ्यास शुरु भईसकेको छ । नेपालमा महामारीको बेलामा त्यो अभ्यास भयो । यसबाट सिकाई के रह्यो ? लकडाउन हुन सक्छ भन्ने आभास हामीलाई पहिले नै भएको थियो । त्यो अवस्थामा कसरी काम गर्ने भन्ने हाम्रो केही तयारी पनि थियो । त्यसैले जिम्मेवार कर्मचारीको घरमा कम्प्यूटर, प्रिन्टर लगायत हार्डवयर, सफ्टवयरको प्रबन्ध हामीले गरेको थियौं । लकडाउन भएको भोलिपल्ट १० बजेदेखि नै हाम्रा सेवा सुचारु थिए । हाम्रा कर्मचारीलाई ट्रेन पनि गराएका थियौं । वर्क फर्म होमबाट पनि धेरै प्रकारको सेवा दिन सकिन्छ भन्ने अनुभव भएको छ । कोभिडका कारण अर्थतन्त्रमा मन्दी आउँदैछ । कर्पोरेट हाउसहरुले खर्च कटौती गरिरहेका छन् । यसतर्फ एनएलजीले कस्तो अभ्यास गरिरहेको छ ? निश्चय नै अहिलेको चुनौति भनेको खर्च कम गर्नु हो । यसलाई हामीले दुई धारमा हेरेका छौं । पहिलो, सुविधायुक्त खर्च, दोस्रो आधारभूत खर्च । जीवनपार्जनको लागि आवश्यक आधारभूत खर्च हामी कटौती गर्दैनौं । कर्मचारी खर्च कटौती हुँदैन । सुविधायुक्त खर्चमा कटौती हुन्छ । सबै घरधनीलाई भाडा घटाउन अनुरोध गर्यौ । कर्पोरेट कार्यालयका घरधनीले एक वर्षको लागि भाडा घटाएर राहात दिनुभएको छ । त्यस्तै, हाम्रो जीवनशैलीमा परिवर्तन आएको छ । होटल, रेष्टुरेन्टको खाना कम भएको छ । त्यसले अफिसको खर्च स्वतः घटेको छ । फ्यूल खर्च कम हुने भएको छ । गत वर्षभन्दा बढी खर्च भएन भने पनि त्यो राम्रो हुन्छ । चालु आर्थिक वर्षको व्यवसाय कस्तो होला ? बैंकको व्याजदर घटेको छ । कर्जा लिनेलाई सस्तो भएको छ । अब स्थिति सामान्य उन्मुख हुने बित्तिकै बैंकबाट कर्जा लिने र व्यवसाय गर्नेहरु बढ्छन् । बैकिङ गतिविधि बढ्ने बित्तिकै बीमा पनि बढ्छ । कोभिड-१९ बीमाबारे एक पटक बजारमा हाइक्राइनै भएको थियो । अहिलेसम्म कोभिड बीमामा कम्पनीहरु नाफामा नै छन् कि नोक्सानमा गए ? नोक्सान भएको छैन । तर यो बीमामा हामीले ६०० रुपैयाँ लिएर एक लाख रुपैयाँको जोखिम कभर गरेका छौं । यसमा नाफा घाटाको कुरै नगरौं । बीमा भनेको विपतकाे बेलामा सहयोग गर्ने सेवा हो । यतिबेला आम मानिस त्रासमा छन् । उनीहरुलाई अप्ठ्यारो परेमा बीमाले सहयोग गर्छ भन्ने प्रमाणित गर्नुछ । यसमा हामीले नाफा नोक्सान हेर्ने होइन । कोरोना बीमा गराउँदै मानिसहरुलाई हरेक प्रकारको जोखिम कम गर्न बीमा गर्नुपर्छ भन्ने सन्देश दिनसक्नुपर्छ । र, आजको मितिसम्म यो कोभिड-१९ बीमामा नोक्सानी भएको पनि छैन ।

कोरोनाले बीमा क्षेत्रमा कति असर गर्यो ? अध्ययनमा जुट्यो बीमा समिति

काठमाडौ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न क्षेत्रमा निकै असर पुर्याएको छ । त्यो असरले सीमित क्षेत्र मात्र नभई देशको अर्थतन्त्रलाई समेत निकै प्रभावित बनाएको छ । कोरोना भाइरसले बीमा क्षेत्रलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वभाविक असर नै परेको छ । यसले बीमा क्षेत्रमा के कति असर पर्यो ? त्यसको सही विवरण तथा तथ्यांक हालसम्म यकिन नभएपनि यसको बारेमा विस्तृत जानकारीका लागि बीमा समिति अध्ययनमा जुटेको छ । बीमा समितिका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) ले नेपाली बीमा क्षेत्रमा परेको असरका बारेमा अध्ययन गर्न जुटेको हो । समितिका अनुसार समितिले कोरोना महामारीको असर बीमा क्षेत्रमा तत्काल नभई निकट भविष्यमा देखिने भन्दै अध्ययन थाल्ने भएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर अहिलेभन्दा भविष्यमा बढी हुने भएकोले यसले पारेको वास्तविक असरको फिगर निकाल्न समितिले अध्ययन गर्न लागेको बताए । ‘हामीले कोरोना महामारीको असर जीवन बीमा क्षेत्रमा तत्काल असर देखेका छौं, निर्जीवन बीमा क्षेत्रमा आगामी वर्षहरुमा धेरै रहने हाम्रो अनुमान छ’, उनले भने । कोरोना महामारीका कारण जीवन बीमा क्षेत्रमा अभिकर्ताहरुले बिमितसम्म पुगेर बीमा गराउन पाएनन् । अभिकर्ताहरुले सम्बन्धित कम्पनीको नाम लिएर बीमा सम्बन्धि जानकारी दिने, बीमा गराउने तथा दाबी भुक्तानीको बेलामा समेत सहजिकण गर्छन् । तर कोरोना महामारी तथा लक डाउनले अभिकर्ताहरुले काम गर्न समस्या परेको उनको भनाई छ । कार्यालयमा बिमित पु्ग्नपनि कठिन भएकाले जीवन बीमा व्यवसाय प्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको उनको भनाई छ । यस्तै, निर्जीवन बीमा क्षेत्रमा भने आगामी वर्षमा असर देखिने समिति बताउँछ । तत्कालका कोरोना महामारीले बीमा क्षेत्रमा के कस्तो असर पार्यो भन्ने कुरा एक किसीमको अनुमान मात्र रहेको बीमा समितिले बताएको छ । अध्ययन नगरीकन वास्तविक अवस्था थाहा पाउन नसकिने समितिको ठहर छ । बीमा समितिले विभिन्न कम्पनीहरुमा कोरोनाले पुर्याएको असर अध्ययन गरेर भोलिका दिनमा आवश्यक मापदण्ड बनाएर अघि बढ्ने जनाएको छ । बीमा समितिले सो विषयमा कम्पनीहरुसँग छलफल गरी सकेको छ । आगामी दिनमा कम्पनीहरुसँग कसरी समन्वय गर्ने भनेर पनि बीमा समितिले मापदण्ड तयार गरेकोे छ । सो मापदण्ड अनुसार बीमा कम्पनीहरुलाई समितिले आवश्यक निर्देशन दिने बताइएको छ ।