बीमा समितिले भन्योः शाखा नखोल्नु, कर्पाेरेट कार्यालयमा सिमित कर्मचारी बोलाउनु
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई शाखा कार्यालय बन्द गराउन परिपत्र गरेको छ । कोभिड महामारी अनियन्त्रित रुपमा बढेपछि नियन्त्रण तथा रोकथामका लागि मानवीय आवागमन कम गर्न यस्तो निर्णय गरिएको हो । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बीमा कम्पनीहरुले प्रदान गर्ने सेवा जेठ १३ गतेसम्म स्थगित गर्ने निर्णय गरेपछि सोको कार्यान्वयनका लागि समितिले परिपत्र जारी गरेको हो । यस्तै अन्य ७० भन्दा बढी जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको निर्णयका आधारमा निषेधाज्ञा जारी गरिएको छ । बीमा सेवा जेठ १३ गतेसम्म स्थगित गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को निर्णय अनुसार बीम कम्पनीहरुलाई शाखा कार्यालय बन्द गराउन र कर्पाेरेट कार्यालयहरुमा सिमित कर्मचारी मात्रै बोलाउन पत्र पठाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘डीसीएमसीले जेठ १३ गतेसम्मको लागि बीमा सेवा स्थगन गर्ने निर्णय गरेको छ, कोभिड संक्रमणको अवस्था भयावह भएको अहिलेको समयमा बीमा कम्पनीहरुले सबै शाखा कार्यालय बन्द गर्नु नै उचित हुन्छ, त्यसैले जेठ १३ गतेसम्म शाखा कार्यालयहरु बन्द गर्न र कर्पाेरेट कार्यालयहरुले गर्नै पर्ने अतिआवश्यक कामको लागि सिमित कर्मचारी मात्रै बोलाएर काम गर्न गराउन पत्राचार गर्दैछौं,’ कार्यकारी निर्देशक पौडेलले भने । कोभिड महामारीको दोस्रो लहर सुरु भएसँगै प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यका सहित देशभरका अधिकांश प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरिएको छ । यस्तो निषेधाज्ञा बढाएर अहिले ७० भन्दा बढी जिल्लामा आंशिक तथा पूर्ण क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । संक्रमण अनियन्त्रित रुपमा बढ्दै गएको कारण निषेधाज्ञाको समय बढाएर जेठ १३ गतेसम्म पुर्याइएको छ । यसअघि एक चौथाई कर्मचारी बोलाएर बीमा सेवा संचालन गर्नुपर्ने व्यवस्था थियो । तोकिएभन्दा बढी कर्मचारी बोलाए कारबाही गर्ने भन्दै प्रशासनले अनुगमन समेत गरेको थियो । अब भने बीमा सेवा ठप्प भएको छ । सम्बन्धित समाचार बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द, बैंक वित्तीय संस्था के हुन्छन् ?
बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द, बैंक वित्तीय संस्था के हुन्छन् ?
काठमाडौं । अब बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू आगामी जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो । यस्तै, बैंक वित्तीय संस्थाहरु भने न्युनतम कर्मचारी र शाखाहरु सञ्चालन गरी काम गर्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाउने । सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने । बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सिमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने ।
नेपाल इन्स्योरेन्सको खुद नाफा र बीमाशुल्क दुबैमा वृद्धि
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६.८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १७ करोड रुपैयाँ बढी नाफा कमाएको छ । समिक्षा अवधिमा कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा ४३ करोड १ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ र बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छछ । साथै, कम्पनीले चालुु आवको पहिलो ९ महिनामा १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।