५३ औं वर्षमा बीमा समिती, भुक्तानीलाई अझ सरल र छिटो बनाउने अध्यक्षकाे प्रतिबद्धता
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिती ५३ औं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा समितीका अध्यक्ष सूर्य प्रसाद सिलवालले संचालक समितीका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष सिलवालले नेपालमा रहेको बीमा व्यवसायलाई विकसित, नियमित र व्यवस्थित बनाउने उदेश्यले स्थापित संस्थाको अध्यक्षको नाताले बीमा व्यवसायलाई स्वच्छ र भरपर्दो बनाउँदै आगामी दिनमा न्युन आए भएका वर्गलाई बीमाको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै उनले कोरोनाको यस विषमा परिस्थितीमा मानव जिवनको असल साथीको रुपमा राहत प्रदान गर्ने पनि बताएका छन् । आगामी दिनमा बीमा भुक्तानीलाई अझ सरल, छिटो र छरितो बनाउँदै लैजाने बताए । कोरोना महामारीको कारण सरकारद्वारा जारी निषेधाज्ञाको पालना गर्दै समितीले यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच सस्ताेमा स्वास्थ्य सेवा दिने सम्झाैता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वन काठमाण्डौंबीच कोभिड-१९ अघि र पछिको सेवा सम्बन्धी सम्झौता भएको छ । निषेधाज्ञामा कम्पनीका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उदेश्यले कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत क्लिनिक वनसँग सम्झौता गरेको जनाएको छ । उक्त सम्झौता अनुसार कम्पनीसँग सम्बन्धित व्यक्तिहरुले उक्त क्लिनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरी लिन सक्नेछन् । कोभिड केयर सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पीसीआर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ । यसको लागी कम्पनीले चौबिसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाइन फोन नंम्बरको व्यवस्था गरेकाे जनाएकाे छ ।
शिखर इन्स्योरेन्सको खुद नाफा १० प्रतिशतले बढ्यो, खुद बीमाशुल्क एक अर्ब माथि
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.२६ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३२ करोड ९५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ११.९७ प्रतिशतले बढेर एक अर्ब ८ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ९६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६८.७४ गुणा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेकाे छ । चैत मसान्तसम्ममा कम्पनीले २ लाख ११ हजार ९९६ वटा बीमालेख जारी गरी २ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले १६ हजार ९१४ दाबीबापत १ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ भने ९ हजार २८६ दाबी वापत १ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।