बीमा समितिमा चिरञ्जीवी र चिन्तामणिको टक्कर, प्रतिस्पर्धामा अरु पनि

काठमाडौं । बीमा समितिको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईँ र डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीबीच पेचिलो प्रतिस्पर्धा हुने देखिएको छ । सिवाकोटी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट छन् भने चापागाईँ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट छन् । तर नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच विवादले चापागाईँ र सिवाकोटीको प्रतिस्पर्धाको नतिजा अनुमान गर्न कठिन छ । प्रधानमन्त्री ओलीले आफू निकट व्यक्तिहरुलाई मात्र सरकारी नियुक्ती गरेको भन्दै प्रचण्डले पार्टीमा लिखित रुपमा नै विरोध गर्दै आएका छन् । तर प्रधानमन्त्री ओलीले सरकार प्रमुखको हैसियतले राजनीतिक नियुक्तीको अधिकार आफूमा भएको दावीसहित यस्ता नियुक्तीमा पार्टीको समझदारी जरुरी नभएको बताउँदै आएका छन् । जानकारहरुका अनुसार प्रधानमन्त्री ओली र सिवाकोटीबीच व्यक्तिगत सम्बन्ध राम्रो रहेको छ । सिवाकोटीले एक वर्षअघि नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चाहना प्रधानमन्त्रीसँग राखेको थिए । तर गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त गरेपछि ओली सरकारले सिवाकोटीलाई बीमा समितिको अध्यक्षको जिम्मेवारी दिन सक्ने धेरैको अनुमान छ । ‘पहिला पनि डेपुटी गभर्नर प्रफुल्ल कुमार काफ्ले बीमा समितिको अध्यक्ष हुनुभएको थियो, नियामक निकायमा यतिका वर्ष काम गरेको मान्छे अर्को नियामक निकायको कार्यकारी प्रमुखको भएर काम गर्न सकिन्छ’ सिवाकोटीले विकासन्युजसँग भने- ‘सरकारले जिम्मेवारी दियो भने राम्रो नतिजा दिन सकिन्छ ।’ वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईँले पनि निरन्तरता चाहेका छन् । बीमा बजारका स्टेकहोल्डर पनि उनको निरन्तरता चाहन्छन् । चार वर्षअघि बीमाको पहुँच ७ प्रतिशतभन्दा कम थियो । अहिले २७ प्रतिशतभन्दा बढी छ । शहरमा मात्र केन्द्रीत बीमा सेवा गाउँगाउँसम्म विस्तार भएको छ । कुल ग्राहस्थ्य उत्पादनमा बीमाको योगदान १.३ प्रतिशतबाट वृद्धि भई ३ प्रतिशत पुगेको छ । बीमा क्षेत्रमा रोजगारी २ हजारबाट बढेर १० हजार पुगेको तथ्याङ्क सार्वजनिक भएका छन् । ‘उहाँको कार्यकालमा बीमा बजारले फड्को मारेको छ । नियमन मात्र नभई सहजीकरण पनि गरिदिने, समस्याका बारेमा सबैसँग छलफल गरेर निर्णय लिने उहाँको कार्यशैली राम्रो छ’ एक बीमकले भने । ‘विगत चार वर्षमा के कति काम भए अरुले मूल्याङ्कन गर्ने विषय भयो । बजार विकास र विस्तारमा धेरै काम भएको तथ्याङ्कले देखाउँछ’ अध्यक्ष चापागाईँले भने- ‘योजनामा रहेका तर गर्न बाँकी कामहरु छन् । सरकारले जिम्मेवारी दिएमा पुरा गर्छु ।’ बीमा समितिको आकांक्षीमा अरु धेरै छन् । नेपाल पुर्नबीमा कम्पनीका पूर्व अध्यक्ष महेश कुमार गुरागाँई, पुर्नबीमा कम्पनीका सञ्चालक रमेश लम्साल, नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, नेपाल स्टक एक्स्चेञ्जका पूर्व अध्यक्ष टंक पनेरु, नेपाल राष्ट्र बैंकका निर्देशक रामशरण खरेल लगायत दौडधूपमा छन् । लुम्बिनी प्रदेशमा घर भएका लम्सालले आफ्नै प्रदेशका नेता तथा अर्थमन्त्री विष्णु पौडेल मार्फत लबिङ शुरु गरेका छन् । बीमा कम्पनीको अध्यक्षको नाम मन्त्रीपरिषद्मा लैजाने अर्थमन्त्रीले हो । पुर्नबीमा कम्पनीको संस्थापक सीईओ समेत रहेका लम्सालसँग ८ वर्ष नेपाल बैंकमा र ३० वर्षभन्दा बढी बीमा क्षेत्रमा काम गरेको अनुभव छ । उनी बीमामा एशोसिएट डिग्री हासिल गर्ने पहिलो नेपाली पनि हुन् । क्यानका पूर्व अध्यक्ष तथा चाटर्ड एकाउन्टेन्ट गुरागाईं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नजिक छन् । मन्त्री अध्यक्ष रहेको नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा गुरागाईं सदस्य छन् । उनी नेकपाभित्र पनि पूर्व एमाले निकट हुन् । नेपाल स्टक एक्सचेञ्चका पूर्व अध्यक्ष तथा सीए टंक पनेरु पनि बीमा समितिको अध्यक्षको आकांक्षी हुन् । उनी प्रधानमन्त्री झलनाथ खनाल मार्फत लविङमा छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक डा रामशरण खरेल अध्यक्ष पदका आकांक्षी हुन् । प्रधानमन्त्रीको विश्वासपात्र डा युवराज खतिवडाको ज्वाइ भएकोले खरेलको सम्भावना निकै छ । समितिको अध्यक्ष पद आगामी पुसको अन्तिम साता खाली हुँदैछ । २०७३ पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो । पुस २४ गते नियुक्तपत्र पाएका चापागाईले २७ गतेबाट जिम्मेवारी समालेका थिए ।

कोरोना बीमामा करिब ४ अर्ब रुपैयाँको दाबी

काठमाडौ । हालसम्म कोरोना बीमामा ३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । सो दाबी मध्ये बीमा कम्पनीहरुले २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । बीमा कम्पनीहरुले कोरोना बीमाबाट ९८ करोड ६६ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेका छन् । बैशाख पहिलो हप्ताबाट कोरोना बीमा संचालनमा आएको हो । उक्त बीमा निर्जीवन बीमा कम्पनीहरुले गर्दै आएका छन् । कम्पनीका परेको कुल दाबीमा हालसम्म ७१ करोड ७० लाख रुपैयाँ भुक्तानी भइसकेको छ । यस्तै, संकलन भएको बीमा शूल्कबाट कम्पनीले ५० करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । बीमा दाबी भुक्तानीको दायित्व बीमक, नेपाल पुनर्बीमासँगै बीमा समितिसम्म जोडिएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोडको आईपीओ जारी गर्दै, फाइल धितोपत्र बोर्डमा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने अनुमति मागेको छ ।