बीमा समितिमा परेका शतप्रतिशत मुद्दा फैसला, बिमांक र मोटर बीमाको विषय बनाएर उजुरी दिने अत्याधिक

काठमाडौं । बीमा समितिमा परेका मुद्दाहरु मिलाउन वा फैसला गर्न पछिल्लो समय बीमा समिति सक्रिय बन्दै गएको छ । समितिमा आउने मुद्दाहरुको संख्या बढेसँगै समितिले पनि मुद्दाको फैसला गर्नमा तीव्रता दिएको हो । समितिले पनि परेका उजुरीलाई प्राथमिकताका साथ फैसला गराउन थालेको बताएको छ । चालु आर्थिक वर्ष २०७७/०७८को हालसम्म बीमा समितिमा ४६ वटा मुद्धा परेका छन् । जसमा ३१ मुद्दाको फैसला भइसकेको छ भने १३ वटा मुद्दाहरु उजुरी गरेका बिमितहरुले फिर्ता लिएका छन् । बीमितहरुले मुद्दा दर्ता गरिसकेपछि पनि पुनः बिमितको सहमति अनुसार नै फिर्ता गर्ने पनि गरिएको छ । दर्ता भइसकेका मुद्धाहरुमा सहमति भएपछि मुद्धा रद्ध भएका हुन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा भने बीमा समितिमा १ सय ४६ वटा मुद्धाहरु दर्ता भएका थिए । बीमा समितिमा लकडाउनको अवधिमा जीवन बीमातर्फ वैदेशिक रोजगार म्यादी बीमा तथा निर्जीवन तर्फ बिमांकका उजुरीहरु बढी आएको समितिले जनाएको छ । समितिका अनुुसार लकडाउनमा बीमाशूल्क बुझाउन नसकेका बिमितले बिमांक नपाएको उजुरी गरेका छन् । कोरोना महामारीका कारण भएको लकडाउनको समयमा बिमितले बीमाशूल्क बुझाउन सकेनन् । सो अवस्थामा बिमितहरुले केही विवरणहरु तथा काजगातहरु पूरा गर्न नसक्दा त्यसको असर सोझै बीमितलाई परेको देखिन्छ । कोरोना भाइरस महामारीको समयमा बीमा कम्पनीहरुले मोटर बीमा शूल्कमा छुट दिएको थियो । लकडाउनको अवधिमा बीमा कम्पनीहरुले नविकरण गर्ने अवधिपनि थप गरेका थिए । नियामक बीमा समितिले नै कोरोना महामारीको समयमा उद्योग कारखाना तथा यातायात चल्ने नसकेको भन्दै छुट प्रदान गर्न निर्देशन दिएको थियो । तर अझै पनि बीमितहरु समस्यामा परेको उजुरीबाट बुझिन्छ । समितिका अनुसार लकडाउनको समयमा बीमाशूल्क बुझाउन ढिलाई भएको कारण बिमांक रकम नै नपाएको भन्दै बिमितहरु उजुरी बोकेर समितिमा पुग्ने गरेका छन् । त्यस्ता उजुरीको समाधानमा समिति लागि परेको बीमा समितिका अधिकारी बताउँछन् । उजूरी बोकेर जाने बिमितहरुले निर्जीवन तथा निर्जीवन दुवै कम्पनीका छन् । यस्तै, जीवन बीमा तर्फपनि वैदेशीक रोजगार बीमामा बिमितले मुद्धा दर्ता गराएका छन् भने निर्जीवन तर्फ बिमांक नपाएका गुनासो छन् । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले अहिले पनि उजुरीको फैसला तीव्र गतिमा भइरहेको बताए । ‘विगतमा रहेका अधिकांश मुद्धाहरुको फछ्र्यौट भइसकेको छ, पछिल्लो समय संख्यात्मक रुपमा कम तर फरक फरक प्रकृतीका मृद्धाहरु आएका छन्,’ उनले भने । बीमा समिति अर्ध न्यायिक निकाय भएकाले बीमा क्षेत्रको समस्या समाधानमा न्यायिक भूमिका पनि समिति सक्रिय हुँदै गएको छ । केही मुद्दाहरु समयमा दाबी भुक्तानी नपाएको, बिमीतलाई चित्त नबुझेर पनि उजुरी आउने गरेको समितिको भनाई छ । यस्ता मुद्दामा समितिले पीडितलाई न्याय दिने काम गरिरहेको अधिकारीको भनाई छ । बीमा समितिका अध्यक्षले इजलासको नेतृत्व गर्दछन् । बीमा ऐन २०४९ ले बीमा समितिलाई बीमा क्षेत्रको नियमन तथा बीमा दाबी भुक्तानीको सुरु मुद्दा हेर्ने अर्धन्यायिक निकायको रुपमा परिभाषित गरेको छ । बीमा सम्बन्धी कुनै पनि समस्या परेमा बीमित वा बीमकले बीमा समितिमा उजुरी गर्न सक्छन् । समितिले गरेको फैसला चित्त नबुझेमा पुनरावेदन गर्न पाउने व्यवस्था समेत रहेको छ । त्यस्तै, पीडित पक्षलाई सहज सेवा दिन समितिले उजुरी दर्ता गर्ने प्रक्रियालाई सहज बनाएको जनाएको छ । समितिमा परेको मुद्धालाई सबैभन्दा पहिला सहमतिको आधारमा नै टुङगाउने कोसिस गरिन्छ । समितिले सोही बीमितलाई परेका समस्या तथा मुद्धा मालिलामा सहजिकरणगर्नु समितिको दायित्व हो । बीमितले बीमा कम्पनीबाट आफूलाई केही अनियमितता भएको महशुस गरेमा बीमा समितिमा उजुरी गर्न पाउने व्यवस्था छ । सो व्यवस्था अनुुसार आफू समक्ष आएका उजूरीको बीमा समितिले सुपरिवेक्षण, निरिक्षण गर्ने गर्छ ।

प्रभु लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, यसरी मनायाे वार्षिकाेत्सव

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय शुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने कार्यलाई निरन्तरता दिंदै आएको छ । आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु उपलब्ध गराएको छ । २०७७ मंसिर २८ गतेका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोहमा प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले उक्त सामाग्रीहरु ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ अधिकृतहरु एवम् उक्त महाशाखाका ट्राफिक प्रहरी पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसैगरी उक्त कम्पनीका प्रदेशस्थित कार्यालयहरुबाट पनि रक्तदान लगायतका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु संचालन गरिएको थियो । थप समाचारः प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भोलिदेखि भर्न पाइने

एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त भएकी छिन् । मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै उनले सोहि दिनदेखि आफ्नो जिम्मेवारी सम्हालिसकेकी छिन् । नवनियुक्त कम्पनी सचिव केसी कानुन विभागका कर्मचारी समेत हुन् ।