रिलायन्स लाइफकाे व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएकाे हाे । कम्पनीले कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे जनाएकाे छ ।
यूनियन र सानिमाले एकैपटक अघि बढाए आईपीओ जारी गर्ने प्रकृया
काठमाडौं । हाल सञ्चालनमा दुई जीवन बीमा कम्पनीले सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएका छन् । यूनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले एकैपटक नेपाल धितोपत्र बोर्डको अनुमति माग्दै आईपाओ जारी गर्ने प्रकृया अघि बढाएका हुन् । आईपीओ जारी गर्न स्वीकृतिको लागि यी दुबै गत जेठ ९ गते धितोपत्र बोर्ड पुगेका थिए । जसमध्ये सबैभन्दा बढी यूनियन लाइफ इन्स्योरेन्सले जारी गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरको ६४ लाख ५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । त्यस्तै, सानिमा लाइफले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । यी दुबै कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले स्वीकृति पाएसँगै यी दुबै इन्स्योरेन्सले प्रभु क्यापिटल मार्फत सो मात्राको आईपीओ जारी गर्ने छन् ।
आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्न प्रस्ताव पारित
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएकाे थियाे । सभा मार्फत कम्पनीले सामान्य प्रस्ताव तर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेकाे छ । यसका साथै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ भने विशेष प्रस्ताव तर्फ कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्य पनि गरेको छ । सभामा बोल्दै सभाका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको बताए । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागिय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्स मार्फत उपस्थिति जनाएका थिए ।