हिमालयन रिले असारभित्रै कारोबार सुरु गर्ने, विदेशी सीईओ खोजिँदै
काठमाडौं । बीमा समितिबाट व्यवसाय संचालनको सैद्धान्तिक अनुमति पाएको हिमालयन रिले चालु आर्थिक वर्षभित्रै व्यवसाय सुरु गर्ने भएको छ । सैद्धान्तिक अनुमति पाएको ६ महिनाभित्र व्यवसाय सुरु गर्न कानुनले छुट दिने भएपनि चालु आर्थिक वर्षभित्रै कारोबार संचालन गर्ने तयारी कम्पनीले गरेको छ । चालु आर्थिक वर्षभित्रै कारोबार सुरु गरिसक्ने गरी आन्तरिक तयारी भइरहेको कम्पनीका एक संचालकले जानकारी दिए । हिमालयन रिले महाराजगञ्जमा कार्यालय स्थापना गरेर आन्तरिक तयारी थालिसकेको छ । ‘चालु आर्थिक वर्षभित्रै कारोबार संचालन गरिसक्ने गरी आन्तरिक गृहकार्य गरिरहेका छौं, कम्पनी दर्ता भइसकेको छ, त्यसैले यो महिनाभित्र कारोबार संचालन गर्न सकिन्छ,’ कम्पनीका एक संचालकले विकासन्युजसँग भने । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीले ७ अर्ब रुपैयाँ (७० प्रतिशत) हालेका छन् भने सर्वसाधारण सेयरधनीको लागि ३ अर्ब रुपैयाँ (३० प्रतिशत) छुट्टयाइएको छ । सरकारी लगानीका २ वाणिज्य बैंकहरु नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ५०/५० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीको संचालक समिति अध्यक्ष शेखर गोल्छा छन् । यस्तै, संचालकहरुमा उद्योगीहरु साहिल अग्रवाल, अमित मोर र रोहित गुप्ता छन् । अमित गुप्ता नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरका छोरा हुन भने रोहित गुप्ता उद्योगी रमेश गुप्ताका छोरा हुन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोजी भइरहेको ती संचालकले जानकारी दिए । कम्पनीले नेपालमा गर्ने पुनर्बीमा व्यवसाय धेरै नहुने र विदेशमा व्यवसाय खोज्नुपर्ने भएकोले विदेशी सीईओ राख्ने तयारी भएको उनको भनाई छ । ‘नेपालमा पुनर्बीमा व्यवसाय निश्चित आकारको छ, नेपालबाट जति व्यवसाय आउनु पर्ने हो, त्यति आइहाल्छ, हामीले खोज्नुपर्ने भनेको विदेशी बजार हो, त्यसको लागि विदेशी सीईओ राखेर व्यवसाय विस्तारको योजनामा छौं, विदेशी सीईओ राख्नेगरी गृहकार्य भइरहेको छ, निषेधाज्ञाको कारण अन्तराष्ट्रिय उडान नरोकिएका भए विदेशी सीईओको अन्तरवार्ता पनि भइसकेको हुने थियो, अब छिट्टै हुन्छ,’ ती संचालकले भने ।
जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवाललाई सफाइ
काठमाडौं । सेयरमा अन्धधुन्ध लगानी गरेको आरोपमा निलम्बलनमा परेका जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले सफाइ पाएका छन् । उनलाई निलम्बन गर्ने बीमा समितिले नै सफाइ दिएको हो । समिति गत बैशाख ३ गते उनलाई निलम्बन गरेको थियो । आज उनलाई बीमा समितिले सफाइ दिने निर्णय गरेको हो । उनको निलम्बन फुकुवा भएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विकासन्युजलाई जानकारी दिए । समितिले निर्णयले सत्यको जीत भएको अग्रवालले बताए । ‘पहिला कम्पनीभित्रका गलत तत्वको प्रभावमा बीमा समितिले मलाई सञ्चालक पदबाट निलम्बन गरेको थियो । समितिले बास्तविकता बुझेपछि निलम्बन फुकुवा गरेको जानकारी पाएको छु’ उनले भने । कम्पनीमा पहिला झै फर्कने, कम्पनीको काममा पहिला झै सक्रिय रुपमा लाग्ने र कम्पनी बलियो बनाउन आफ्नो प्रयास केन्द्रीत हुने उनले बताए । कुनै पनि बीमा कम्पनीका सञ्चालक निलम्बन गर्ने अधिकार बीमा समितिमा नरहेको उनकाे तर्क छ । उनीमाथि कम्पनीलाई जोखिमपूर्ण ढंगले सञ्चालन गरेको आरोप बीमा समितिले नै लगाएको थियो । बीमकको लगानी निर्देशिकामा कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम नेप्सेमा सूचिकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था रहेकोमा कम्पनीले उक्त रिजर्भको १५५ प्रतिशतसम्म लगानी गरेको लगानी कमिटिको बैठक बसी निर्णय नै नगरी मनोमानी ढंगले लगानी गरेको, संस्थागत सुशासन निर्देशिकामा बीमकले आफ्ना प्रवद्र्धक कम्पनीको सेयर किन्न नपाउने व्यवस्था गरेकोमा त्यस विपरित गोर्खा फाइनान्स, सिभिल बैंक लगायत आफै संस्थापक सेयरधनी रहेका कम्पनीको साधारण सेयरमा लगानी गरेको लगायतकाे आरोप लगाएको थियो । उनी सेयर बजारका सक्रिय र नाम चलेका लगानीकर्ता हुन् । उनी यसअघि मेगा बैंक नेपालमा सञ्चालक थिए । सेयरमा अन्धाधुन्ध लगानी गर्ने बीमा कम्पनीको सञ्चालक निलम्बित, विभागीय प्रमुखहरु पनि कारवाहीमा
नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (असार ८ गते) मंगलबार मात्रै ९ लाख २० हजार २ सय ५०.७९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।