प्रुडेन्सियल इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, सञ्चालकमा २ जना निर्वाचित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित भएको छ । असार ६ गतेसम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने भएका छन् । यससँगै साविक १ अर्ब २ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी बोनस वितरण पश्चात १ अर्ब १० करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी गराएको छ । साथै, सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालक (शैलेष संघई र अनिता रायमाझी टण्डन) निर्विरोध निर्वाचित भएका छन् । जसलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराईसकेका छन् । त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्सको उन्नाईसौं वार्षिक साधारण सभा होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा सम्पन्न भएको हो ।

राेल्पाकाे दुई पालिकाद्वारा द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बीमा सेवा

राेल्पा । दशवर्षे माओवादी सशस्त्र द्वन्द्वबाट सबैभन्दा धेरै प्रभावित यहाँका स्थानीय तहले द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि सारेका छन् । सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकाले सो कार्यक्रम ल्याएका हुन् । सुनिलस्मृति गाउँपालिकाले यसअघि नै एक सय द्वन्द्वपीडितका लागि यो कार्यक्रमको योजना बनाएको थियो । रोल्पा नगरपालिकाले पनि यसै वर्षदेखि यो कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । नगरको कार्यपालिका बैठकले यस विषयमा निर्णय गरेको हो । नगरपालिकाले सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट पीडित भएकालाई यो सुविधा दिने निर्णय गरेको छ । हालका लागि तीन सय द्वन्द्वपीडितलाई उक्त सुविधा दिने निर्णय भए पनि आवश्यकताअनुसार थप गर्न सकिने नगरपालिकाले जनाएको छ । द्वन्द्वका क्रममा मारिएकाका परिवार, बेपत्ता, घाइते अपाङ्ग, यौनहिंसामा परेका तथा प्राकृतिक अपाङ्गता भएका र नगरभित्रका अतिविपन्नसमेत यो सुविधाबाट लाभान्वित हुने नगरपालिकाले जनाएको छ । द्वन्द्वमा आफन्त गुमाएका तथा बेपत्ता भएका, आफैँ घाइते तथा अपाङ्ग भएका र यौनहिंसामा परी मनोवैज्ञानिक त्रास भोगेर आर्थिक रुपले कमजोर अवस्थामा रहेकाले बीमापछि स्वास्थ्योपचारमा सहयोग मिल्ने नगरप्रमुख पूर्ण केसीले बताए । तत्कालीन स्थानीय शान्ति समितिको तथ्याङ्कअनुसार जिल्लामा ९४६ ले द्वन्द्वका क्रममा ज्यान गुमाएका थिए । त्यसमा ७६२ राज्यपक्ष, १६५ विद्रोही पक्ष र आठ दोहोरो भिडन्तमा मारिएका हुन् । एघार जना कुन पक्षबाट मारिए भन्ने खुलेको छैन । द्वन्द्वमा बेपत्ता भएका ३३ जनाको अवस्था अझैसम्म अज्ञात छ । राज्य पक्षले २७ र विद्रोही पक्षले छ जना बेपत्ता बनाएको तथ्याङ्कमा उल्लेख छ । द्वन्द्वका कारण जिल्लामा ५९५ घाइते तथा अपाङ्ग भएको तत्कालीन स्थानीय शान्ति समितिको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये ७७ जनाले मासिक रुपमा जीवन निर्वाह भत्ता लिइरहेका छन् । सोमध्ये विशिष्ट श्रेणी १० र प्रथम श्रेणीका ६७ जना रहेका छन । द्वन्द्वमा यौनहिंसामा पर्नेहरुको नाम गोप्य राखिएको छ । उनीहरुको अवस्था निकै दर्दनाक रहेको महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष तीर्था आचार्यले बताए । पारिवारिक र सामजिक दृष्टिकोणबाट अपहेलित उनीहरुलाई राज्यले समेत उचित संरक्षण गर्न नसकेको उनको भनाइ छ । स्थानीय तहको यो कदमले उनीहरुलाई ठूलो राहत पुग्ने आचार्य बताउँछन् । जिल्लाका केही स्थानीय तहले द्वन्द्वपीडितका लागि थालेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सकारात्मक रहेको द्वन्द्वका क्रममा श्रीमान् गुमाएकी रोल्पा–१० निवासी धनमाया पुनले प्रतिक्रिया दिइन् । रासस

नेशनल लाईफ इन्स्योरेन्सले ५ दिनमै दियो मृत्यु दावी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै स्वर्गीय सूकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । गुरुङ्गको गत २०२१ मे २८ मा कोरोनाको कारणबाट मृत्यु भएको हो । स्वर्गीय सूकुना गुरुङ्गले सन २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत जीवन बीमालेख खरिद गरेकी थिइन् । यससँगै, इन्स्योरेन्सका वित्त विभाग प्रमुख प्रज्जवल सायमीले स्वर्गीय गुरुङ्गको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै, उक्त दावी आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्र नै दावी फर्छ्र्यौट गरिएको दावी विभागका प्रमुख नबिन श्रेष्ठले जानकारी गराए ।