कोरोना कोषमा सहयोग गरेको रकम अनुमोदन गर्न जनरल इन्स्योरेन्सले बोलायो एजीएम

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी बैशाख २६ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा बोलाएको हो । सभामा कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक महिलासहित २ सञ्चालकलाई नियुक्त गर्ने प्रस्ताव रहेको छ । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी बैशाख १० गतेदेखि बैशाख २६ गतेसम्म बुक क्लोज हुने भएको छ ।

ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रम शुरु, प्रतिपरिवार साढे ३ हजार रुपैयाँ तिर्नुपर्ने

फुङ्लिङ । ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश नं १ संयोजक दुर्गाप्रसाद आचार्यले बताए । ताप्लेजुङसहित दोलाखा, बारा, सर्लाही, मनाङ र मुस्ताङ जिल्लामा एकैपटक कार्यक्रम सञ्चालन भएको आचार्यले बताए । उनका अनुसार बोर्ड स्थापना भएको पाँच वर्षमा ७५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुर्याउन सफल भएको छ । ताप्लेजुङका नौ स्थानीय तहको प्रत्येक वडामा एक जना दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने आचार्यले बताए । ताप्लेजुङमा नौ स्थानीय तह र ६१ वडा छन् । प्रत्येक वडामा एक दर्ता सहयोगी छनोट गरिएर ६१ दर्ता सहयोगीको बिहीबारदेखि सदमुकाम फुङ्लिङमा तीनदिने अभिमुखीकरण तालिम सञ्चालन हुँदै गरेको उनले जानकारी दिए । उनका अनुसार आगामी आइतबारदेखि दर्ता सहयोगीले ताप्लेजुङको सबै वडा गएर स्वास्थ्य बीमाको महत्व बुझाउँदै बीमा दर्ता कार्यक्रमलाई अगाडि बढाउने छन् । सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका र ताप्लेजुङ जिल्ला अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागीहरुको स्वास्थ्य सेवा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख राजकुमार पोखरेलले बताए । आकस्मिक उपचारका लागि बोर्डसँग सम्झौता गरेको जुनसुकै अस्पतालमा उपचार सेवा पाउने पोखरेले बताए । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनका लागि स्वास्थ्य बीमा गर्दा पाँच जनासम्म सदस्य भएका परिवारले प्रतिपरिवार वार्षिक तीन हजार ५०० रुपैयाँ तिर्नुपर्ने र पाँचभन्दा बढी सदस्य भएमा तीन हजार ५०० रुपैयाँ बाहेक प्रतिसदस्य थप रु ७०० रकम लाग्ने पोखरेलले बताए । अतिविपन्न परिवार, महिला स्वास्थ्य स्वयंसेविका, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोग लागेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको हकमा भने निःशुल्क तथा ५० प्रतिशतसम्म कम शुल्क लाग्ने व्यवस्था रहेको पोखरेलले बताए । स्वास्थ्य बीमा कार्यक्रममा एक लाख २७ हजार ४६१ ताप्लेजुङका नागरिक प्रत्यक्ष लाभान्वित हुने जिल्ला स्वास्थ्य कायालयले अपेक्षा लिएको छ । रासस

जीवन बीमा कम्पनीले गैरकानुनी रुपमा एजेन्टलाई दिए ८ अर्ब ७१ करोड ऋण

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानुनी रुपमा बीमा अभिकर्ता (एजेन्ट) लाई ८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ऋण दिएका पाइएको छ । बीमा कम्पनीहरुले एजेन्टलाई ऋण दिन नपाउने कानुनी व्यवस्था भएपनि आफूहरुको व्यवसाय बढ्ने आशमा कम्पनीहरुले ऋण दिएका हुन् । अहिले संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले कुल ८ अर्ब ७१ करोड ५० लाख २ हजार रूपैयाँ एजेन्टलाई ऋण दिएका छन् । यसरी ऋण दिनेमा नयाँदेखि पुराना र स्थापित कम्पनीहरु पनि छन् । केही कम्पनीहरुले कपाली तमसुक गरेका भरमा एजेन्टलाई ऋण दिएका छन् भने केही कम्पनीले एजेन्टले आगामी दिनमा ल्याउने बिजनेसको अनुमान गरेर आउन सक्ने कमिसनको आधारमा ऋण दिने गरेका स्रोतको भनाई छ । सम्बन्धित बीमा कम्पनी स्रोतहरुले दिएको जानकारी अनुसार एलआइसी नेपालले सबैभन्दा बढी ऋण प्रवाह गरेको छ । सो कम्पनीले एजेन्टलाई ५ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ ऋण दिएको छ । कुन कम्पनीले कति दिएका छन् ऋण ? नेपाल लाइफ: १ अर्ब ८३ करोड ३७ लाख १९ हजार नेशनल लाइफ: ४१ करोड ६९ लाख ५७ हजार गुराँस लाइफ: ३ करोड ११ लाख ४८ हजार एलआईसी नेपाल: ५ अर्ब ४१ करोड ६८ लाख ७२ हजार सन नेपाल लाइफ: ३ करोड २५ लाख ९९ हजार ज्योति लाइफ: ३ करोड ३१ लाख ३९ हजार युनियन लाइफ: २३ करोड ३ लाख ३६ हजार प्राइम लाइफ: १० करोड ६४ लाख ६५ हजार सानिमा लाइफ: ५८ लाख ८२ हजार रिलायन्स लाइफ: ६ करोड ७ लाख ६४ हजार सूर्या लाइफ: १६ करोड ३ लाख ४२ हजार एसियन लाइफ: १० करोड ३५ लाख ९ हजार मेट लाइफ: ३ करोड ३८ लाख ५७ हजार सिटिजन लाइफ: ६ करोड २६ लाख ६३ हजार महालक्ष्मी लाइफ: ६ करोड १५ लाख ४१ हजार आइएमई लाइफ: ६ करोड ६० लाख ८ हजार प्रभु लाइफ: १ करोड १९ लाख ७४ हजार रिलायवल लाइफ: ४ करोड ७२ लाख ३४ हजार