एशियन लाईफ १४ औं वर्षमा, साढे पाँच लाख बीमा लेख जारी गर्दा २९ अर्ब प्रिमियम संकलन

काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका तेह्राैं वर्ष पूरा गरी चौधौंं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले कुल ५ लाख ६८ हजार बीमालेख बिक्री गरी रु.२८ अर्व ८६ करोड प्रिमियम संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष रु.२५ अर्ब ५० करोड र कूल लगानी रु.२६ अर्ब १९ करोड रहेको छ । कम्पनीले १४६ शाखा मार्फत बीमा सेवा सञ्चालन गर्दै अाएकाे छ । हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २३ वटा जीवन बीमा योजनाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ ऐच्छिक सुविधा समेत प्रचलनमा ल्याएको छ । कम्पनीको उपलब्धी हासिल गर्नमा समस्त ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभावहरु, पत्रकार, शुभेच्छुक तथा नियामक निकायहरु बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीप्रति दर्शाएको विश्वास तथा सद्भावप्रति कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले आभार व्यक्ति गर्दै कम्पनीको सेवालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छन् । चौधौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना थालेको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित पुनर्वल सेवा नामक सामाजिक संस्थालाई १ थान वाटर प्युरिफायर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । साथै प्रदेश स्तरमा नै सामाजिक उत्तरदायीत्व अन्तर्गत समेट्ने गरी देशैभरको ४० वटा शाखा कार्यालयमा सामाजिक उत्तरदायीत्वको कार्यक्रम संचालन गरिएको छ ।

आईएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर दिने

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले ३९ लाख ८६ हजार रुपैयाँ नगद लाभांश पनि वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयर वितरण गरेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले आगामी साधारणसभामा लैजादैछ । कम्पनीले २३ औं वार्षिक साधारणसभा बैशाख १० गते केन्द्रीय कार्यालय नक्सालमा बोलाएको छ । साथै, कम्पनीले ९ प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने छ । कम्पनीमा हाल ६० प्रतिशत प्रमोटर सेयर रहेकोमा ९ प्रतिशत पब्लिकमा परिणत गरी ५१ प्रतिशत प्रमोटर सेयर बनाउन लागिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर पुँजी एक अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँ छ । बोनस सेयर निष्काशन गर्दा १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ हुनेछ । त्यसपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ हुनेछ ।

अब फेरि काेराेना बीमा नहुने प्रधानमन्त्री ओलीको उद्घाेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना बीमा नहुने नहुने संकेत गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न आयोजित कार्यक्रममा उनले काेराेना बीमा गर्न आवश्यक नभएकाे धारणा राखेका हुन् । उनले सरकारले कोरोना भाइरस संक्रमितकाे पीसीआर परीक्षण र उपचार निःशुल्क गरेको बताउँदै उनले त्यसमा कोरोना बीमा गर्न आवश्यक नभएको तर्क गरे । ‘हामीले कोरोना भाइरसको परीक्षण र उपचार नि:शुल्क गर्यौं, त्यसैमा कोरोना बीमा पनि ल्याऔं, परीक्षण र उपचार निःशुल्क हुन्छ भने कोरोना बीमा किन आवश्यक,’ उनले प्रश्न गरे । उनले अब यसबारे पुनर्विचार गर्नु पर्ने धारणा राखे । विभिन्न बीमा कम्पनीहरुले एक वर्ष समायाविधको लागि मात्रै कोरोना बीमा पोलिसी ल्याएका थिए । त्यसको अवधि चैत मसान्तसम्म मात्रै छ । धेरैले पुनः कोरोना बीमा सुरु हुन्छ कि भन्ने अनुमान गरेका थिए । तर, प्रधानमन्त्री ओलीले भने यस्तो तर्क दिएका हुन् । बीमा समितिले गत वर्ष बैशाखदेखि कोरोना भाइरस सम्बन्धी बीमालेख जारी गरेको थियो । कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमालेख जारी गरिएको थियो ।