बोनसपछि प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७७१ रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता ८३३ रुपैयाँमा भएको थियो ।
निषेधाज्ञामा एक तिहाई कर्मचारीबाट सेवा दिन बीमा समितिको निर्देशन
काठमाडाैं । बीमा समितिले निषेधाज्ञाकाे समयमा एक तिहाइ कर्मचारीहरुबाट सेवा दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएकाे छ । समितिले बिहिबार एक विज्ञप्ती जारी गर्दै आवश्यक बीमा सेवा प्रवाह गर्न एक तिहाई कर्मचारीहरुबाट आलो पालोमा सेवा दिन जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । यस्तै, समितिले निषेधाज्ञा अवधिभर अनलाइनमार्फत बीमालेख जारी गर्न तथा अनलाईनबाट नविकरण गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । यस्ताे छ समितिले कम्पनीलाई दिएकाे ७ बुँदे निर्देशन बीमकहरुले आवश्यक बीमा सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये एक तिहाई कर्मचारीहरुद्वारा आलो पालोमा सेवा संचालन गर्ने र यसरी पालोमा कार्य गराउदा कार्यालय प्रमुखले कोभिड काज जनाउनु पर्ने छ । त्यस्तै, सम्बन्धित सबै कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा लिई हिड्ने व्यवस्था मिलाउनु पर्ने छ । निषेधाज्ञाको अवधि भरी विद्युतीय माध्यमबाट बीमालेख जारी तथा नविकरण गर्नु पर्ने छ । निर्जीवन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि समाप्त भए पछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गुर्नुपर्ने छ । बीमालेख अनलाइन विधिबाट जारी गर्न सकिने र त्यसरी जारी गर्दा अनिवार्य रुपमा बीमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिका साथै बीमकको अन्डरराइटिङ्ग म्यान्युअलको अधिनमा रहि गर्नु पर्ने छ । बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङ्कन गरी बीमालेख जारी गर्न सकिने, बीमालेखको प्रस्ताव फारम भर्दा ग्राहक पहिचान फारम, फोटो लगायत अन्य जानकारी समेत लिने व्यवस्था गर्नु पर्ने छ । बीमालेख अन्तर्गतको बीमाशुल्क विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको माेबाइल तथा इबैंकिङ्ग तथा अनलाइन सेवा प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिने छ । बीमालेख जारी गर्दा टिकट वापतको शुल्क समेत लिने र टिकट टास्ने ब्यवस्था बीमा कम्पनीले गर्नु पर्ने छ । साथै, बीमालेखमा ‘This is electronically generated policy, hence, bears no signature and the duly stamped original policy will be provided after the lockdown period’ भन्ने वाक्याशं सहित ईमेल मार्फत बीमालेखको सफ्ट कपी पठाउनु पर्ने छ । निषेधाज्ञाको अवधि समाप्त भएपछि टिकट सहितको सक्कल बीमालेख र रसिद बीमितलाई उपलब्ध गराउने व्यवस्था मिलाउन समितिले कम्पनीलाई निर्देशन दिएको छ ।
बीमा समितिको नयाँ व्याख्या अनुसार यी हुन् नयाँ पुनर्बीमा खोल्न अयोग्य लगानीकर्ता
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले थप एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स खुल्ला गरेको छ । समितिले बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित गरी एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स दिने जानकारी गराएको हो । समितिले सार्वजनिक गरेको सुचनामा अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानी गरेका व्यक्ति, कम्पनी, संस्था वा निकाय नयाँ पुनर्बीमा कम्पनीको सेयरधनी हुन नहुने भनिएको छ । समितिले गरेको यो व्यवस्था अनुसार पुनर्बीमा कम्पनीका लगानीकर्ता नयाँ कम्पनी खोल्नको लागि अयोग्य भएका छन् । समितिको यो व्यवस्था अनुसार नयाँ पुनर्बीमा कम्पनीमा सरकारले पनि लगानी गर्न नपाउने भएको छ । अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४३.५५ प्रतिशत सेयर लगानी छ । समितिले क्रस होल्डिङ हुन नहुने भनेपछि सरकार तथा सरकारको लगानी भएका संस्थाहरु नागरिक लगानी कोष, कर्मचारी संचयकोष जस्ता संस्थाहरुले नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न पाउने कि नपाउने भन्ने प्रश्न खडा भएको छ । १७ निर्जीवन बीमा कम्पनी अयोग्य अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा १७ वटा निर्जीवन बीमा कम्पनीहरुले सेयर लगानी गरेका छन् । यी कम्पनीहरु समितिले अहिले सार्वजनिक गरेको सुचना अनुसार नयाँ पुनर्बीमा कम्पनी खोल्नको लागि अयोग्य भएका छन् । यसरी अयोग्य भएका निर्जीवन बीमा व्यवसाय गरिरहेका कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, नेको, प्रेडेन्सियल, युनाइटेड, प्रिमियर, लुम्बिनी, नेपाल इन्स्यारेसन्स, हिमालयन जनरल, शिखर, प्रभु, एनएलजी, आईएमई जनरल, ओरेन्टल, सगरमाथा, एभरेष्ट, नेसनल र सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेका छन् । ८ जीवन बीमा कम्पनी पनि अयोग्य निर्जीवन बीमा व्यवसाय गर्ने मात्र होइन, जीवन बीमा व्यवसाय गरिरहेका ८ वटा कम्पनी पनि नयाँ पुनर्बीमा कम्पनी खोल्नको लागि अयोग्य भएका छन् । यी कम्पनीहरुमा सूर्या लाइफ, नेपाल लाइफ, लाइफ इन्स्यारेन्स कम्पनी, नेसनल लाइफ, गुराँस लाइफ, एसियन लाइफ, प्राइम लाइफ र राष्ट्रिय बीमा संस्थान हुन् । यी कम्पनी पनि अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानी गरेका छन् । अरु यी कम्पनी पनि अयोग्य समितिको अहिलेको मापदण्ड अनुसार नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीहरु गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल, आईएमई, विशाल ग्रुप र ज्ञान सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट पनि नयाँ पुनर्बीमा कम्पनीको सेयरमा लगानी गर्न अयोग्य भएका छन् । नेपाल पुनर्बीमामा कसरी जोडिएका थिए अधिकांश बीमा कम्पनीहरु ? अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको गर्भाधान तत्कालिन माओवादीको ससस्त्र द्वन्दको समयमा नै भएको थियो । सो समयमा राज्य र विद्रोही पक्षको ससस्त्र द्वन्दमा परी भएको धनजनको क्षतिको रक्षावरणको लागि विश्वका कुनै पनि पुनर्बीमा कम्पनी तयार भएनन् । आन्तरिक द्वन्द, गृहयुद्ध तथा आतंकवादी क्रियाकलापबाट हुने क्षतिको रक्षावरण बीमाले नगर्ने सिद्धान्त अनुसार यसरी बीमा हुन सकेको थिएन । सोही समस्या साधान गर्न सरकारले निश्चित रकम लगानी गरेर बीमा पुल स्थापना गरेको थियो, जसमा सो समय संचालनमा रहेको सबै निर्जीवन बीमा कम्पनीहरुले निश्चित रकम लगानी गरेका थिए भने उनीहरुले गराएको बीमा शुल्क पनि सोही पुलमा जम्मा गरेका थिए । पछि सोही पुललाई नेपाल पुनर्बीमा कम्पनी बनाइयो र पुलमा लगानी गर्नहरुलाई पुनर्बीमा कम्पनीको संस्थापक सेयरधनी बनाइयो । बीमा कम्पनीहरु यसरी नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरधनी बनेका थिए ।