आईएमई जनरल इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ७५.६३ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । खुद नाफासँगै कम्पनीको खुद बीमाशुल्क पनि बढेर ५१ करोड ८२ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४२.८९ प्रतिशतले बढी हो । कम्पनीले गत आवको चैत मसान्तसम्म ३६ करोड २७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । एक अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँबाट बढेर २३.२४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१.३६ रुपैयाँबाट बढेर १६९.८७ रुपैयाँ पुगेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ५४.०९ गुणा बढी रहेको छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ३ हजार ८६७ वटा दाबी वापत ६० करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८ प्रतिशतको वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३८ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब २६ करोड रुपैयाँ रहेकोमा यस चैत्र मसान्तमा सो रकम ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यसका साथै कम्पनीले गत वर्षको चैत्र मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्ब १८ करोड रुपैयाँ गरेकोमा यस वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । जुन गत आवको तुलनामा ११० प्रतिशतले बढी हो । समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाख रुपैयाँ पुर्याएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड २ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले यस चैत्र मसान्तसम्ममा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ५ अर्ब ४० करोड रुपैयाँमध्ये करिब ७५.२८ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ । हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम संचालन गरेको छ । यस कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने गरि थप व्यवस्था समेत गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको बैशाख २४ गते अपरान्ह साढे २ बजे बसेको संचालक समितिको ४२औं बैठकको सभा स्थगित गर्ने निर्णय गरेको हो । बैठकका अनुसार हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको हो । यससँगै कम्पनीले अर्को सूचना जारी नभए सम्मको लागि सभा स्थगित गरेको जानकारी गराएको छ । कम्पनीले आगामी बैशाख २६ गतेका दिन साधारण सभा आह्वान गरेको थियो । बार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ ।