नेपाल लाइफको २१ वर्षे यात्राः एक तिहाई बजार हिस्सा ओगट्न सफल, हरेक सूचांकमा अब्बल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनी आजबाट २१औं स्थानमा प्रवेश गरेको हो । यो अवधिमा देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीकाे दावी छ । ‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंतीमा रही निरन्तर सेवामा लागिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं’, कम्पनीले जनाएको छ । २१औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म पुर्याउनमा निरन्तर सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिएका छन् । नेपाल लाइफले समयसापेक्ष प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई-सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी १११ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ । कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ करोड रुपैयाँ, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९ अर्ब ७७ करोड रुपैयाँ तथा सर्वाधिक मृत्युदावी ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढि भुक्तानी गरिसकेको छ । कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् ।

पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः पाण्डे र अर्याल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका दुई सञ्चालक पाण्डे र अर्यालको पदावधि यहि बैशाख २१ गतेदेखि समाप्त हुँदै थियो । यससँगै बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले दुई सञ्चालकलाई पुन नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णयलाई कम्पनीको अगामी वार्षिक साधारणसभाले अनुमाेदन गर्ने छ । कम्पनीका सञ्चालक पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् । त्यस्तै, सञ्चालक डा. अर्याल राष्ट्रिय बीमा कम्पनीका सीईओ हुन् ।

बैंक, बीमा र वित्तीय संस्थाको शाखामा प्रशासनले अनुगमन गर्ने, बढी कर्मचारी बोलाए कारबाही गर्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरुले निषेधाज्ञाको समयमा एक चौथाई भन्दा बढी कर्मचारी बोलाएर काम लगाउन नपाउने बताएको छ । निजामति कर्मचारी, संस्थान, समिति तथा कार्यायहरुको हकमा मुख्यसचिव सहित सचिवहरु बसेर एक चौथाई कर्मचारीबाट मात्रै अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने निर्णय गरेको छ । यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी जस्ता निजी क्षेत्रबाट प्रवाह हुने अत्यावश्यक सेवा संचालनको लागि पनि एक चौथाई कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्न सम्बन्धित नियामक (नेपाल राष्ट्र बैंक र बीमा समिति) ले निर्देशन दिइसकेका छन् । अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय तथा निकायको हकमा सम्बन्धित माथिल्लो निकाय तथा निजी क्षेत्रबाट प्रवाह हुने अत्यावश्यक सेवाको हकमा सम्बन्धित नियामक निकायले गरेको निर्देशनको पालना भए नभएको अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई र बीमा समितिले बीमा कम्पनीहरुलाई एक चौथाई कर्मचारीबाट सेवा संचालन गर्न निर्देशन दिइसकेका छन्, अन्य क्षेत्रको लागि पनि सम्बन्धित माथिल्लो निकाय वा नियामक निकायले यस्तै निर्देशन दिइसकेका छन्, यस्तो निर्देशनको पालना कडाईका साथ भए नभएको अनुगमन गर्दैछौं, बढी कर्मचारी बोलाएर काममा लगाइएको पाइए कानुन अनुसार कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । यस्तै, उनले अबदेखि खाद्यान्न लगायतका पसल बेलुका खोल्न नपाउने निर्णय भएको पनि बताए । बेलुका पनि पसल खोल्न दिइएको कारण संक्रमण नियन्त्रण गर्न कठिन भएको निष्कर्ष जिल्ला कोभिड नियन्त्रण समन्वय समिति (डीसीएमसी) ले निकालेको उनको भनाई छ । ‘बेलुका पसल खोल्न दिन उपयुक्त छैन भन्ने निर्णय डीसीएमसीले गरेको छ, अब भोलि हामी काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्छौं र सो निर्णय कार्यान्वयन गराउन लाग्छौं,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।