धमाधम निष्काशन हुँदै आईपीओ, इमर्जिङ्ग नेपालले पनि २६ गतेदेखि जारी गर्ने
काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी माघ २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । र, बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई जारी गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले माघ २६ गतेदेखि छिटोमा फागुन १ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । उनीहरुले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । उक्त आईपीओ जारी गर्न इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको बुझाउँछ । हाल ५० करोड ४० हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओपश्चात ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।
हाथवेले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बेच्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको २ लाख ९ हजार ८०९ कित्ता सेयर बिक्री गर्न लागेको हो । जसको लागि नियामक निकाय बीमा समितिको समेत स्वीकृति पाएको छ । समितिले माघ १६ गते मात्रै कम्पनीलाई सो मात्राको सेयर बिक्री गर्न स्वीकृति दिएको हो । यससँगै, कम्पनीले तीन महिनाभित्रमा सो मात्राको सेयर बिक्री गर्ने छ ।
समितिले एकैपटक ११ कम्पनीलाई गर्यो कारवाही, अधिकांश जीवन बीमा कम्पनी
काठमाडौं । बीमा समितिले एकैपटक ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने जीवन र निर्जीवन बीमा कम्पनी गरी कूल ११ वटालाई नगद जरिवानासहित कारवाही गरेको हो । कारवाही पर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमा निर्जीवन बीमातर्फका तीन कम्पनी (दि ओरियन्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी) रहेका छन् भने जीवन बीमातर्फका ८ वटा कम्पनी (राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, गुराँस लाइफ, आईएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी) रहेका छन् । यी ११ वटा कम्पनीलाई प्रतिकम्पनी १० हजार रुपैयाँको दरले एक लाख १० हजार रुपैयाँ बराबरको नगद जरीवाना गरेको हो । समितिका अनुसार बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने यी कम्पनीलाई कारवाही गरिएको हो । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ । जुन यी कम्पनीले जानी-जानी उल्लङ्घन गरेकाले पाइएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम सो रकम बराबरको जरिवाना गरिएको समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले जनाएका छन् । सम्बन्धित समाग्रीः कम्पनीहरु प्रति आक्रामक बन्दै बीमा समिति