यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना, बीमाङ्क दुई गुणा पाइने
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ । कम्पनीको अनुसार यस योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैयाँदेखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने छन् । साथै न्युनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधा समेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए । यस बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कर्णले बताए ।
मेटलाइफ फर्चयुन म्यागजिनको विश्वको उत्कृष्ट बीमा कम्पनीहरुको सूचिमा
काठमाडौं । मेटलाइफ फर्चयुन म्यागजिनको २०२२ को सबैभन्दा प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा परेको छ । कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । मेटलाइफको अनुसार प्रशंसनीय मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो । बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फर्चयुनले कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य गरेको थियो । यसमा बीमा कम्पनीको लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारणहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग मिलेर फर्चुनले सर्वेक्षण गरेको थियो । मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरु मध्ये एक भएकोमा खुशी लागेको बताए । मेटलाइफका कर्मचारीहरुले कम्पनीको उद्देश्यलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई गरिएको वाचा पूर्ति गर्न र आफ्ना समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउन सँधै अग्रसर रहेकाले फर्चयुनले प्रदान गरेको यो मान्यता आफ्नै कर्मचारीहरुको मान्यता भएको सीइओ खलाफले बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सको एप अब थप सुविधासहित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड गरी ल्याएको छ । इन्स्योरेन्सको अनुसार उक्त एप मार्फत ग्राहकले कम्पनीको विस्तृत विवरण, सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिहरुको जानकारी पनि लिन सकिने छ । यसका साथै ग्राहकले यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधि अनुसार आफै निकाल्न सक्नेछन् । सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न ईच्छुकहरुले पनि यस एपबाट आवेदन दिन सकिनेछ । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि यस एपमा इसेवा, फोनपे, कनेक्ट आइपिएस लगायतका डिजिटल बैकिङ्ग सुविधा मार्फत अनलाईन भुक्तानीको व्यवस्था समेत मिलाएको छ । एपमा लग ईन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन् । यसका साथै अभिकर्ताले पनि यस एपमा लग ईन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पुर्ण कारोबारको जानकारी र ग्रहकहरुको जानकारी पनि प्राप्त गर्न सक्नेछन् ।