कोरोना चिट्ठाले सिर्जना गरेको ९ अर्बको दायित्व र समाधानको उपाय
हर्कबहादुरले दिनभर महाबौद्धमा भारी बोके, महाबौद्धबाट इन्द्रचोकतिर भारी बोकर लैजाने क्रममा रञ्जना गल्लीको हिलोमा चिप्लेर लड्दा उनको मोबाइल फुट्यो । साहुहरुको काम लिनको लागि प्रयोग हुंदै आएको मोबाईल नहुंदा उनको हातै भांचिएजस्तो भयो । साहुको भारी इन्द्रचोकमा बुझाएर आएपछि उनले पशुपति प्लाजामा २,८२५ रुपैयांको मोबाइल किने । त्यो रकम मध्ये ३२५ रुपैयां मूल्य अभिबृद्धि कर थियो । त्यस्तै बिमर्श अधिकारी एउटा बैंकमा काम गर्छन् । बिहानै ८ बजे बैंकमा पुग्छन् र राति कतिखेर फर्कने हो, टुंगो छैन । बैंकले उनलाई दिने तलबबाट महिनामा १३ हजार रुपैयाँ आयकर कट्टा गर्छ । यसरी १ प्याकेट चाउचाउदेखि रेष्टुरेन्टमा खाने खाजामा समेत करकट्टा गरी अरबौं रकम राजश्वमा जम्मा गरिएको हुन्छ । सन्दर्भ, अहिलेको कोरोना बीमा रकमको हो । अहिले सुनिए अनुसार ९ अर्बभन्दा बढि यसको बक्यौता बाँकी छ । शुरुमा कोरोना संक्रमण भएर रिपोर्ट पोजेटिभ आउनेहरुले १ लाखको चिट्ठा सजिलै पाए । कतिपयका परिवारका सबै सदस्य संक्रमित भए । कोरोना चिट्ठाबाट पाएको पैसाले कतिले छोरीको बिहे गर्दा लागेको ऋण तिरे, कतिले गहनागुरिया जोडे, कतिले घरको तलो थपे, कतिले शेयरमा लगानी गरे । यस्तोसम्म भयो, आफ्नो रिपोर्ट पोजेटिभ नआएको पीरमा कतिलाई मुख देखाउन लाज भयो, मानौं उ लोकसेवा आयोगको लिखित परीक्षामा नाम निस्कन नसक्ने असफल परीक्षार्थी हो । पोजेटिभ आउनेका मुख उज्याला भए, नाक फुलाउंदै कुस्त रकम लिए, नजिकैको छिमेकी चाहिं हप्तैपच्छिे उसको जस्तै पोजेटिभ पाउँछु कि भन्दै ट्रायल टेष्टमा जाँदा जाँदा १५÷२० हजार उल्टो चुना लाग्यो, तै पनि पोजेटिभ आएन । कोरोना पोजेटिभ आउनुलाई इज्यत, जीत भएको र नआउनुलाई हार, लाखौंको आर्थिक क्षति वा गुमाउनुको रुपमा लिइयो । कोरोना पोजेटिभ आउनेहरुमध्ये केहि २÷४ दिन तातोपानी खाए, प्रधानमन्त्री ओलीको उपदेश मान्दै बेसार पानी खाए, हाछ्युं गरे, ठिक भए र तुरुन्तै बीमा कम्पनीको अफिसमा गएर पैसा लिएर आए । यसरी महामारीको बीमा गर्ने बीमा समितिको ऐतिहासिक कदमले समाजमा हलचल ल्यायो र यो चिट्ठा सञ्चालन गर्नेहरुले “बीमाप्रति पर्याप्त सचेतना’’ ल्याएको गजबको विश्लेषण पस्के । जब संक्रमित बढ्दै गए, कुबेरको धन रित्तिन थाल्यो । कुनै मार्केटिङ्ग नै नगरी बसीबसी चिट्ठा किन्न आउनेको ताँति देखेर शुरुमा हौसिएका बीमा कम्पनीका हाकिमहरुका दिमाग फनफनी घुम्न थाल्यो । अब बीमा पनि गदैनौं, तिर्दा पनि तिर्दैनौं भनेर बीमा समितिमा धर्ना कसे । केहि दिन पोलिसी बेच्न रोके । चिट्ठा, वृद्धभत्ता बाँडेर भोट बटुल्ने र समाजबाद ल्याउने सपना बाँढेको सरकार र यसको पिएचडी अर्थमन्त्री युवराज खतिवडाले १ अर्ब बीमा कम्पनीको, १ अर्ब पुनर्बीमा कम्पनीको, १ अर्ब बीमा समितिको र ५० करोड बीमा कम्पनीले कनिकुथी गरी जम्मा गरेको कोषबाट दिने आइडिया सुझाए र इन्सुरेन्सका हाकिमहरुले फेरी खुसीले १० हात उफ्रदै धमाधम चिट्ठा बेच्न थाले । एउटा समूह कोरोना नामको भाग्यशाली चिट्ठा प्राप्त गरेर लखपति भए । जब साँढे ३ अर्बमाथि चिट्ठाले सिलिङ्ग कट्यो र पछि चिट्ठा पर्नेहरुको पुरस्कार रोकियो र उनीहरु मर्कामा परे । अहिलेको समस्याको मुल जड यहि हो । यहि चिट्ठा पीडितहरुको लर्कोले अहिले त्यहि हर्कबहादुर भरियाले दिनभरी भारी बोकर कमाएको पैसाबाट मोबाइल किन्दा तिरेको ३२५ रुपैयाँ र बिमर्श अधिकारीले रातदिन बैंकमा पसीना बगाएर राज्यलाई बुझाएको १३ हजारबाट आफूले पाउनुपर्ने माग गरिरहेको छ । पदीय दुरुपयोग गरी संसारमा कहिं कतै नगरिएको महामारीको बीमा गर्ने, जनताबाट प्रिमियम असुल गर्ने, कोरोना पोजेटिभ आएको र त्यसको उपचारमा १ पैसो खर्च नगरेको र उपचार नै गरेको भएपनि राज्यबाट निःशुल्क उपचार गरिएको अबस्थामा एउटा पोजेटिभ चिर्कटो देखाएको भरमा १ लाख नगद पाउने जुन खालको चिट्ठा बेच्ने काम भयो र यसको दायित्व राज्यले समेत लिने जस्तो गैरजिम्मेवारपूर्ण जुन काम भयो, त्यसको हिसाव किताब हुनुपर्छ कि पर्दैन ? कोरोना पोजेटिभ आएको व्यक्ति अस्पतलमा भर्ना भई उसको भएको खर्च, बिलभर्पाई हेरेर उसको खर्चको सोधभर्ना हुने गरी बीमा जोखिम बहन गर्न सकिने भएपनि कोरोना पोजेटिभलाई आर्थिक लाभ र चिट्ठामा परिणत गरी जनतालाई बाड्नु, त्यो चिट्ठा पनि केहिले पूरै परिवार सहित पाएर सम्पत्ती जोड्नु र केहि बिलाप गरी बस्ने वातावरण बनाउने ती मन्त्री, बीमा समितिका मान्छेहरु, बीमा कम्पनीका सीईयोहरुले यसको दायित्व लिनु पर्छ कि पर्दैन ? अवश्य पर्छ । नेपाल जस्तो देश, बिदेशीले माया गरी स्थापना गरिदिएका कागज कारखाना, छालाजुत्ता कारखाना, चुरोट कारखाना, सिमेन्ट, कपडा कारखाना, रबर उद्योगहरु बन्द गरेर देशलाई सियो उत्पादन नगर्ने र कृषि प्रधान देश भन्दै भातढिँडो समेत बिदेशबाट आयात गरी खानुपर्ने अबस्थामा पु¥याइएको छ, यो अबस्थामा देशले जनताबाट करबाट असुल गरेको पैसा केहि भाग्यमानीहरुलाई चिट्ठा बाँडेर बस्ने छुट छ ? हुनत, नेताहरुको किड्नी फेर्न, मुत्रनली सफा गर्न करोडौं रकम लिने नेताहरु भएको र उनीहरुले नै ठूला कुरा गर्दै अन्धभक्त कार्यकर्ताहरुको ताली खाईरहेको ठाउँमा यो नैतिकता एउटा निरर्थक बहस हुनसक्छ । तर नीति निर्माण तहमा बसेर गैरजिम्मेवारपूर्ण र संसारमै नभएका बिचित्रका महामारीका पोलिसीहरु बेच्न निर्देशन दिने, बेच्ने र त्यसको दायित्व वहन गर्ने वा उत्पन्न भएको दायित्व वहन नगर्ने छुट कसैलाई छैन । उनीहरुको पद जोगाउने चाहना, मनोगत इच्छा, महत्वकांक्षा, लोकप्रिय हुने अभिलाषा, सनकको भरमा यो गरीव राज्यले ९ अर्ब चिट्ठाको रकम बाँड्ने हैसियत र अधिकार छ ? छैन भने, यो नीति ल्याउने तत्कालिन मन्त्री, कर्मचारी, नियामक निकाय, बीमा कम्पनीका प्रमुख लगायतले कुनै दायित्व लिनु नपर्ने ? उनीहरु चोखो बनेर अहिले पाखामा बसेर रोइकराई गर्न मिल्छ ? अब केहि नगर्ने र यसलाई यसरी गिजोलेर बस्ने हो भने भिन्नै कुरा । यसको समाधानको उपाय खोजी गर्न पनि जरुरी छ । यसको समाधानको उपाय पनि छ, पहिलो कोरोना पोजेटिभ भएर मृत्यु भएकाका हकवालाहरुलाई १ लाख दिने र पोजेटिभ भएर पनि केहि नभएकाहरुलाई पछिल्लो पोलिसी अनुसारको बाँकी सबैलाई २५ हजार उपलव्ध गराउने । यसो गर्दा दायित्व रकम ३ अर्बमा झर्नसक्छ । दोश्रो, यसरी दिइने रकम यो चिट्ठा सञ्चालन गर्न स्वीकृति दिने तत्कालिन अर्थमन्त्री, बीमा समितिका पदाधिकारी र कम्पनीका सीईयोहरुबाट दामासाहीले उठाउने र त्यहि रकमबाट भुक्तानी गर्ने । कसैलाई जिम्मेवार नबनाई जनताले पसीना बगाएर राज्यकोषमा बुझाएको रकम दुरुपयोग गरी केहि भाग्यमानीहरुलाई चिट्ठा बाँडेर मुलुकमा कुनै समाजबाद आउंदैन । कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं
ज्योति लाईफकाे सम्पूर्ण सेवाकाे जानकारी अब च्याटमार्फत
काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ। याेसँगैं अब ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एपबाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ। च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ । यसमा कम्पनीका विभिन्न सेवाहरुमा बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाईन भुक्तानी, डाउनलोड तथा अन्य सेवाहरु उपलब्ध छन् ।
अजोड इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । सोमबारको बजारमा विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन अजोड इन्स्योरेन्स, मनकामना लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । जसमध्ये अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५९.१० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७८.१० रुपैयाँले बढी हो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जसमध्ये मनकामना स्मार्ट लघुवित्तको ६२.४० रुपैयाँले बढेर प्रतिकित्ता ६८७.२० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा लाइफको भने ६०.१० रुपैयाँले बढेर प्रतिकित्ता ६६१.९० रुपैयाँ पुगेको छ । त्यसैगरी, टप गेनरको टप फाइभमा ४ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेका कम्पनी रहेका छन् । यूनाईटेड इदी मार्दी आर बी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य क्रमशः ४.१६ र ४.०७ प्रतिशतले बढेको छ । समग्रमा सोमबारको बजारमा उतारचढाव देखिएको छ । कारोबार खुलेको केही समयसम्म उकालो लागेको बजार त्यसपछि ओरालो लागेर न्युनतम २९४० बिन्दुसम्म झरेको थियो । त्यसपछि बजार बन्द हुनु १० मिनेट अघिदेखि उकालोको बाटो तय गरेको बजार अन्ततः ०.२७ अंकले बढेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशतले बढेर २९४७.७० बिन्दुमा पुगेको छ । त्यस्तै, बजारमा ९ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सोमबारको बजारमा अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । टप लुजरको टप टेनमा सबै हाइड्रो कम्पनी नै रहेका छन् । जसमध्ये कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ६.४७ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ रुपैयाँले घटेर प्रतिकित्ता ६९४ रुपैयाँमा झरेको छ ।