सानिमा बैंकले भुक्तानी गर्यो १० लाख रुपैयाँको दुर्घटना बीमा

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटनाका कारण मुत्यु भएकोले बैंकले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई १० लाख दुर्घटना बीमा रकम दिएको हो । मृतककी श्रीमती कमली पन्त ओझालाई सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा उक्त बीमाको रकम हस्तान्तरण गरेका हुन् । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, १० हजार रुपैयाँ बराबरको ओपिडि सेवा र ५ हजार रुपैयाँसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार मानेर गरिएको हो । यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् ।

खल्तीबाट नेशनल लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

काठमाडाैं । अब माेबाइल भुक्तानी एप खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यसका साथै ग्राहकहरुले बीमा प्रिमियम तिर्दा १० प्रतिशतसम्मकाे क्यासब्याक पनि पाउने भएका छन् । प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक (रू १०० सम्म) पाउनका लागि प्रोमोकोड नेसनल १०० प्रयोग गरी प्राप्त गर्नसक्नेछन् । समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिलाई मध्यनजर गर्दै याे सेवा सुरु गरेकाे नेशनल लाइफ इन्स्योरेन्सले जनाएकाे छ ।