चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुने भएको छ । सङ्घीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिराखेको छ । हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्य चौकीमार्फत नगरवासीलाई निः शुल्क स्वास्थ्य सेवा प्रदान गरिराखेका छ । यी स्वास्थ्य संस्थामा सरकारको मापदण्ड अनुसारका प्रयोगशालाको पनि सुविधा छ । यसका अतिरिक्त बीमा कार्यक्रम कार्यान्वयनले नगरवासीको स्वास्थ्य अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ । चन्द्रागिरि–२ मसिनेमा आयोजित ‘टेलिहेल्थ क्याम्प’को शुभारम्भ गर्दै नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुन लागेको जानकारी दिए । उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुन लागेको छ । विपन्न नागरिकको स्वास्थ्य सुधारमा यसले गुणात्मक फड्को मार्नेछ ।’ चन्द्रागिरि–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लू) एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको उनले जानकारी दिए । उनले भने, ‘नगरवासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरभित्रका सबै स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौँ ।’ नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुसँगका सहकार्यमा कोभिड–१९ को पिसिआर परीक्षणमा नगरवासीलाई सहयोग गरिराखेको छ । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम पनि सञ्चालन गरिराखेको छ । नगरपालिकाको सहयोगमा टेलिउपचार टिम र पहिलो पाइला नेपालद्वारा आयोजित सो टेलिहेल्थ क्याम्पमा ६० भन्दा बढी बिरामीले टेलिउपचार एपमार्फत विशेषज्ञ चिकित्सक तथा २०० भन्दा बढी बिरामीले प्रत्यक्ष रुपमा चिकित्सकसँग स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य शिविरमा हाडजोर्नी तथा आन्तरिक रोग विशेषज्ञ डा दीपेन्द्र शाह, महिला रोग विशेषज्ञ डा आकृति भारती र जनरल फिजिसियन डा लक्ष्मी पन्थीले बिरामीहरुलाई एपमार्फत निःशुल्क परामर्श उपलब्ध गराउनु भएको पहिलो पाइला नेपाल काठमाडौँ शाखाका अध्यक्ष विवेक अर्यालले जानकारी दिए । उनले भने, ‘स्वास्थ्य संस्थामा पहुँच नपुग्ने ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गर्न टेलिहेल्थ क्याम्प प्रभावकारी हुँदै आएको छ ।’ यसैगरी डा आशिषकुमार झा, स्वास्थ्यकर्मी भरत महर्जन, सीता थापा, अमित चौधरीले प्रत्यक्ष सेवा प्रदान गरेका छन् । विशेषज्ञ चिकित्सक र बिरामीबीचको दूरी कम गराउन तथा ग्रामीण भेगमा नै विशेषज्ञ चिकित्सक सेवा विस्तार गर्न टेलिहेल्थ क्याम्प सञ्चालन गरिएको टेली उपचारका संयोजक सुरज गिरीले जानकारी दिए । उनले भने, ‘मोबाइल फोन, ट्याब्लेट तथा ल्यापटपको प्रयोग गरी घर तथा अफिसमा नै बसेर आफ्नो स्वास्थ्य समस्या अनुरुपका चिकित्सकसँग स्वास्थ्य परामर्श टेली उपचार एपमार्फत लिन सकिन्छ ।’ चन्द्रागिरि–२ मसिनेका ६६ वर्षीया सरस्वती तामाङ तथा ६८ वर्षीय माइला तामाङले पायक पर्ने स्थानमा स्वास्थ्य सेवामा लिन पाएकामा औधी खुसी व्यक्त गरे । यसरी प्रदान गरिन्छ टेलिउपचार सेवा टेलिउपचार बिरामीहरुलाई विशेषज्ञ चिकित्सकसँग अनलाइनमार्फत स्वास्थ्य सेवा जाँच गराउने एक आधुनिक प्रविधिका रुपमा स्थापित मोबाइल एप हो । टेलिउपचारमार्फत घर तथा अफिसमा नै बसेर आफ्नो समस्याअनुरुप विशेषज्ञ चिकित्सकसँग मोबाइल, ल्यापटप तथा ट्याब्लेटको प्रयोगमा स्वास्थ्य जाँच गराउन सकिन्छ । यो एपको प्रयोग गरी बिरामीहरुले घरमा नै बसेर स्वास्थ्य समस्या चिकित्सकलाई भन्न सक्दछन् । बिरामीसँगको अनलाइन भिडियो परामर्शपश्चात लक्षणअनुसार चिकित्सकले औषधि तथा आवश्यक सल्लाह प्रदान गर्ने अध्यक्ष अर्यालले बताए । चिकित्सकको सल्लाहले बिरामीले आवश्यकताअनुसार ‘रिपोर्ट’ कार्डका रुपमा राख्न सक्दछन् । बिरामीको सुरक्षित स्वास्थ्य रेकर्ड तथा ‘डिजिटल प्रेसकिप्सन’ एपमा नै राख्न सकिने जनाइएको छ । रासस
नेशनल लाईफ इन्स्योरेन्स ३५ औं वर्षमा, बीमा कोषमा ५० अर्ब
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । नेशनल लाईफले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ । यस कम्पनीले यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा राखेको छ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ भने कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म दिएको सहर्ष जानकारी दिएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ । यस्तै कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सवमा केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम संचालन गर्नुको साथै देशभरमा ३४ वटा वृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम गरेको थियो ।
आईपीओ लिएर बीमा कम्पनीबाट जागिर छोड्दै कर्मचारीहरु
काठमाडौं । नयाँ बीमा कम्पनीहरुबाट जागिर छोड्ने कर्मचारीको संख्या बढ्न लागेको छ । कम्पनीहरुले साधारण सेयर (आईपीओ) जारी गरिसकेपछि जागिर छोड्ने कर्मचारीको संख्या बढेको हो । नयाँ कम्पनीले आईपीओ जारी गर्दा ५ प्रतिशत सेयर कर्मचारीको लागि सुरिक्षत राखिएको हुन्छ । कम्पनीहरुले जारी गर्ने आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुने वित्तिकै मूल्य कम्तिमा पनि ३ गुणाले बढ्ने गरेका कारण सर्वसाधारणमा आईपीओप्रति आकर्षण बढेको छ । यही आकर्षणको कारण कर्मचारीहरु आईपीओ जारी नगरेका कम्पनीमा जाने र सेयर पाइसकेपछि अन्य कम्पनीमा जाने गर्न थालेका हुन् । कम्पनीले आईपीओ जारी गरिसकेपछि केही कर्मचारीले जागिर छोडेको युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार कर्णले बताए । ‘आईपीओ जारी भएपछि कर्मचारीको संख्या घटेको छ, केही कर्मचारीहरुले जागिर छोडेका छन्,’ प्रमुख कार्यकारी अधिकृत कर्णले भने । उचित हो ? केही कम्पनीहरुले आईपीओ पाएपछि निश्चित अवधिसम्म कम्पनीमा काम गर्नै पर्ने अनौपचारिक शर्त पनि राख्ने गरेका पाइएको छ । तर, अहिलेको कानुनी व्यवस्था अनुसार त्यसो गर्न नमिल्ने प्रमुख कार्यकारी अधिकृत कर्ण बताउँछन् । ‘कर्मचारीलाई सेयर दिने भनेको हिजोका दिनमा काम गरेको आधारमा हो, अवका दिनमा काम गर्ने आधारमा होइन, त्यसैले कम्पनीबाट पाइने सुविधा (आईपीओ) पाएपछि जागिर छोडे भनेर नराम्रो सोच्नुपर्ने अवस्था म देख्दिनँ, काम गर्ने व्यक्तिको पनि अधिकारको कुरा हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत कर्णले भने । बीमा समितिका अधिकारीहरु भने आईपीओ पाउने लोभले कर्मचारी अनेक तरिका अपनाएर नयाँ कम्पनीमा जाने र आईपीओ पाइसकेपछि बढी बोनस पाइने पुराना कम्पनीतिर पस्न खोज्ने प्रबृत्ति देखिएको बताउँछन् । ‘कम्पनीले कमाएको नाफाबाट कर्मचारीलाई पनि बोनस दिनुपर्छ, त्यसैले नयाँ कम्पनीमा गएर आईपीओ लिने र बढी बोनस पाउने कम्पनीमा जान फेरि अनेक तरिका अपनाउने प्रबृत्ति बढेको गुनासो कम्पनीहरुले गरेका छन्, यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा कम्पनी र कर्मचारीबीचको हो, हामीले यसै भनेर पठाउने गरेका छौं,’ समितिका एक अधिकारीले भने ।