नेपाल लाइफको १ करोड १५ लाख कित्ता सधारण सेयर थपिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड १५ लाख कित्ता साधारण सेयर थपिने भएको छ । हाल कम्पनीमा २ करोड ८७ लाख कित्ता साधारण सेयर रहेको छ । बोनस सेयर निष्काशन र प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत पछि कम्पनीको साधारण सेयर ४ करोड २ लाख कित्ता हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी करिव ७ अर्ब २० करोड रुपैयाँ छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ हुने भएको छ । बोनस सेयर वितरण पछि कम्पनीले ९ प्रतिशत प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ । हाल कम्पनीमा ६० प्रतिशत प्रवर्द्धक र ४० प्रतिशत साधारण सेयर रहेको छ । फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ । प्रवर्द्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउने प्रस्ताव कम्पनीले वार्षिक साधारणसभामा पेश गर्दैछ । कम्पनीले चैत २१ गते साधारणसभा गर्ने निर्णय पनि गरेको छ । कुनै पनि कम्पनीको साधारण सेयर थपिएपछि बजार मूल्य घट्ने गरेको छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १२०० देखि १३०० को बीचमा कारोबार भैरहेको छ । विगत ५२ हप्तामा यस कम्पनीको अधिकृत मूल्य प्रतिकित्ता ३००० रुपैयाँसम्म पुगेको थियो ।

कोरोना बीमाको दाबी भुक्तानीमा अर्थको अर्काे बहाना, समितिलाई पठायो फेरि पत्र

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीमा सरकारले अर्थ मन्त्रालय फेरि अर्काे बहाना निकालेको छ । सरकारले भुक्तानी गर्ने भनिएको करिब ११ अर्ब रुपैयाँ भुक्तानी नगर्नको लागि मन्त्रालयले अनेक बहानाबाजी गरिरहेको छ । मन्त्रालयले केही दिनअघि मात्रै बीमा समितिलाई अर्काे पत्र पठाएको छ । सो पत्रमा कुन कुन बीमा कम्पनीले कति रकम दाबी भुक्तानी गरेका छन्, त्यसको विवरण दिन समितिलाई भनिएको छ । ‘बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी तिरेका छन् भन्ने जानकारी आएको छ, कुन कुन कम्पनीले कति कति भुक्तानी तिरेका रहेछन् भनेर बीमा समितिसँग विवरण मागेर पत्राचार गरेका छौं,’ अर्थमन्त्रालयका एक अधिकारीले भने । मन्त्रालयले यसअघि पनि विभिन्न समयमा पत्रहरु पठाएको छ । त्यस्ता पत्रहरुमा विभिन्न प्रकारका विवरणहरु माग गर्ने गरिएको छ । मन्त्रालयले गत माघ पहिलो साता समितिमा पत्र पठाउँदै दाबी भुक्तानीको विकल्पहरुमा पुनर्बिचार गर्न भनेको थियो । सोभन्दा अघि समितिले मन्त्रालयलाई ४ विकल्प दिएर भुक्तानी गर्ने सुझाव दिएको थियो । बीमा समितिले गत असोजको दोश्रो सातामा नै दाबी भुक्तानी गर्नको लागि सरकारलाई ४ वटा विकल्प दिएको थियो । समितिले अर्थमन्त्री जनार्दन शर्माको आग्रह अनुसार नै कोरोना बीमाको दाबी बापतको ११ अर्ब रुपैयाँ भुक्तानीको लागि ४ वटा विकल्पसहितको सुझाव पठाएको थियो । जसमा सरकारको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गरेर प्राप्त हुने रकमबाट दावी भुक्तानी गर्ने, बीमा कम्पनीहरुले राज्यलाई बुझाउने कर, भ्याटमा छुट दिने वा समायोजन गरेर भएपनि दाबी भुक्तानी फछ्र्याेटमा सहजिकरण गरिदिने, कोभिड बीमा ऋणपत्र जारी गरेर प्राप्त रकमबाट भुक्तानी दिने र सरकारी बीमा कम्पनीले राष्ट्रसेवक कर्मचारीको बीमा गरेबापत प्राप्त रकमबाट भुक्तानी दिने गरी ४ वटा विकल्पहरु थिए । तर उक्त सुझावसहितको विकल्पमा अर्थमन्त्रालयले कुनै एउटा छानेर निर्णय गर्नुको साटो उल्टै पुनर्विचार गर्न भन्दै ४ महिनापछि समितिलाई पत्र पठाएको थियो । मन्त्रालयले पठाएको पत्रमा समितिले पहिलाकै विकल्प उपयुक्त भएकोले थप विकल्प नदेखिएको जवाफ मन्त्रालयलाई फर्काएको थियो । सरकारले नै दाबी भुक्तानी गर्ने भनेर सहमति दिएको र चालु आर्थिक वर्षको बजेटमा पनि कोरोना बीमाको दाबी भुक्तानी गर्ने भनिएकोमा अर्थले विभिन्न बहाना बनाएर रकम तिर्न आलटाल गरिरहेको छ । अहिले कुन कम्पनीले कति रकम दाबी भुक्तानी दिएछन् भनेर समितिलाई पत्र पठाउनु पनि दाबी भुक्तानी सम्बन्धी गतिविधि भइरहेका छन् भन्ने देखाएर पैसा दिन आलटाल गर्नु नै रहेको देखिन्छ । अर्थमन्त्रालयका अधिकारीहरु भने दाबी भुक्तानी हुने बताइरहेका छन् । तर, उनीहरुले प्रयोग गर्ने शब्दावली हेर्दा कोरोना बीमाको रकम दाबी भुक्तानी हुने सम्भावना कम र भएपनि निकै ढिला हुने देखिन्छ । ‘बीमा वापतको प्रिमियम कम्पनीहरुले लिए, जसले प्रिमियम लिएको हुन्छ उसैले बीमा दाबी भुक्तानी गर्ने विश्वव्यापी सर्वमान्य सिद्धान्त हो, बीमा कम्पनीहरुले प्रिमियम लिने तर सरकारले दायित्व तिर्नुपर्ने गरी आफैमा अनौठो व्यवस्था बनाइएछ, सरकारले दाबी भुक्तानी नगर्ने भनेको छैन, प्राथमिकताको आधारमा भुक्तानी हुन्छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने । कोरोना बीको दाबी भुक्तानी गर्ने विषय कुन प्राथमिकतामा छ र कहिलेसम्म पालो आउँछ भन्ने विषयमा भने ती अधिकारीले स्पष्ट जवाफ दिएनन् । सम्बन्धित समाचार कोरोना बीमाको पैसा नदिने मुडमा अर्थमन्त्रालय, बीमा क्षेत्रमा ११ अर्बको त्रास

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीले आगामी चैत १७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सोह्रौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको लाभांश प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशित बोनस बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत लाभांश पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जनालाई सञ्चालकको निर्वाचन गर्दै छ । त्यस्तै, सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी चैत ६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै चैत ५ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् ।