दिन प्रतिदिन सुस्ताउँदै सेयर बजार, डेढ अर्बको पनि भएन कारोबार
काठमाडौं । पछिल्लो समय सेयर बजार दिन प्रतिदिन सुस्ताउँदै गएको छ । आइतबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२१ प्रतिशतले घटी हो । परिसूचक घटेको बजारमा कारोबार रकमले पनि साथ दिन सकेन । दिनभर खुलेको बजारमा करिब डेढ अर्बको सेयर कारोबार भएको छ । २२५ वटा स्क्रिप्सको १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको शीर्ष ५ स्थानमा नबिल बाहेक सबै बीमा कम्पनीहरु छन् । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, चौथो र पाँचौ स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन छन् । नेपाल लाइफको ४ करोड ११ लाख र लाइफ इन्स्योरेन्सको ३ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता बढी कारोबार गर्नेको तेश्रो स्थानमा रहेको नबिल बैंकको भने ४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको १०, इमर्जिङ नेपालको ९.९९ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ९.९९ प्रतिशतले बढेर क्रमशः १४५१, १३४१ र ११६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बढी कारोबार भएको सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने घटेको छ । इन्स्योरेन्सको सेयर मूल्य ५.०१ प्रतिशतले घटेर प्रतिकित्ता ७०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । आइतबार म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१६ अंकले घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।
एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमलप्रसाद वाग्ले
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका कम्पनीले जनाएको छ । नवनिर्वाचित अध्यक्षसँग ३७ वर्षभन्दा बढी निजामति सेवा तथा विभिन्न संस्थामा काम गरेको अनुभव छ । सचिव पदबाट अवकाश पाएका वाग्ले यसअघि पनि एनएलजी इन्स्योरेन्स कम्पनीकाे अध्यक्ष थिए ।
रेसुङ्गाका विद्यार्थीहरूलाई बीमासम्बन्धी सचेतना
गुल्मी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । सिद्धवावा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता थियो। कम्पनीका मार्केटिङ मेनेजर यमलाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए। बीमा समितिले बीमा सचेतना कार्यक्रम संचालनको लागि कम्पनीलाई रौतहट, दोलखा, गुल्मी र ललितपुर जिल्ला जिम्मा दिएको कम्पनीले जनाएको छ ।