बीमाका शक्तिशाली सीईओ
काठमाडौं । दिनमै तीन जोडी बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरे । यो साता मात्र सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भयो । यसअघि प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भइसकेको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको थियो । यी दुई कम्पनीबीच मर्जर प्रक्रिया सकिएको छ । असार मसान्त सकिन एक दिन र दुई रात पुरै बाँकी छ । यस अवधिमा कुन कुन बीमा कम्पनीबीच मर्जरको सम्झौता हुने हो ? त्यो अनुमान गर्न कठिन छ । नियामक बीमा समितिले मर्जरको सुविधा पाउनको लागि असार मसान्तसम्म सैद्धान्तिक सहमतिको सम्झौता गर्नु पर्ने निर्देशन दिएको थियो । मर्जरमा जाने केही कम्पनीको मोडालिटी प्रष्ट छ भने केहीको अस्पष्ट छ । विविध असहमतिलाई पछि सहमति गरौंला भनेर सैद्धान्तिक सहमति मात्र गर्ने कम्पनीहरुको मर्ज भाँडिन पनि सक्छ । एनसीसी बैंकमा मर्ज नहुने भनेर कुमारी बैंकको विशेष साधारणसभाले गरेको निर्णय, इन्भेष्टमेन्ट बैंकसँग मर्ज नहुने भनेर हिमालयन बैंकको विशेष साधारणसभाले गरेको निर्णय झै कुनै पनि बीमा कम्पनीले मर्जमा नजाने भनेर निर्णय गरे भने नियामकको पनि केही लाग्दैन, अदालतले पनि केही गर्न सक्दैन । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको एकिकृत कारोबार साउन १ गतेदेखि हुँदैछ । मर्जपछि कम्पनीको नाम हिमालयन एभेरेष्ट जनरल इन्स्योरेन्स राखिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह बन्दै छन् । एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलाई मर्जसँगै विदा गरिदैछ । ८ वर्ष एजएलजी इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको शाह नेपाल इन्स्योरेन्स कम्पनीमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरे । हिमालयन जनरल इन्स्योरेन्समा गत फागुनदेखि उनी प्रमुख कार्यकारी अधिकृत छन् । नेपाल बिमक संघको अध्यक्ष भइसकेका शाहले विकासशील देशहरुको बीमा कम्पनी तथा नियामकहरुको संस्था एआईआरडीसीको समेत अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । बीमा क्षेत्रमा अबको ८ वर्ष उनी प्रभावशाली सीईओको रुपमा रहि रहनेछन् । बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै हाइट गेन गरिरहेका प्रमुख कार्यकारी अधिकृतमध्ये एक हुन् चंकी कुँवर क्षेत्री । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका क्षेत्री नेपाल बीमक संघको अध्यक्ष पनि हुन् । मनमा लागेको कुरा समकक्षी, कम्पनीको सञ्चालक, नियामक जो कोहीसँग पनि खुलेर राख्ने सीईओ छवि बनेको छ उनको । मर्जपछि बन्ने सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा अब ८ वर्ष प्रमुख कार्यकारी अधिकृत बन्न उनलाई मार्ग प्रशस्त भएको छ । मर्ज भएको थिएन भने उनी चालु कार्यकाल सकिएपछि सगरमाथाबाट विदा हुने थिए । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई बन्न लागेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत रमेश कुमार भट्टराई रहने छन् । हाल महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराई विगत २७ वर्षदेखि विभिन्न कम्पनीको सीईओ रहँदै आएका छन् । महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक हुँदै महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ बनेको भट्टराई मर्जपछि बन्ने नयाँ कम्पनीमा पनि आफ्नो निरन्तरता जारी राख्न सफल भएका छन् । सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जपछि बन्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्याय बन्दैछन् । सानिमा जनरल इन्स्योरेन्स संस्थापनको मस्यौदाकार नै हुन् उनी । प्रिमियर इन्स्योरेन्समा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भई अवकाश पाएका उपाध्यायले विगत दुई वर्षदेखि सानिमाको नेतृत्व गर्दै आएका छन् । लो प्रोफाइलमा बसेर प्रुडेन्ट विजनेश अभ्यास गर्ने छवि बनाएको उपाध्याय बीमा क्षेत्रमा अब ८ वर्ष निरन्तर रहने निश्चित भएको छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो । सिद्धार्थ इन्स्योरेन्समा दोस्रो कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका विरेन्द्र बैद्यवार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्दैछन् । छोटो अवधिमा कम्पनीलाई माथि पुर्याउने सीईओको रुपमा उनलाई बजारले लिने गरेको छ । व्यापार विस्तार, जोखिम विश्लेषण र सुशासनलाई सन्तुलित बनाएर अगाडि बढेकाले उनलाई प्रवद्र्धकले रुचाएका छन् । सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स मर्ज भएर बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिका राकेश पोखरेलले पाउँदैछन् । उनी हाल रिलाइन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा डीजीएम, आईएमई लाइफ इन्स्योरेन्समा जीएमको भूमिका निर्वाह गरेको पोखरेल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । रिलाइन्समा करिव ७ महिना मात्र सीईओको भूमिका निभाएका युवा सीईओ पोखरेल छोटो समयमा नै प्रभावशाली सीईओको रुपमा उदाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जपछि को प्रमुख कार्यकारी अधिकृत बन्ने भन्ने स्पष्ट भएको छैन । तर प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल यहि असार मसान्तमा सकिएको छ । तसर्थ गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मध्ये सिनियर भएकाेले मनोज कुमार लाल कर्ण नै नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो ।
नेप्सेले रोकिदियो प्रभु लाइफको सेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनी मर्जरमा जाने भएसँगै नेप्सेले असार ३१ गतेदेखि दोश्रो बजारको कारोबार रोकिदिएको हो । प्रभु लाइफ महालक्ष्मी लाइफसँगै मर्जरमा जान लागेको हो । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म दोश्रो बजारमा कम्पनीको सेयर कारोबार हुँदैन ।
प्रभु र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, नामदेखि स्वाप रेसियाेसम्म बराबरी हैसियत
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते होटल अलफ्टमा एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ। मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । मर्जकाे क्रममा स्वाप रेसियाे १ः१ हुने छ । स्वाप रेसियाे, कम्पनीकाे नाम, सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी सबैमा बराबरीकाे हैसियतमा मर्ज हुन लागेकाे सीईओ रमेश भट्टराईले जानकारी दिए । हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड (संस्थागत लगानीकर्ता र लिलामी प्रक्रियाबाट उठेको रकमसमेत) रुपैयाँ छ । मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।