अब बीमा कम्पनीका पोलिसीहरु कपी पेस्ट हुँदैन : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब बीमा कम्पनीहरुको पोलिसीमा कपी पेस्टको अन्त्य हुने बताएका छन् । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । पछिल्लो समय कम्पनीहरुले ल्याउने बीमा पोलिसीको नाम मात्रै फरक तर विशेषता एउटै रहेकोमा मर्जर पछि त्यसको अन्त्य हुनेमा अध्यक्ष सिलवाल विश्वस्त रहेका छन् । ‘मर्जरपछि कम्पनीहरुले पोलिसीमा प्रतिस्पर्धा गर्नुपर्छ, सबैको एउटै खालको काम छैन, कपी पेस्ट गरेर बिजनेश हुँदैन, प्रविधिमैत्रीमा बढी जोड गर्नै पर्छ,’ उनले बताए । साथै, उनले मोबाइलबाटै गर्न मिल्ने खालको पोलिसी आवश्यक रहेको बताए । बीमा समितिको नीति भएपनि कम्पनीको पहल तथा कार्यान्वयन पक्षले मर्जर सम्भव भएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । उनले यो सफलताको श्रेय कम्पनीको मर्जर कमिटीलाई दिँदै कम्पनी प्रशंशाको पात्र रहेको समेत जिकिर गरे । पछिल्लो समय बीमा मर्जरपछि बीमा कम्पनीको संख्या घट्दो क्रममा रहेको छ । यो अवस्थामा नेपालमा कतिवटा बीमा कम्पनीको चाहिन्छ भन्ने विषयमा बीमा समितिले बल्ल अध्ययन गर्ने अध्यक्ष सिलवालले बताए । ‘नेपालमा कति संख्यामा बीमा कम्पनी चाहिन्छ, अध्ययन गरेका छैनौं, यो वर्षभित्र गर्छौं,’ कार्यक्रममा बोल्दै उनले भने । बीमा समितिले हालसम्म कम्पनीहरुलाई मर्जरमा जान फोर्स नगरेको र गर्नै परे चैतदेखि गर्ने अध्यक्ष सिलवालले बताए । मर्जरपछि बीमा क्षेत्र तथा कम्पनीहरुमा थप विश्वसनीयता बढ्ने र बढेको पुँजीको उपयोग गर्न कम्पनीहरुलाई आग्रह गरेका छन् । अहिले बीमा कम्पनीहरुले स्थानीय सरकारसँग सहकार्य गरेर बीमाको पहुँच बढाउन कम्पनीहरुलाई आग्रह गरेका छन् । ‘पैसा स्थानीय तहसँग छ, तिनीहरुलाई समात्नुस्,’ अध्यक्ष सिलवालले भने ।

शिखर इन्स्योरेन्सले संकलन गर्यो ५०१ करोड बीमा शुल्क, निर्जीवन बीमा क्षेत्रमै पहिलो

काठमाडाैं । शिखर इन्स्योरेन्सले नेपालको निर्जीवन बीमा क्षेत्रमा पहिलाे पटक ५०१ कराेड बीमा शुल्क संकलन गर्न सफल भएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बीमा शुल्क आर्जन गर्न सफल भएकाे हाे । कम्पनीकाे अनुसार आर्थिक वर्ष २०७७/७८ काे तुलनामा २०७८/७९ मा संकलन भएको बीमा शुल्क २६ प्रतिशतले बढी हो ।आर्थिक वर्ष २०७८/७९ मा हासिल गरेकाे व्यवसायिक सफलताकाे खुशीमा कम्पनीले साउन एक गते केक काटेकाे छ । नेपालको निर्जीवन बीमा व्यवसायको बजार हिस्साको करिब १५ प्रतिशत हिस्सा कम्पनीले ओगटेको छ । कम्पनीले कुल २२ हजार ७६८ दाबी मध्ये १९ हजार ३८५ दाबीहरुको कुल करिब ३०० करोड रुपैयाँको दाबी भक्तानी व्यवस्थापन गरेको छ । शिखर इन्स्याेरेन्स नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्ला सहित कुल ११० शाखा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । सम्पूर्ण बीमितकाे भराेसाकाे केन्द्र भएका कारण शिखर नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बताउँछन् । कम्पनीले वि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु बिजनेश ऐज संस्थाबाट बेस्ट म्यानेजड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्नुकाे साथै २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको  र कारोबार उत्कृष्टता पुरस्कारू प्राप्त गरिसकेकको छ । कम्पनीले नेपालको विकट जिल्लाहरु: जुम्ला, कालिकोट, डोल्पा मुगुका जनतालाई बर्षेनि मौसमका कारण स्याउ खेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकाङ्गक बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण युके ऐड फण्डेड एड्याप्टेसन एट स्केल प्राइज एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायो रिर्सोसेस द्धारा २०१९ मा ५० हजार पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार राशी प्राप्त गरिसकेकाे छ । यस्तै, २०२२ मा बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि कम्पनीले ‘एचआरएम नेपाल अवार्ड’ पनि प्राप्त गरेकाे छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले ए रेटिङ्ग दिएकाे छ । यो मूल्याङ्कनले वित्तीय दायित्वहरुको सुरक्षाको लागी पर्याप्त डिग्री मानिन्छ। हालसम्म शिखर इन्स्योरेन्स मात्र एक निर्जीवन बीमा कम्पनी हो जसले यो रेटिङ्ग प्राप्त गरेको छ ।  

पुनर्बीमा कम्पनीको ठूलो लगानीकर्ता हिमालयन एभरेष्ट इन्स्योरेन्स बन्यो : सीईओ रायमाझी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर कुमार रायमाझीले हिमालयन एभरेष्ट इन्स्योरेन्स पुनर्बीमा कम्पनीको ठूलो लगानीकर्ता बनेको बताएका छन् । आइतबार हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार कार्यक्रममा उनले बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा हिमालयन एभरेष्ट कम्पनी बनेको जानकारी गराएका हुन् । यस्तै, उनले कार्यक्रममा नेपाल पुनर्बीमाकाे अब एउटा लगानीकर्ता घटेको पनि बताएका छन् । ‘हिमालयन जनरल र एभरेष्टको मर्जरले हामीले एउटा लगानीकर्ता गुमाएका छौं, तर बीमा कम्पनीको सुधार र सिनर्जीका लागि मर्जर हुनु राम्रो हो,’ उनले कार्यक्रममा भने । बीमा कम्पनीहरूले नेपाल पुनर्बीमा कम्पनीमा सेयरधनीका रूपमा रहेका छन् । हाल एनआरईसीमा ढेड दर्जन कम्पनीको लगानी छ ।