
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको नेको इन्स्योरेन्सले कृषि बीमालाई बढी प्राथमिकतामा राख्दै आएको छ । जसको लागि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० लाई ‘नेकोको अभियान : कृषिमा योगदान’ भन्ने नाराका साथ अघि बढ्ने कार्यक्रम ल्याएको हो ।
यो अभियना अन्तर्गत कम्पनीले कृषकलाई निःशुल्क रुपमा बीमा सेवा दिने र क्षति भएमा क्षतिपूर्ति दिने जनाएको छ । इन्स्योरेन्स प्रदेश सरकार वा पालिकाहरुको सहयोगमा उक्त अभियान सफल बनाउने लक्ष्य लिएको हो ।
हाल सरकारले कृषि बीमाशुल्कमा ८० प्रतिशत अनुदान व्यवस्था गरेको र २० प्रतिशत कृषकले तिर्नु पर्ने व्यवस्था छ । जसमा कृषकले तिर्नुपर्ने २० प्रतिशत बीमाशुल्कलाई प्रदेश सरकार र पालिकाहरुले अनुदानको दिएमा कृषकले निशुल्क बीमा सेवा पाउने कम्पनीले जनाएको छ । त्यसको लागि नेकोले विभिन्न प्रदेश सरकारहरु र स्थानीय पालिकाहरुसँग सो व्यवस्था अर्थात सो मात्राको अनुदान दिन आग्रह समेत गरिसकेको छ ।
इन्स्योरेन्सले साउन १ गते एक कार्यक्रम गर्दै सो जानकारी गराएको हो । जसको उद्घाटन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे । त्यस्तै, कार्यक्रममा बीमा समितिका कार्यकारी निदेशक, कृषि विभागका प्रतिनिधि, कृषक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष रोहितकुमार भटराईले गरेका थिए भने अभियानको बारेमा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले प्रकाश पारे ।