नेपाल पुनर्बीमाले १६.९२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १६.९२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको ६३७औँ बैठकले हकप्रद सेयर निष्कासनमार्फत चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो ।

कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्न लागिएको हो । यसका लागि नेपाल सरकारको हाल कायम ४४.०३९ प्रतिशत सेयर स्वामित्व नघट्ने गरी पुँजी वृद्धि गर्ने सहमति प्राप्त भएको कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट १ अर्ब रुपैयाँ सेयर लगानीका लागि प्राप्त हुने पत्रअनुसार उक्त रकमको अनुपातमा १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको हो ।

हकप्रद सेयर निष्कासन तथा पुँजी वृद्धि सम्बन्धी प्रस्ताव वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि प्रक्रिया अघि बढ्नेछ । 

Share News