काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख ४ हजार ६२४ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री हुने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकका रूपमा दुई छुट्टाछुट्टै सूचनामार्फत सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । पहिलो सूचनाअनुसार १ लाख ४२ हजार १२४ कित्ता र दोस्रो सूचनाअनुसार ६२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री गरिनेछ ।
१ लाख ४२ हजार १२४ कित्ता सेयरका लागि इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि बोलपत्र दिनुपर्नेछ । त्यस्तै, ६२ हजार ५०० कित्ता सेयरका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा १० ले भाग जाने कित्ताका लागि मात्र आवेदन दिनुपर्नेछ ।
दुवै समूहको सेयरका लागि प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ वा कम्पनीको साधारण सेयरको बजार मूल्यको ५० प्रतिशत, जुन कम हुन्छ, सो मूल्य वा त्यसभन्दा बढी कबोल गर्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले मंसिर १८ गते बैंकिङ समयभित्र ग्लोबल आइएमई क्यापिटल, नक्सालस्थित कार्यालयमा शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ । बोलपत्र फाराम क्यापिटलको कार्यालयबाट १०० रुपैयाँ तिरेर प्राप्त गर्न सकिनेछ ।
बोलपत्र पेस गर्दा आफूले खरिद गर्न चाहेको सेयरको १० प्रतिशत रकम धरौटीका रूपमा जम्मा गर्नुपर्नेछ । साथै, आवश्यक कागजात, प्यान नम्बर, आयस्रोत खुल्ने विवरण, कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा र हितग्राही खाता नम्बरसमेत उल्लेख गर्नुपर्नेछ ।
प्राप्त बोलपत्र मंसिर २१ गते बिहान १० बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा खोलिनेछ । बोलपत्र स्वीकृत भएपछि बाँकी ९० प्रतिशत रकम बाँडफाँट भएको मितिले सात दिनभित्र जम्मा गर्नुपर्नेछ ।
संस्थापक सेयर खरिदकर्ताले सम्बन्धित नियामक निकायले तोकेको योग्यता तथा ‘फिट एन्ड प्रपर टेस्ट’ सम्बन्धी मापदण्ड पूरा गर्नुपर्नेछ । उपयुक्त बोलपत्रदाता छनोट गर्ने अन्तिम निर्णय सम्बन्धित बीमा कम्पनीले गर्नेछ ।