लघुबीमा कम्पनीको प्रधान कार्यालय तोकिएको प्रदेशमै लैजान निर्देशन

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीहरूलाई इजाजत पत्र प्राप्तिका लागि तोकिएको सम्बन्धित प्रदेशमै प्रधान कार्यालय राख्न निर्देशन दिएको  छ । सोमबार प्राधिकरणमा लघुबीमा कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर प्राधिकरणले यस्तो निर्देशन दिएको हो । 

लघु बीमा व्यवसायको इजाजत दिने समयमै प्राधिकरणले प्रदेशको प्रादेशिक राजधानीमा प्रधान कार्यालय सञ्चालन गर्ने शर्त तोकेको थियो । तर कम्पनीहरुले काठमाडौंमा पूर्व तयारी अवस्थामा रहेका प्रोक्सी प्रधान कार्यालय सञ्चालनमा ल्याए । यसबारे प्राधिकरणलाई जानकारी भएपनि कारबाही भने हुन सकेको थिएन । 

प्राधिकरणले कर्णाली प्रदेशका लागि क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई वीरेन्द्रनगर सुर्खेत, गण्डकी प्रदेशका लागि लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई पोखरा, बागमती प्रदेशका लागि नेपाल माइक्रो इन्स्योरेन्सलाई भरतपुर चितवनमा प्रधान कार्यालय स्थापना गर्नुपर्ने शर्त तोकेको थियो ।

त्यस्तै, सुदूरपश्चिमका लागि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई धनगढीमा, मधेश प्रदेशका लागि स्टार माइक्रो इन्स्योरेन्सलाई जनकपुरमा, लुम्बिनी प्रदेशका लागि ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई बुटवलमा, कोशी प्रदेशका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई विराटनगरमा प्रधान कार्यालय स्थापना गर्नुपर्ने शर्त तोकेको थियो ।

Share News