नेपाल लाईफको साधारण सभा मंसिर ८ गते हुने, १५.७८ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजे बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

सूर्या लाईफ र ज्योती लाईफको मर्ज पक्का

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । शुक्रबार भएकाे सम्झाैतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ असार १२ गते सम्पन्न भइ बीमा समितिबाट २०७९ असार १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरुबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो । अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडाैंमा रहनेछ । मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाईफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाईफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् । सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको सेयर सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर १ सेयर पाउनेछन् भने ज्योति लाईफका सेयरधनीले १ सेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब ४ अर्ब ५५ करोड पुग्नेछ । अन्तिम सम्झौता भए संगै दुवै कम्पनीले छिट्टै नै साधारणसभा आह्वान गर्ने र साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन भए पश्चात सम्बन्धीत नियमनकारी निकायहरुमा मर्जरको लागि स्वीकृती माग गरी आवेदन दिने र ति निकायहरुबाट स्वीकृती आए पश्चात २०७९ मंसिर मसान्त भित्रमा एकिकृत कारोबार संचालन गर्ने सहमति समेत भएको छ । मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क (आ.व. ०७८/७९) को चौथो त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष २०.३६ अर्ब रुपैयाँ, जगेडा कोष १.४४ अर्ब रुपैयाँ, कुल लगानी २३.७८ अर्ब रुपैयाँ, खुद नाफा ३७.३७ करोड रुपैयाँ र कुल बीमा शुल्क ८.८६ अर्ब रुपैयाँ हुनेछ ।  

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो ७.८३ लाभांश प्रस्ताव, मर्जरको सम्झौता पनि स्वीकृत

काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१(कर सहित) प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीकाे शुक्रबार बसेकाे १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेकाे हाे । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरेको छ । साथै, सभाले आ.व २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ । सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति ,उनीहरुको पारीश्रमिक निर्धाण ,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी, सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ ।