नागरिक लगानी कोषको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्न लागेको छ । इन्स्योरेन्स कम्पनीले सीआईटीमा रहेको आफ्नो स्वामित्वको केही प्रतिशत सेयर बिक्री गर्न प्रक्रिया शुरु गरेको छ । लगानीलाई विविधि करण र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनासहित कम्पनीले सीआईटीको सेयर बिक्री गर्न लागेको हो । इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार नागरिक लगानी कोषले हालसम्म वितरण गरेको बोनस सेयरलाई बिक्री गर्ने योजना बनाएको हो । सीआईटीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविक प्रिमियर इन्स्योरेन्स)को १.२४ प्रतिशत सेयर स्वामित्व छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीआईटीले वितरण गरेको बोनस सेयरसहित करिब ५ लाख कित्ता सेयर स्वामित्व रहेको छ । जसमध्ये करिब २ लाख कित्ता सेयर बिक्री गर्ने योजना कम्पनीले बनाएको स्रोतको भनाइ छ । कम्पनीले सीआईटीको संस्थापक सेयर बेच्न लागेको हो । संस्थापक सेयर बजार मूल्यको झण्डै आधा मूल्यमा कारोबार हुने गरेको छ । विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सीआईटीको सेयर मूल्य प्रतिकित्ता २ हजार १९० रुपैयाँ किनबेच भएको छ । सो मूल्यका आधामा बिक्री गर्दा उक्त संस्थापक सेयर प्रतिकित्ता करिव ११ सय रुपैयाँमा कारोबार हुन सक्छ । कम्पनीले बिक्री गर्न लागेको उक्त सेयर कम्पनीले मात्रै खरिद गर्न पाउँछ । कम्पनीले सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । कम्पनीले सबै सेयर बिक्री गरेर सीआईटीबाट बाहिरिने योजना बनाएको थियो । तर, एकैपटक महँगो मूल्यमा सेयर बिक्री नहुने भएपछि किस्ता किस्तामा लिलामीमा बिक्री गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले तोकबमोजिम कम्पनीले पुँजी पुर्याइसकेको छ । त्यसैले उक्त सेयर बिक्री गरेर प्राप्त रकमबाट कम्पनीले सेयरधनीहरूलाई लाभांश बाँड्न पनि सक्नेछ । कम्पनीले घरजग्गामा लगानी गर्न चाहेको पनि देखिएको छ । कम्पनीले गत कात्तिक २० गते विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिदका लागि सूचना जारी गरेको थियो । साथै, प्रिमियम मूल्यमा एफपीओ र हकप्रद सेयर बिक्रीबाट भएको आम्दानीमा कर तिर्नु परेपछि कम्पनीले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको जनाएको छ ।

सलिकोको प्रदेश स्तरिय पेशागत दक्षता अभिबृद्धि तालिम सम्पन्न

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कम्पनीले लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा पौष महिनाको ९ र १० गते आयोजना गरिएको कार्यक्रममा ६५ जना भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो । कम्पनीले आफ्ना कर्मचारीको पेशागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका संचालक गजेन्द्र लाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, प्रदेश प्रमुख, र विभागिय प्रमुखहरुले आ(आफ्नो प्रस्तुतिकरण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रमले कर्मचारिहरुमा ज्ञान र नविन उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बजार बिस्तारका साथै कर्मचारीहरुको क्षयमता अभिबृद्धिलाई समेत प्राथमिकता दिएको देखिन्छ । बजार बिस्तारमा सबै भन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुने तथ्यलाई मध्यनजर राखि प्रदेश स्तरका कर्मचारीलाई दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

प्रिमियमबाट उठेको रकमले भवन निर्माण गर्छौं, कम्पनीलाई उचाइमा पुर्याउँछौं : सीईओ पौडेल

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले प्रिमियमबाट उठेको रकम भवन निर्माणमा लगानी गर्ने बताएकी छिन् । बुधबार आईपीओ बाँडफाँट कार्यक्रममा बोल्दै सीईओ पौडेलले प्रिमियमबाट संकलन भएको रकम कम्पनीको भवन निर्माणमा लगानी गर्ने बताएकी हुन् । ‘प्रिमियमबाट उठेको रकम कम्पनीको भवनमा लगानी गर्छाैं या, त्यो भएन भने राम्रो कम्पनीमा लगानी गर्छौं,’ उनले भनिन् । हाल यस कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको नक्सालमा रहेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसबाट कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो । कम्पनीलाई जगबाटै बलियो बनाउने गरी काम गरिरहेको उनले बताइन् । साथै कम्पनीको व्यवसाय अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । ‘हिमालयन रिइन्स्योरेन्स पब्लिक कम्पनी बन्यो, अब कम्पनीलाई उचाइमा पुर्याउने उद्देश्य छ, आन्तरिक बजारमा व्यवसाय गरिरहेको छ, हाम्रो उद्देश्य आन्तरिक बजारमा मात्रै सीमित नभएर विदेशमा पनि काम गर्छाैं,’ उनले भनिन् । उनका अनुसार ३ वर्षको अवधिमा कम्पनीले २९ वटा अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका छ । नेपालको पहिलो रेटेड कम्पनी भएकाले अन्तर्राष्ट्रिय ब्राण्डेड कम्पनी बनाउने उनले बताइन् । तत्काल लगानीकर्तालाई लाभांश दिनेभन्दा पनि कम्पनीको उद्देश्य दीर्घकालसम्म टिकिरहने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा छाईरहेका छौं, अन्तर्राष्ट्रिय बजारमा नेपाल र हिमालयन रिइन्स्योरेन्सको नाम उचाईमा पुर्याउने योजना छ, ५० वटा देशका मार्केटले हामीलाई विश्वास गरेर अफर गरेका छन्, २९ वटा देशमा पुगिसकेका छौं,’ उनले भने, ‘रिइन्स्योरेन्सको व्यवसायमा सधैं राम्रो व्यापार हुँदैन, ननप्रोफिटेबल बिजनेश पनि लिनु पर्ने हुन्छ, त्यसमा अण्डरराइटिङ गाइडलाइन अनुरुप अघि बढ्नु पर्छ, पहिला आफू बलियो हुनुपर्छ, तुरुन्तै धेरै लाभांश दिने होइन, दीर्घकाल टिक्ने नाफायोग्य व्यवसाय गर्छाैं ।’ उनका अनुसार तत्काल फाइदा देखाएर लगानीकर्तालाई खुसी बनाउने भन्दा पनि दीर्घकालसम्म लगानीकर्तालाई टिकाउने उद्देश्य हो । सकेसम्म छिटो वार्षिक साधारणसभा गर्ने तयारी रहेको उनले बताइन् ।