एशियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर, अधिकतम ७५ रुपैयाँ दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि एशियन लाइफले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले उक्त आर्थिक वर्षको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले पुस १२ गते गते स्वीकृत गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा प्रतिहजार न्युनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमध्ये शून्यदेखि १४ वर्ष अवधिको ६१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ६४ रुपैयाँ र २५ वर्षदेखि माथिको ७५ रुपैयाँ बोनस तोकेको छ । सावधिक जीवन बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको ६५ रुपैयाँ बोनस तोकेको छ । बलबालिकाको सावधिक जीवन बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वर्षदेखि माथिको ६० रुपैयाँ बोनस तोकेको छ । सामूहि सावधिक, नवरत्न, जीवन संजीवन, दम्पत्ति सरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा, भविष्य निधि बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ५० रुपैयाँ बोनस तोकेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्षे अवधिको ५० रुपैयाँ, १२ वर्षेको ५० रुपैयाँ, १५ वर्षको ६० रुपैयाँ, १८ वर्षको ६५ रुपैयाँ, २० वर्षको ७० रुपैयाँ र २५ वर्षको ७० रुपैयाँ बोनस दसर तोकेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, सम्पूर्ण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२६३२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि  ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

नेपाल रि इन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ शंकरकुमार रायमाझीको कार्यकाल सकिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि भण्डारीलाई उक्त पदमा नियुक्त गरिएको हो । रायमाझीको गत पुस ११ गते सेवा अवधि सकिएको हो ।