क्रेस्ट माइक्रोले ल्यायो बचत र सुरक्षा दुबै हुने बीमा योजना, प्रतिहजार ५० रुपैयाँसम्मको रिटर्न ग्यारेन्टी
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको हो । यो योजनाले न्यून बीमाशुल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन समेत गर्दछ । यसको प्रमुख विशेषता रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा ४५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार र सिंगल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा ५० रुपैयाँ प्रतिवर्ष प्रतिहजार ग्यारेन्टी रिटर्न हो । कम्पनीका अनुसार यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम दश हजार रुपैयाँ रहेको छ । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् । कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टी गरिएको रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।
बीमितले देशभरका अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था आवश्यक छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा गरेका प्रत्येक नेपालीले देशभरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्न सरोकारवालालाई सुझाव दिएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजना हस्तान्तरण कार्यक्रममा मन्त्री बस्नेले बिमितले जुन ठाउँमा स्वास्थ्य बीमा गरे पनि आवश्यक परेका बेला जुनसुकै अस्पतालमा गएर सेवा लिन पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । स्वास्थ्य बीमाको अहिलेको व्यवस्थाअनुसार बीमितले बीमा गर्दा उल्लेख गरेको नजिकको पहिलो स्वास्थ्य संस्थाले थप उपचारका लागि रिफर गरेपछि मात्र अर्को अस्पतालमा उपचार गराउन पाइने व्यवस्था छ । ‘कर्मचारी निष्पक्ष नहुँदा बीमाप्रतिको आशङ्का बढेको छ’, मन्त्री बस्नेतले भने, ‘यद्यपि अहिले बीमा बोर्डले सुधारका योजना सुरु गरेको छ । जुन ठाँउबाट बीमा गरे पनि बीमितले देशभरका कुनै पनि अस्पतालबाट सेवा लिनसक्ने व्यवस्था आवश्यक छ ।’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य वित्त रणनीति कार्यान्वयनमा सबै एकजुट हुन आह्वान गरे । ‘रणनीति बनाउनु र पारित गर्नुभन्दा पनि महत्वपूर्ण विषय त्यसको कार्यान्वयन हो । नीति कार्यान्वयन जति चाँडो भयो, उति नै मुलुकले फाइदा लिन सक्छ’, उनले भने । कार्यक्रममा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्री बस्नेतलाई आधारभूत स्वास्थ्य सेवा अनुगमन दिग्दर्शन, ९२०८००, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ९२०८०/२०९०० तथा स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र ९२०२४–२०३०० हस्तान्तरण गरे । उनले ती तीनवटा दस्तावेज हस्तान्तरण गर्दै नीति कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य वित्त रणनीति ९२०८०/९०० गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएको थियो । मन्त्रालयका उपसचिव बाबुराम घिमिरे, डा समीर अधिकारी र डा पुमावति थापाको संयोजनमा द्रुत परिणाम पद्धतिमार्फत उक्त रणनीति कार्यान्वयन योजनाका लागि दस्तावेज निर्माण गरिएको हो । रासस
आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा थापा र अग्रवाल नियुक्त
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा सिताराम थापा र संदिप अग्रवाल नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले थापा र अग्रवाललाई रिक्त रहेको संस्थापक सेयरधनी समूह तर्फको सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह तर्फबाट प्रतिनिधित्व गरेको आईएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधि फिर्ता बोलाएपछि रिक्त रहेको स्थानमा थापा र अग्रवाल नियुक्त भएका हुन् । यससँगै उनीहरुले बाँकी कार्यकाल सम्हाल्ने छन् ।