नेको इन्स्योरेन्सले तिर्यो साढे ४ करोड कर
काठमाडौं । नेको इन्स्योरेन्सले सरकारलाई करिब साढे ४ करोड रुपैयाँ बराबरको कर भुक्तानी गरेको छ । सवोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम ४ करोड ४८ लाख १३ हजार ६४७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो । सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा फर्दर पब्लिक अफरिङबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ । र, सो कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था भएको र सर्वोच्च अदालतको सो सम्बन्धी बैंक तथा बीमा कम्पनीको रिट खारेजीको निर्णयका आधारमा कम्पनीले दाखिला गरेको हो । इन्स्योरेन्सले विगतका वर्षहरुमा हकप्रद सेयरहरु बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्दा पाएको प्रमियम रकमबाट बोनस सेयरको रुपमा वितरण गरेको थियो । जसकाकारण आयकर दायित्व भुक्तानी गर्नुपर्ने देखिएको हुँदा कम्पनीले आर्थिक ऐन, २०५० को छुट सुविधा लिई उक्त रकमको कर सरकारलाई भुक्तानी गरेको जानकारी गराएको छ ।
प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने, पुँजी ५ अर्ब नाघ्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावको सैद्धान्तीक स्वीकृतिको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने छ । र, प्राधिकरणको स्वीकृत पाएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले प्राधिकरणले तोकेको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । १७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।
हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आज पुस २ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।