प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको सेयर खुला हुने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लक इनमा रहेको सेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको सेयर पुस ९ गतेदेखि खुला हुने भएको हो । इन्स्योरेन्सको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक सेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले सेयर खुला हुने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशन बमोजिम कम्पनीले संस्थापक तथा सर्वसाधारण (कर्मचारी)को स्वामित्वमा रहेको सेयरको लक इन खुला बारे जानकारी गराएको हो । कम्पनीका अनुसार ३ करोड ६३ लाख ७२ हजार कित्ता सेयर संस्थापक र ३ लाख २८ हजार ९९८ कित्ता सेयर सर्वसाधारण समूहको लक इनमा रहेको छ ।
हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आज मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरि बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म लगानीकर्ताहरूले खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् ।
हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बाटो खुला
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो । मंगलबार भएको सुनुवाईले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यससँगै अब कम्पनीले भोलि अर्थात मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गर्न लागेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।