एनसेलको सेयर प्रतिस्पर्धाबाटै किनेको हो, तिर्नुपर्ने कर कानुन अनुसार नै तिर्छौं : सेयरधनी आचार्य
काठमाडौं । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्ने छ । नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्नको लागि एनसेल सरकारलाई योगदान पुर्याउँन प्रतिवद्ध रहेको हो । स्पेक्ट्रलाइट यूकेका नेपाली मुलका सेयरधनी सतिशलाल आचार्यले भने आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको बताए । ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ,’ सेयरधनी सतिशलाल आचार्यले भने । सेयरधनी आचार्यका अनुसार एनसेल सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ । जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्ने उनले बताए । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने आचार्यको विश्वास छ । आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै एनसेलले आजको दिनसम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको बताएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने र यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिवद्ध रहेको उसको भनाई छ । अन्य आवश्यक सहमतिहरुका लागि एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको बताएको छ । एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने एनसेलले बताएको छ । र, एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न एनसेल प्रतिवद्ध छ । त्यस्तै, एनसेलले मोवाइल कनेक्टिभिटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरु प्रदान गर्न नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने बताएको छ । जसले देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना गर्ने छ ।
मर्जरमा गएकालाई टक्कर दिँदै शिखर र नेको इन्स्योरेन्स, ६ कम्पनीले उठाए अर्ब बढी प्रिमियम
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले पौने १३ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले कार्त्तिकसम्ममा १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक प्रिमियम उठाएको छ । चार महिनामा कम्पनीले जसले ९६ हजार २३३ वटा बीमालेख बिक्री गरी एक अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । एक अर्ब बढीको प्रिमियम संकलन गर्नेको सूचीमा सलिकोसहित ६ वटा बीमा कम्पनी रहेका छन् । जसमा अधिकांश मर्जरमा गएका कम्पनीहरु छन् । प्राधिकरणको अनुसार सलिको, सिद्धार्थ प्रिमियर, शिखर, हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल र नेको इन्स्योरेन्सले एक अर्ब बढी प्रिमियम संकलन गरेका छन् । अग्रस्थानमा रहेको सलिकोलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पछ्याएको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा एक लाख एक हजार ७२ वटा बीमालेख जारी गरी एक अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स प्रिमियमको आधामा तेश्रो स्थानमा रहेको छ । इन्स्योरेन्सले एक अर्ब २७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीले ४ महिनामा ९५ हजार ८६० वटा पोलिसीहरु बिक्री गरेको छ । आइजीआई प्रुडेन्सियलले एक अर्ब ९ करोड र नेकोले एक अर्ब ५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यी कम्पनीले ४ महिनामा क्रमशः ७६ हजार ८३० र ९९ हजार ६५० वटा बीमा पोलिसी बिक्री गरेका छन् । यता युनाइटेड अजोडले ८६ करोड ८३ लाख, एनएलजीले ८३ करोड ६२ लाख, सानिमा जिआईसीले ७१ क रोड ६७ लाख, प्रभुले ७० करोड ६१ लाख, दि ओरियन्टलले ५८ करोड ९९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख, नेपाल इन्स्योरेन्सले ४९ करोड ६१ लाख र नेशनल इन्स्योरेन्सले ४३ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्सले सबैभन्दा कम प्रिमियम संकलन गरेको हो । जारी बीमालेख संख्याको आधारमा पनि नेशनल इन्स्योरेन्सले सबैभन्दा कम पोलिसी जारी गरेको छ ।
दुई निर्जीवन लघुबीमा कम्पनीले उठाए एक करोड बढी प्रिमियम, कुनले कति ?
काठमाडौं । सञ्चालनमा रहेका दुई निर्जीवन लघुबीमा कम्पनीले एक करोड ६७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार दुई कम्पनीले कात्तिक महिनासम्ममा ५ हजार ६५० वटा बीमालेख बिक्री गरी एक करोड बढी बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये नेपाल माईक्रो इन्स्योरेन्सले ६१ लाख ३१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । कात्तिकसम्ममा कम्पनीले ३ हजार ४०५ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले २ हजार २४५ वटा पोलिसी बिक्री गरी एक करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कार्त्तिक महिनामा मात्रै नेपाल माइक्रोले ३० लाख ८५ हजार र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले ४५ लाख १३ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । उक्त एक महिनामा दुई कम्पनीले २ हजार ६७८ वटा बीमालेख बिक्री गरेका छन् ।