नाफासँगै बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी बढ्यो
काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा बीमा कम्पनीहरूको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो । गत असोजसम्म निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी औसत ५.११ रुपैयाँ बढेर १७.८ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी औसत १२.६८ रुपैयाँ थियो । गत असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ११.६७ प्रतिशत बढेर ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेका छन् । निर्जीवन बीमाको प्रतिसेयर आम्दानी उच्च बढेको भएपनि जीवन बीमा कम्पनीहरूको भने सामान्य बढेको छ । गत असोजसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी ०.२० रुपैयाँ बढेर ११.८० रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा जीनव बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी ११.७८ रुपैयाँ थियो । गत असोजसम्म जीवन बीमाको खुद नाफा ३६.६३ प्रतिशत बढेर १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेका छन् । ८ निर्जीवन बीमाको ईपीएस बढ्यो पुँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये विभिन्न ८ कम्पनीको ईपीएस बढेको छ भने ४ कम्पनीको घटेको छ । जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घटेको छ । राष्ट्रिय बीमा कम्पनीको ३१.४३ रुपैयाँ बढेर ५१.६३ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको छ । नेपाल इन्स्योरेन्सको २१.१२ रुपैयाँ बढेर ३९.१२ रुपैयाँ, नेको इन्स्योरेन्सको ९.४३ रुपैयाँ बढेर १७.५० रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३.०९ रुपैयाँ बढेर १४.११ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । यस्तै, युनाइटेड अजोडको २.७५ रुपैयाँ बढेर ८.१३ रुपैयाँ, प्रभु इन्स्योरेन्सको २.५९ रुपैयाँ बढेर १४.७३ रुपैयाँ, हिमालयन एभरेष्टको १.४१ रुपैयाँ बढेर ९.३० रुपैयाँ र शिखर इन्स्योरेन्सको ०.२३ रुपैयाँ बढेर १६.९४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । गत असोजसम्म सगरमाथा लुम्बिनीको ०.१८ रुपैयाँ घटेर ८.७० रुपैयाँ, आइजिआई प्रूडेन्सियलको ०.४० रुपैयाँ घटेर ६.७५ रुपैयाँ, सानिमा जिआईसीको ४.१० रुपैयाँ घटेर ६.७६ रुपैयाँ र सिद्धार्थ प्रिमियरको ५.९५ रुपैयाँ घटेर १९.९६ रुपैयाँमा प्रतिसेयर आम्दानी सीमित भएका हुन् । जीवन बीमामा ८ कम्पनीको बढ्दा ५ कम्पनीको घट्यो दोस्रो बजारमा सूचीकृत कारोबार भइरहेका जीवन बीमा कम्पनीहरूमध्ये विभिन्न ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ५ कम्पनीको घटेको छ । जसमध्ये सबैभन्दा धेरै सन नेपाल लाइफको वृद्धि हुँदा सिटिजन लाइफको घटेको हो । सन नेपाल लाइफको ९.०७ रुपैयाँ बढेर २०.६७ रुपैयाँ, सूर्यज्योति लाइफको ५.९२ रुपैयाँ बढेर ११.६२ रुपैयाँ, एलआईसी नेपालको ४.२३ रुपैयाँ बढेर ९.०१ रुपैयाँ, हिमालयन लाइफका ३.१५ रुपैयाँ बढेर १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । यस्तै, एशियन लाइफको २.६३ रुपैयाँ बढेर २१.०७ रुपैयाँ, सानीमा रिलायन्सको ०.८८ रुपैयाँ बढेर १०.६० रुपैयाँ, नेपाल लाइफको ०.७० रुपैयाँ बढेर ७.७० रुपैयाँ र राष्ट्रिय जीवन बीमाको ०.१४ रुपैयाँ बढेर ८.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । समीक्षा अवधिमा प्रभु महालक्ष्मीको २.४८ रुपैयाँ घटेर ९.३५ रुपैयाँ, नेशनल लाइफको २.४३ रुपैयाँ घटेर १०.४० रुपैयाँ, रिलायबल नेपालको ४.९५ रुपैयाँ घटेर ११.९४ रुपैयाँ, आइएमई लाइफको ८.१० रुपैयाँ घटेर १३.०४ रुपैयाँ र सिटिजन लाइफको ८.४५ रुपैयाँ घटेर ७.६३ रुपैयाँमा प्रतिसेयर आम्दानी सीमित भएको छ ।
आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाईजेशस) प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी उज्ज्वल ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाईजेशस) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टले गरे नेपाल भ्रमण
काठमाडौं । मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टले नेपाल भ्रमण गरेका छन् । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ । नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा ओलिभरले कर्मचारी र अभिकर्तासँग भेटघाट गर्नेलगायत धेरै कार्यक्रममा भाग लिए। यसले नेपालमा मेटलाइफका सबै सरोकारवालालाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष हुन् । उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा सेवा गरे, र उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिंगहरू भइसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य हुन् र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष छन् ।