लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध
काठमाडौं । लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाईफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात लिबर्टी माइक्रो लाईफ एनपीयसमा आबद्ध पाँचौ माइक्रो लाईफ इन्सुरेन्स कम्पनी हुनेछ । यस अन्तर्गत लिबर्टी माइक्रो लाईफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिने कम्पनीले जनाएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीआइ अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेकाे कम्पनीले जनाएको छ ।
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेको इन्स्योरेन्सको नाफा १५० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख ८६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ३८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म २९ करोड २८ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९२ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ५७ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ५७ करोड २२ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.५० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २११.७१ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६.०६ गुणा छ ।