सन नेपाल लाइफले दुई महिनामै भुक्तानी गर्यो १४ लाखको मृत्यु दावी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो । मंगलबार धनगढी कैलालीमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । स्व. खत्रीले बीमालेख नं.एफई१०००५१३६५४ अन्तर्गत रहि वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । उनको गत बैशाख १८ गते मलेसियामा मृत्यु भएको हो । यससँगै कम्पनीले बीमितले इच्छाएको व्यक्ति श्रीमती इन्द्रादेवी खत्रीलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाख रुपैयाँ दिएको हो । उक्त रकमको चेक कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले इन्द्रादेवी खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

एशियन लाइफले ३ रोपनी घरजग्गा किन्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर तथा जग्गा नै खरिद गर्ने जनाएको छ । इन्स्योरेन्स कम्पनीका अनुसार काठमाण्डौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर, रिङ्गरोडभित्र वा रिङ्गरोडसँग जोडिएको क्षेत्रमा २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्ने छ । नेपाल बीमा प्राधिकरणबाट जारी भएको जीवन बीमकको एकीकृत निर्देशिका २०७९ को अधिनमा रही घर र जग्गा खरिद गर्न लागेको कम्पनीले जनाएको छ । घरजग्गा बिक्री गर्न ईच्छुक व्यक्ति र संघ संस्थाहरुले कम्पनीको प्रधान कार्यालय एशियन लाईफ भवन मैतीदेवीमा शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । घरजग्गा बिक्री गर्न इच्छुकले १५ दिनभित्र पेश गर्नु पर्नेछ । प्रस्तावित जग्गा कम्तीमा २० फिट फराकिलो सडकसँग जोडिएको हुनुपर्नेछ । भवन सहितको जग्गालाई प्राथमिकता दिइने कम्पनीले बताएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नविकरण समेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न नसकिएको पनि स्पष्ट पारे । सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रष्टिकरण दिएका हुन् । मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भईरहेको समेत बताए । ‘यो बीमाको सम्बन्धमा धेरै कुरा उठेको छ, यो प्राईभेट हस्पिटल, मेडिकल कलेजहरुले पनि यो सम्झौता अवधि सकिएकाहरुले सुरुमा रिनो नगरेको अवस्थाले पनि केही समस्या परेको छ, साढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भईसकेको छ, ७० लाख नागरिक विमामा आवद्ध छन । ४६० निकायहरुले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो र, यो विमा बुझ्ने सम्बन्धमा अनलाईन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो, जनताका लागि यो धेरै ठूलो सेवा हो, तर व्यवहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरु भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरु चाँही तयार भईरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ ।’ मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिव जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरुको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्याए ।