हिमालयन एभरेष्टले बढायो लाभांशदर, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । पुस २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशतले लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ८.६३ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी ६.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ छ । ८.६३ प्रतिशत बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई २.८९ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।

रिलायबल नेपाल लाइफको १६.८४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

हिमालयन लाइफले ३ वटा कार बेच्दै, मूल्य ७ लाखदेखि १ करोड ४ लाखसम्म

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनीका चालू अवस्थामा रहेका तीन वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले सन् २०२२ मा बनेको १ हजार ९९९ सि.सिको हुन्डाई टक्सन सवारी बिक्री गर्ने भएको हो । उक्त सवारीको मूल्य न्यूनतम १ करोड ४ लाख रुपैयाँ तोकेको छ । यस्तै, सन् २०२१ मा बनेको १ हजार ४९७ सिसिको हुन्डाई क्रेटा र सन् २०१४मा बनेको ९९८ सिसिको मारुती सुजुकी बिक्रीमा राखेको छ । हुन्डाई क्रेटाको न्यूनतम मूल्य ४० लाख १५ हजार रुपैयाँ र मारुती सुजुकीको ७ लाख रुपैयाँ तोकेको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।