राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा पाठक नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । पाठक अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको सपथ ग्रहण गरेका हुन् । यससँगै उनी अर्को व्यवस्था नभएसम्मको लागि सञ्चालक सदस्यमा रहने छन् ।

दुई जीवन लघुबीमा कम्पनीले उठाए साढे ५ लाख प्रिमियम, कुनले कति ?

काठमाडौं । सञ्चालनमा रहेका दुई जीवन लघुबीमा कम्पनीले एक महिनामा ५ लाख ६८ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार दुई कम्पनीले साउन महिनामा मात्रै गार्डियन माईक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ४ सय ७४ वटा पोलिसी मार्फत सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले ४ लाख २३ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ३ सय ५५ वटा बीमा पोलिसी बिक्री गरेको छ । त्यस्तै, क्रेष्ट माइक्रोले एक लाख ४५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीले एक महिनामा ११९ वटा पोलिसीमार्फत सो रकम बराबरको बीमाशुल्क संकलन गरेको हो ।

प्रिमियममा सिटिजन, प्रभु महालक्ष्मी र आईएमई लाइफबीच प्रतिस्पर्धा, ६ कम्पनी भित्रिए अर्ब क्लबमा

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ वटा बीमा कम्पनीहरुले कूल १९ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै सो मात्राको प्रिमियम उठाएका हुन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमै छ । इन्स्योरेन्सले एक महिनामा ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । प्रिमियम संकलनमा पहिलो स्थानमा रहेको कम्पनी जारी बीमालेखको आधारमा भने सातौं स्थानमा छ । प्रिमियम संकलनमा सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, आईएमई लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यी तीन कम्पनीले एक महिनाको अवधिमै ५२ करोडदेखि ५८ करोड रुपैयाँसम्मको प्रिमियम संकलन गरेका छन् । जसमध्ये सिटिजन लाइफले सबैभन्दा बढी अर्थात ५७ करोड ९४ लाख, प्रभु महालक्ष्मीले ५४ करोड ११ लाख र आईएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जारी बीमालेखमा भने यी कम्पनी क्रमशः तेश्रो, १३औं र नवौं स्थानमा छन् । कुनले कति उठाए ? सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान प्रिमियम संकलनमा दोश्रो स्थानमा छ । इन्स्योरेन्सले साउनमा मात्रै ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सञ्चालित कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले एक महिनामै एक अर्ब बढी प्रिमियम उठाएको छ । जसमा नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ, लाइफ इ. कर्पोरेशन (नेपाल), नेशनल र सुर्यज्योति लाइफ रहेका छन् । सबैभन्दा कम प्रिमियम संकलन गर्नेमा सन नेपाल रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ३५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जारी बीमालेखको अधारमा मेट लाइफ अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले एक महिनामै ४ लाख ५५ हजार ९७६ वटा पोलिसी जारी गरेको छ । र, सबैभन्दा कम बीमालेख जारी गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । जसले साउनमा ७ सय ३८ वटा बीमापोलिसी बिक्री गरेको छ ।