प्रभु महालक्ष्मीको निमित्त सीईओमा सन्तोष प्रसाई, माघ १६ गतेदेखि लागू हुने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सीईओ रमेश कुमार भट्टराई स्वीकृत बिदामा बस्ने भएकाले सञ्चालक समितिले निमित्त सीईओमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सीईओ भट्टराई माघ १६ गतेदेखि माघ २९ गतेसम्म स्वीकृत बिदामा बस्दै छन् । यससँगै प्रसाईले माघ १६ गतेदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने छन् । साथै, कम्पनीका अनुसार सीईओ भट्टराईले फागुन १ गतेदेखि अवकाश लिँदैछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७.५७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६०७.५७ रुपैयाँलाई आधार मानेर हुनेछ ।

सिटिजन लाइफको नाफा १२.३६ करोड, जीवन बीमा कोष १२ अर्ब पुग्यो

काठमाडौं । हालै सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढाएर १२ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क २.७० प्रतिशत बढेर २ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । साथै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क ४.२३ प्रतिशत बढेर २ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती कोष १४ करोड ९६ लाख रुपैयाँ, जगेडा कोष ६८ करोड ९५ लाख रुपैयाँ र जीवन बीमा कोष १२ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । ६ महिनामा कम्पनीले अभिकर्तालाई २७ करोड ५५ लाख रुपैयाँ कमिशन प्रदान गरेको छ । पुस मसान्तसम् कम्पनीको प्रतिसेयर आम्दानी ६.६० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१.१३ रुपैयाँ रहेको छ ।