स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।” प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्याएको स्मरण गरे । प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिए । रासस
आइएमई लाइफको दोस्रो त्रैमासमा खुद नाफा २३ करोड, २ अर्ब १० करोड बीमाशुल्क आर्जन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो । कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ११.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ ।
मेट लाइफ ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स‘ बाट सम्मानित
काठमाडौं । मेट लाइफ नेपाल २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स इन्स्योरेन्स विधामा सम्मानित भएको छ । यस अवार्डले मेटलाइफको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र समुदायका विकासशील आवश्यकताहरू अनुरूप नवीन र रचनात्मक समाधानहरूको लागि निरन्तर प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाई छ । मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले व्यक्तिगत रूपमा अवार्ड ग्रहण गर्ने क्रममा भने, ‘यो सम्मानले हाम्रो कर्मचारी तथा अभिकर्ता टोलीको जोश र समर्पणलाई झल्काउँछ र तृप्ति र आशावादी भावना जगाउँछ । यसले हाम्रो आफ्नै मापदण्डहरू पार गर्ने, निरन्तर रूपमा आविष्कार गर्ने र बीमा क्षेत्रमा अझ ठूलो प्रभाव पार्ने हाम्रो दृढ संकल्पलाई प्रेरणा दिन्छ ।’ कर्पोरेट उत्कृष्टताका लागि एचआरएम नेपाल अवार्ड २०२१ मा एचआरएम नेपालद्वारा स्थापना गरिएको र ग्रोथ सेलरहरूको स्वायत्त सहायक संस्था कर्पोरेट क्लब नेपालद्वारा आयोजना गरिएको हो । यस अवार्ड समारोह सकारात्मक परिवर्तन गर्ने उत्कृष्ट व्यक्तिगत र संस्थागत योगदानहरू लाई मान्यता दिने वार्षिक कार्यक्रम हो । यस समारोहमा बिविन्न क्षेत्रका विशेषज्ञहरु र सरकारी प्रतिनिधिहरू उपस्थित हुन्छन् । मेट लाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।